अमेरिकाले सार्वजनिक गर्यो ‘इण्डो–प्यासिफिक’ को प्रगति विवरण, नेपाल ‘इमर्जिङ्ग पार्टनरसिप’ मुलुकमा

0
Shares

संयुक्त राज्य अमेरिकाले गरेको ‘इण्डो प्यासिफिक’ रणनीतिको प्रगति विविरण समेटिएको नयाँ रिपोर्ट सार्वजनिक गरेको छ । गत हप्ता यो प्रतिवेदन सार्वजनिक गरिएको हो । यसअघि रक्षा मन्त्रालयमार्फत् रिपोर्ट सार्वजनिक गरिएकोमा अहिले विदेश मन्त्रालयका तर्फबाट सार्वजनिक गरिएको छ ।

‘स्वतन्त्र र खुला इण्डो प्यासिफिक’ भन्ने नाम दिइएको यो प्रतिवेदनमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले १८ डिसेम्बर २०१८ मा वाशिङटनमा अमेरिकी विदेश मन्त्री माइक पम्पेओलाई भेटेको तस्बिरसमेत राखिएको छ । प्रतिवेदनमा नेपालसँग भइरहेको प्रगतिबारेमा पनि उल्लेख छ ।

अपडेट प्रतिवेदन ३२ पेजको रहेको छ । गएको जुन १ महिनामा रक्षा मन्त्रालयका तर्फबाट सार्वजनिक गरिएको प्रतिवेदन अहिलेको भन्दा दोब्बर ६४ पेजको रहेको थियो । अमेरिकाको रक्षा मन्त्रालयले त्यतिबेला जारी गरिएको रिपोर्टलाई इण्डो प्यासिफिक स्ट्रयाटेजी रिपोर्ट भनिएको थियो । सो रिपोर्टमा भएका कुराकै बारेमा अमेरिकी तल्लो सदन प्रतिनिधिसभाको आर्मड सर्भिस सम्बन्धी समितिमा गएको मार्च २७ तारेखका दिन छलफल समेत भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इण्डो प्यासिफिक मामिलाको विषयलाई मुख्य प्राथमिकता राख्दै इण्डो प्यासिफिक क्षेत्रका देशहरुको सार्वभौमसत्ता र स्वतन्त्रताको बारेमा यसमार्फत् जोड दिएको बारे चर्चा गरिएको छ ।

३५ भन्दा बढी देशका अर्बौँ मानिसमा यस रणनीति फैलिएको, १.९ ट्रिलियनको दुईतर्फी व्यापार भइरहेको जनाउँदै ४ दशमलव ५ बिलियनको सहयोग गरेको बारे व्याख्या गरिएको छ।

यसको उद्देश्य स्वतन्त्रता र सार्वभौमसत्ताको संरक्षण गर्नु, विवादको शान्तिपूर्ण समाधान गर्नु, लगानी, कनेक्टिभिटी, पारदर्शिताजस्ता कुरामा जोड दिनु रहेको अमेरिकाको भनाइ रहेको छ । भारत महत्वपूर्ण सुरक्षा साझेदार भएको उल्लेख गर्दै उसले १६ बिलियन डलर बराबरको रक्षा सामग्रीको कारोबार गरेको जनाइएको छ ।

लामो समयदेखि यो क्षेत्रमा मित्र, साझेदार र सम्बन्ध रहेको र आगामी लामो समय सम्म यो रहने साथै अहिले यो क्षेत्रका देशहरुले नसोचेको चुनौती सार्वभौमसत्ता, वैभवता र शान्तिमा बेहोर्नुपरेको अमेरिकाले जनाएको छ ।

नेपाल ‘इमर्जिङ्ग पार्टनरसिप’ मुलुक

यस्तै दक्षिण एशियाली मुलुकहरूस श्रीलंका, नेपाल, बंगलादेश र माल्दिभ्ससँग ‘इमर्जिङ्ग पार्टनरसिप’को पहल भएको सहायक मन्त्रीले बताएका थिए । दक्षिण पूर्वी एशियाका राष्ट्रहरुसँग सुरक्षा सम्बन्धी कदमलाई अघि बढाउन निरन्तर रुपमा कदम चाल्ने काम भइरहेको जनाउँदै त्यसमा भियतनाम, इण्डोनेसिया र मलेशियासमेत रहेको जनाएका थिए । यो क्षेत्रमा हाम्रो दृष्टिकोण भनेको मुलुक ठूलो होस् वा सानो, सबै आफ्नो सार्वभौमसत्ताप्रति विश्वस्त रहन सकून भन्ने रहेको समेत उनले त्यतिबेला भनेका थिए ।

जुनको रिपोर्टको ३६ पेजमा नेपाल भन्ने उपशीर्षकमा युएस प्यासिफिक नेड ल्याण्ड फोर्सले छलफल गरेको र केही वरिष्ठ अधिकारीहरुको भ्रमण भएको चर्चा समेत गरिएको थियो । सोही रणनीति अन्तर्गत नै अमेरिकी रक्षा उपसहायक मन्त्रीले केही अघि नेपाल भ्रमण गरेको चर्चा समेत त्यसमा थियो ।

नेपाललाई ‘इमर्जिङ्ग पार्टनरसिप’ तर्फकै मुलुकका रुपमा चर्चा गरिएको थियो । रिपोर्टमा अमेरिकाले यो क्षेत्रमा निरन्तर रुपमा लगानी गर्ने, कुरा मिल्ने देशहरुसँग मिलेर आपसी क्षमता अभिवृद्धि गर्ने, असुरक्षा हटाउन लगानी गर्ने समेत रणनीतिमा राखिएको जनाइएको छ । यो क्षेत्र शान्त, वैभवयुक्त र आगामी दशकहरुमा सुरक्षित पार्ने नै आफ्नो उद्देश्य रहेको अमेरिकी रक्षा मन्त्रालयको सो रिपोर्टमा उल्लेख गरेको थियो ।