मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रमुख पदमुक्त

0
Shares

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहाले विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति भण्डारीले सातै प्रदेशका प्रमुखलाई आज पदमुक्त गरेको जानकारी गराएका छन् ।

संविधानको उक्त धारामा प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा त्यस अगावै राष्ट्रपतिले पदमुक्त गरेमा उनीहरूको पद रिक्त रहने व्यवस्था छ । आज पदमुक्त भएका प्रमुखहरुमा प्राडा गोविन्दबहादुर तुम्बाहाङ (प्रदेश १), रत्नेश्वरलाल कायस्थ (प्रदेश २), अनुराधा कोइराला (प्रदेश ३), बाबुराम कुँवर (गण्डकी प्रदेश), उमाकान्त झा (प्रदेश ५), दुर्गाकेशर खनाल (कर्णाली प्रदेश) र मोहनराज मल्ल (सुदूरपश्चि प्रदेश) रहेका छन् ।

उनीहरू सबैलाई ३ माघ २०७४ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वका मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुख नियुक्त गरेकी थिइन् ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।