सपोर्ट माइक्रोफाइनान्सको नाफा सुधारले पनि कमजोर अवस्थामा प्रतिशेयर आम्दानी


सपोर्ट माइक्रोफाइनान्सले खुद नाफामा उल्लेख्य सुधार गर्दा पनि प्रतिशेयर आम्दानीको अवस्था कमजोर देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माइक्रोफाइनान्सले १३ लाख ६५ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा माइक्रोफाइनान्सले ६ लाख ७६ हजार रुपैंया मात्र खुद नाफा कमाएको थियो ।

खुद नाफामा दोब्बर बढीको बढोत्तरी हुँदा पनि लघुवित्तको प्रतिशेयर आम्दानी भने ९ रुपैंया १० पैसा मात्र कायम गर्न सकेको छ । गत आर्थिक वर्षको यसै अवधिमा माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ४ रुपैंया ५० पैसा थियो ।

फराकिलो अन्तरले व्यवसाय बिस्तार गरे पछि कमाई बढे पनि लघुवित्तले लगानीकर्तालाई दिने प्रतिफलमा अब्बल अवस्था बनाउन नसकेको हो ।

माइक्रोफाइनान्सको चुक्ता पूँजी ६ करोड तथा जगेडा कोषमा १ करोड ३३ लाख ६० हजार रुपैंया सञ्चित छ । गत आर्थिक वर्षको यसै अवधिमा १९२ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात अहिले बढेर ३.८६ प्रतिशत पुगेको छ ।

प्रतिशेयर नेटवर्थ १२२ रुपैंया २७ पैसा रहेको माइक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात ४६.२४ गूणाले बढी छ ।

मंगलबार दोस्रो बजारमा माइक्रोफाइनान्सको प्रतिकित्ता शेयर ४०० रुपैंयामा अन्तिम पटक कारोबार भएको छ ।