युनाइटेड इन्स्योरेन्सको ५ लाख कित्ता शेयर लिलामीमा आउने


युनाइटेड इन्स्योरेन्सले ४ लाख ९९ हजार १९२.६० कित्ता शेयर लिलामीबाट बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले केही समय अघि निष्काशन गरेको २४० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामीमा ल्याउनेछ ।

इन्स्योरेन्सले गत भदौ ३ देखि असोज २३ गतेसम्म चुक्ता पूँजीको २४० प्रतिशतले ७२ लाख ५७ हजार ६०० कित्ताभन्दा धेरै हकप्रद निष्काशन गरेको थियो । यस क्रममा इन्स्योरेन्सको ६७ लाख ५७ हजार ५१६ कित्ता शेयर मात्र बिक्री भएको थियो । उक्त शेयर एनएमबी क्यापिटलले ५ हजार ४५० आवेदकलाई बाँडफाँड गरेको छ ।

क्यापिटलले नोटबजारलाई दिएको जानकारी अनुसार ४ लाख ९९ हजार १९२.६० कित्ता शेयर बिक्री भएको छैन । जसमा १ लाख ५७ हजार ६४९.६० कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता साधारण शेयर बिक्री हुन नसकेको हो ।

युनाइटेड इन्स्योरेन्सको नयाँ प्रकृयाको सुरुवात गरी उल्लेखित शेयरहरु लिलामीमा ल्याउनेछ ।

३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद पूँजीकरण पश्चात चुक्ता पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ भने संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व अनुपात ६०ः४० कायम हुनेछ ।