अझै वित्तीय संस्था किन्ने योजनामा प्रभु बैंक, शेयर संरचना फेर्दै


बिग्रे भत्केका संस्थालाई एक पछि अर्को गर्दै आफूमा गाभेर गरेर सुदृढ बनेको प्रभु बैंकले गाभ्ने प्रकृयालाई अझै निरन्तरता दिने भएको छ ।

बैंकले आगामी मंसिर ६ गते बोलाएको साधारण सभाबाट मर्जर नभई अरु संस्थालाई एक्वायर गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । यसका लागि डीडीए गर्न मान्यताप्रप्त मुल्यांकनकर्ता नियुक्त गरी पारिश्रमिक तोक्ने तथा अरु संस्थालाई एक्वायर गर्न सम्झौता तर्जु गर्दै एक्वायर प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

बैंकको केन्द्रिय कार्यालय, बबरमहलमा बोलाइएको अठारौँ वार्षिक साधारण सभाल हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्दैछ । बैंकले कात्तिक २६ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्नेछ । कात्तिक २५ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको लाभांस पाउनुका साथै साधारण सभामा सहभागिता जनाउन पाउने छन् ।

हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८९ करोड २६ लाख रुपैंया छ । उल्लेखित बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापूँजी १० अर्ब ३१ करोड ५५ लाख रुपैंया पुग्नेछ ।

स्वामित्व परिवर्तन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेगरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ । अहिले बैंकमा संस्थापक समूहको ५५ प्रतिशत र सर्वसाधारण समूहको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ । केही समय अघि मात्र बैंकले शेयर संरचनामा परिमार्जन गरेको थियो ।