पूर्वाधार विकास गर्न एनसीएचएलले पूँजी वृद्धि गर्ने, ४० प्रतिशत लाभांश पारित

0
Shares

नेपाल क्लियरिङ्ग हाउसले आफ्नो अधिकृत पुँजी वृद्धि गरी ५० करोड पुर्याउने भएको छ । कम्पनीको कार्तिक २५ गते सम्पन्न आठौं बार्षिक साधारण सभाले पूँजी वृद्धिका साथै लाभांश प्रस्ताव पारित गरेको हो ।

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ । कम्पनीले अधिकृत पुँजी वृद्धि गरी ५० करोड पुर्याउने जनाएको छ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था रहेको छ ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  साधारण सभाले कम्पनी संचालक समितिले प्रस्ताव गरेको ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आ.व. २०७५/७६ मा २३ करोड ७७ लाख ३५ हजार खुद नाफा कमाएको थियो । हाल कम्पनी चुक्ता पूँजी २१ करोड ६ लाख छ । बोनसपछि २९ करोड ८ लाख पुगेको छ ।

कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७५/७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो। जसमा दैनिक औसत कारोवार ६७ हजार ४७९ रहेको थियो जुन औसत दैनिक रकम ३६ अर्ब ८५ करोड हो । हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५ हजार बढी शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडमा नेपाल राष्ट्र बैंक (१०%), बैंक तथा वित्तीय संस्थाहरु (८०%) र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि. को (१०%) को शेयर हिस्सा छ । यसले नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना र विस्तार गर्नुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, पिएसओ, पिएसपि, सरकारी तथा गैर सरकारी निकायहरुलाई भुक्तानी प्रणालीका सेवाहरु प्रदान गर्दै आएको छ ।