एनएमबि बैंकमा गाभिएको ओमको १४ महिनापछि शेयर कारोबार खुल्दै

0
Shares

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज भएपछि बनेको एनएमबि बैंकको विहीबारदेखि शेयर कारोबार खुल्ने भएको छ । यो सँगै मर्जर तथा प्राप्ति प्रक्रियाका कारण चौध महिनादेखि बन्धक रहेको ओमको शेयर कारोबार खुला हुने भएको छ ।

नेप्सेमा ओम डेभलपमेन्ट बैंकको शेयर अब एनएमिबको नाममा कारोबार हुनेछ । कारोबार लागि नेप्सेले एनएमबि(NMB) कोड प्रदान गरेको छ भने एनएमबिको ओपनिङ रेञ्ज प्रतिकित्ता ३५१ रुपैयाँ तोकिएको छ । यहि मूल्यलाई आधार मानेर विहीबार कारोबार हुने नेप्सेले जनाएको छ ।

ओम डेभलपेमन्ट बैंकको अन्तिम पटक ०७५ भदौ ३ गते नेप्सेमा कारोबार भएको थियो । अन्तिम पटक नेप्सेमा ओमको प्रतिकित्ता १९७ रुपैयाँका दरले कारोबार भएको थियो । यसअघि प्राइम बैकले ओमलाई खरिद गर्ने सम्झौता गरेसँगै ओमको शेयर कारोबार रोक्का भएको थियो । प्राइमसँगको सम्झौता भंग भएर एनएमबिसँग गाभिएको ओमको झण्डै १४ महिनापछि एनएमबिको नाममा कारोबार खुल्ने भएको हो।

एनएमबि बैंकको गत जेठ ५ गतेदेखि शेयर कारोबार रोक्का थियो । दुई बैंकबीच गत जेठ २ गते मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। एनएमबि बैंकको अन्तिम पटक नेप्सेमा प्रतिकित्ता ३८२ रुपैयाँका दरले कारोबार भएको थियो । एनएमबिको पनि झण्डै ५ महिनापछि नेप्सेमा शेयर किनबेच हुन लागेको हो ।

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले गत असोज ११ गतेदेखि एनएमबी बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका थिए । एनएमबि र ओम १०० बराबर ७६ अनुपात स्वाप रेशियोमा मर्ज गरेका हुन् । जस आधारमा ओमको १०० कित्ता शेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता शेयर पाएका छन् ।

बुधबार नेप्सेमा एनएमबि बैंकको कूल एक करोड ९१ लाख १५ हजार ७९० कित्ता शेयर सूचिकृत भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जभएपछि बैंकको सो मात्राको शेयर नेप्सेमा थपिएको हो ।

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट असोज १ गते अन्तिम स्वीकृति पाएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज ५ गते अनुमति पाएको थियो।

नेदरल्याण्ड्सको एफएमओको २० प्रतिशत स्वामित्व रहेको एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ र ओमको २ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो। एकीकृत बैंकको चुक्ता पूँजी ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। मर्जरपश्चात एनएमबी बैंकको कूल शाखा संख्या १६३, एटिएम १२८ र एक्स्टेन्सन काउण्टर ५ वटा पुगेको छ।