आठ वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, दश बैंकको शेयर किने अझै घोषित लाभांश पाइने

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये हालसम्म १९ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरिसकेका छन् भने ८ वटा बैंकले लाभांश प्रस्ताव गर्न बाँकी छ ।

लाभांश घोषणा गर्न बाँकी आठ बैंक

नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये ८ वाणिज्य बैंकले कार्तिक २४ गतेसम्म आर्थिक वर्ष २०७५।७६ को लाभांश प्रस्ताव गरेका छैनन्। यसरी लाभांश घोषणा हुन बाँकी बैंकहरु कुन कुन छन् त हेरौं।

१. नेपाल इन्भेष्टमेन्ट बैंक
२. कृषि विकास बैंक
३. एनएमबी बैंक
४. नेपाल बैंक
५. प्राइम कमर्सियल बैंक
६. हिमालयन बैंक
७. नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)
८. सेञ्चुरी बैंक

यी आठ बैंकहरुको हालसम्म पनि लाभांश प्रस्ताव भएको छैन। नेपाल बैंकले अघिल्लो आर्थिक वर्षमा नै लाभांश घोषणा गर्न खोजेपनि नियामक निकाय राष्ट्र बैंकले अनुमति नदिदाँ शेयरधनीले लाभांश पाउन सकेनन्। गत आवको मुनाफाबाट भने बैंकले लाभांश वितरण गर्नसक्ने सम्भावना धेरै छ।

सञ्चित जगेडा नोक्सानी सकिसकेको र २३ वर्षयता लाभांश वितरण गर्न नसकेका कारण पनि बैंकका लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सकेका छैनन्। लाभांश घोषणा गर्न बाँकी बैंकमध्ये नेपाल बैंकले कति लाभांश वितरण गर्ला भन्ने चासो शेयर बजारका लगानीकर्तामा अन्य बैंकको तुलनामा धेरै रहेको पाइन्छ। 

नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, एनएमबि, प्राइम, हिमालयन बैंकको लाभांश पनि लगानीकर्ताको चासोको केन्द्रममा नै छ ।

१९ वाणिज्य बैंकले गरे लाभांश घोषणा, आठ बैंकको साधारण सभा सम्पन्न – दुईको बाँकी

चालु आर्थिक वर्षको समाप्तीसम्म आइपुग्दा १९ वाणिज्य बैंकहरुले आफना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। जसमध्ये नबिल बैंकले सबैभन्दा धेरै ३४ लाभांश दिने भएको छ भने सिभिल बैंकले सबैभन्दा कम ६.५७ रहेको छ ।

यी मध्ये पनि केही बैंकले लाभांश प्रस्ताव गरेर साधारण सभाबाट पारित गर्नका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति कुरिरहेका छन् भने ८ बैंकले साधारण सभा नै सम्पन्न गरिसकेका छन्। अन्य २ बैंकको साधारण सभा हुन बाँकी छ।

लाभांश घोषणा गरेर बुकक्लोज हुन बाँकी दश बैंकहरु

१९ वाणिज्य बैंकले लाभांश प्रस्ताव गरे पनि १० बुकक्लोज गर्न बाँकी छ। लाभांश प्रस्ताव गरेर बुकक्लोज गर्न बाँकी बैंकको शेयर खरीद गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउनेछन्।
१. प्रभु बैंक
२. नबिल बैंक
३. ग्लोबल आईएमई बैंक
४. एभरेस्ट बैंक
५. स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड
६. नेपाल एसबीआई बैंक
७. लक्ष्मी बैंक
८. जनता बैंक
९.नेपाल बंगलादेश बैंक
१० सिभिल बैंक

प्रभु बैंकले मंसिर ६ गते अठारौं वार्षिक साधारण सभा आह्वान गरिसकेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कार्तिक २६ गते देखि बुकक्लोज गर्दैछ। यसअनुसार कार्तिक २५ गते सोमबारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनक लागि ०.८४ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन्।

अन्य बैंकहरुले हालसम्म बुकक्लोज नगरेकाले बुकक्लोजको अघिल्लो दिनसम्म शेयर खरीद गरे प्रस्तावित लाभांश पाइन्छ। तर ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जरमा रहेकाले यी दुई बैंकको भने नेप्सेमा हाल शेयर कारोबार रोक्का रहेको छ ।
हेरौं कुन-कुन बैंकले सम्पन्न गरे साधारण सभा

लाभांश घोषणा गरेका १९ वाणिज्य बैंकमध्ये ८ वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७५/७६ को साधारण सभा सम्पन्न गरेर लाभांश अनुमोदन समेत गराइसकेका छन्। केही बैंकले त साधारण सभाबाट पारित नगद लाभांश त वितरण समेत गरिसकेको अवस्था छ। हेरौ कुन बैंकले कहिले सम्पन्न गरे साधारण सभा।

१. एनआईसी एसिया – असोज १० गते साधारण सभा सम्पन्न
२. सिटिजन्स बैंक – असोज १० गते साधारण सभा सम्पन्न
३. कुमारी बैंक – असोज ११ गते साधारण सभा सम्पन्न
४. माछापुच्छ्रे बैंक –असोज २४ गते साधारण सभा सम्पन्न
५. सानिमा बैंक –असोज २९ गते साधारण सभा सम्पन्न
६. बैंक अफ काठमाण्डू –असोज ३० गते साधारण सभा सम्पन्न
७. सिद्धार्थ बैंक –कार्तिक ७ गते साधारण सभा सम्पन्न
८. सनराईज बैंक –कार्तिक १५ गते साधारण सभा सम्पन्न

साधारण सभा आह्वान गरेका तर सम्पन्न नभएका बैंक

गत आवको मुनाफाबाट लाभांश घोषणा गरी साधारण सभा आह्वान गरेका तर सम्पन्न हुन बाँकी दुई बैंक छन्। जसमा मेगा र प्रभु बैंक रहेको छ।

१. मेगा बैंक –कार्तिक २९ गते साधारण सभा (बुकक्लोज कार्तिक १५ गते)
२. प्रभु बैंक – मंसिर ६ गते साधारण सभा (बुकक्लोज कार्तिक २६ गते)

मेगा बैंकको साधारण सभा हुन बाँकी रहेपनि बुकक्लोज भैसकेको छ भने प्रभु बैंक बाँकी छ। साधरण सभा प्रयोजन लागि बुक क्लोज हुन बाँकी प्रभु बैंकको भने बुकक्लोज मितिको अघिल्लो दिनसम्म शेयर किन्नेले आर्थिक वर्ष २०७५/७६ बाट घोषणा भएको लाभांश प्राप्त गर्नेछन्। बैंकले कार्तिक २६ गते मंगलबार बुकक्लोज गर्दैछ।