नेशनल माइक्रोफाइनान्सको नाफामा फराकिलो सुधार, प्रतिशेयर आम्दानी ६२ रुपैयाँ


नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा माइक्रोफाइनान्सको खुद नाफा ५८.६७ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थिया । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार भएँंगै नाफा बढेको हो ।

असोज मसान्तसम्ममा लघुवित्तले १ अर्ब ३७ करोड ५५ लाख निक्षेप संकलन र २ अर्ब ५६ करोड ४४ लाख सापटी लिई कूल ३ अर्ब ८० करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट लघुवित्तले ८ करोड ६८ लाख खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ३४ लाख रुपैयाँ थियो ।

गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्त कम्पनीहरुमध्ये सर्वाधिक ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कूल ८० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको यस लघुवित्तको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ छ । लघुवित्तले १७ करोड २९ लाख रुपैयाँ जगेडा कोषमा जम्मा गरेको छ ।

पहिलो त्रैमाससम्ममा लघुवित्तको संचालन मुनाफा ६ करोड ६६ लाख रुपैंया छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको यस्तो मुनाफा ४ करोड १५ लाख रहेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा बढेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १.२६ प्रतिशत रहेको माइक्रोफाइनान्सको निष्क्रिय कर्जा बढेर अहिले १.७५ प्रतिशत पुगेको छ । जसका कारण कम्पनीले गत आर्थिक वर्षको भन्दा करिब दोब्बर रकम जोखिम बापत व्यवस्थामा जम्मा गरेको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा लघुवित्तले १ करोड ६१ लाख रुपैयाँ छुट्याएको छ ।

लघुवित्तले नाफामा उल्लेख्य सुधार गरेपनि प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७० रुपैयाँ ३८ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी अहिले घटेर ६२ रुपैयाँ ४३ पैसामा झरेको छ।

लघुवित्तको मूल्य आम्दानी अनुपात उल्लेख्य सुधार भएको छ। गत आवमा ३०.५२ गुणाले बढी रहेको लघुवित्तको यस्तो अनुपात अहिले घटेर २५.६० गुणा बढी कायम भएको छ । लघुवित्तको प्रति शेयर नेटवर्थ १६५ रुपैंया ५२ पैसा छ।