नेको इन्स्योरेन्सको ४ लाख १४ हजार कित्ता संस्थापक शेयर मंसिर २ गतेदेखि लिलामीमा


नेको इन्स्योरेन्सले २०७६ मंसिर २ गतेदेखि ४ लाख १४ हजार ६२.१२ कित्ता संस्थापक शेयर लिलामीमा राख्ने भएको छ । संस्थापकहरुले बिक्री गर्न चाहेको उक्त शेयरमा अरु संस्थापक वा सर्वसाधारणले समेत अवेदन गर्न सक्ने छन् ।

सनराइज क्यापिटलको बिक्री प्रबन्धकत्वमा लिलामीमा आउन लागेको प्रतिकित्ता शेयरको न्युनतम मूल्य २८५ तोकिएको छ । २८५ रुपैंया प्रतिकित्ताको दरभन्दा माथिको मूल्यमा बोलकबोलमा आवेदकहरु सहभागि हुनु पर्नेछ ।

इन्स्योरेन्सको संस्थापक शेयर किन्न चाहने संस्थापकहरु, सर्वसाधारण तथा संस्थाहरुले २०७६ मंसिर १८ गतेसम्ममा आवेदन दिनु पर्ने हुन्छ । एउटा आवेदनबाट कम्तीमा १० हजार कित्ता शेयर माग गर्नु पर्ने हुन्छ ।

उल्लेखित शेयर खरिद गर्नेले कालो सूचीमा नरहेको प्रमाण, करचुक्ताको प्रमाणपत्र, आयस्रोतको विबरण र स्वघोषणा आवेदनसँगै उपलब्ध गराउनु पर्ने हुन्छ ।

सनराइज बैंक, कमलपोखरी शाखामा रहेको सनराइज क्यापिटलको खाता नम्बर ०६९ ०४३ ०२३ ६७० १००१ मा खरिद गर्न चाहेको शेयरको रकम जम्मा गरी सोको भौचर वा सनराइज क्यापिटलको नाममा खिचिएको गूड फर पेमेण्ट चेकबाट पनि शेयर आवेदन गर्न सकिने छ ।