सामाजिक सुरक्षा कोषमा आबद्ध हुने अवधि एक महिना थपियो


२०७६ साउन १ गते देखि लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध हुने अवधि एक महिना थप गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको कोषले कार्तिक १४ गते बिहीबार एक सूचना मार्फत थपि गरिएको एक महिना भित्र अनिवार्य रुपमा कोषमा आबद्ध हुन भनेको हो ।

सम्पूर्ण रोजगारदाता तथा योगदानकर्ताहरुलाई मंसिर १३ गते भित्र अनिवार्य कोषमा सूचीकृत हुनुपर्ने सूचनामा उल्लेख छ । यसअघि रोजगारदाता कम्पनीहरुले असोज मसान्तसम्ममा सामाजिक सुरक्षा कोषमा सुचीकृत हुनु पर्ने व्यवस्था गरिएको थियो ।

असोज मसान्त सम्ममा कोषमा आबद्ध हुने रोजगारदाताको संख्या ८ हजार ८१८ पुगेको छ भने योगदानकर्ताको संख्या १ लाख ९ हजार ६८ पुगेको कोषले जनाएको छ । सूचीकृत भएका योगदानकर्ताबाट असोज मसान्तसम्मा ७ करोड ६५ लाख रुपैयाँ योगदान रकम संकलन भएको छ ।

सामाजिक सुरक्षा योजनामा मासिक पारिश्रमिक भुक्तानी गर्दादेखि आधारभुत पारिश्रमिकको ३१ प्रतिशत रकम कट्टा गरी रोजगारदाताले कोषले तोकेको बैंक खातामा प्रत्येक महिनाको १५ दिनभित्र रकम जम्मा गर्नुपर्ने हुन्छ ।

कोषमा सूचीकृत भइसकेपछि योगदानकर्ताले औषधि उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना पाउने छन् । कोषमा जम्मा भएको रकम योगदानकर्ता ६० वर्ष पुगेपछि मात्रै भुक्तानी पाउने छन् ।