भारतले सार्वजनिक गरेको गलत नक्साप्रति गैरआवासीय नेपाली संघको आपत्ती


भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभाग भनेर नक्सा सार्वजनिक गरेकोमा गैरआवासीय नेपाली संघले आपत्ती जनाएको छ ।

संघले शुक्रबार विज्ञप्ती जारी गर्दै भारत सरकारको यो कामले विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएको भन्दै आपत्ती जनाएको हो ।

संघले दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयलाई कूटनीतिक माध्यमबाट दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सर्ना समेत गरेको छ ।

‘मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्छ भन्ने हाम्रो मान्यता हो । तसर्थ, अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन हामी सम्पूर्ण विदेशमा रहेका नेपालीहरु प्रतिबद्ध छौं ।’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।