प्राइम लाइफको लोभलाग्दो प्रगति, २३ प्रतिशतले बढायो व्यवसाय


प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७५ करोड ७५ लाख ९१ हजार रुपैंयाको व्यवसाय गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ६१ करोड ४३ लाख ४३ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको थियो ।

एक वर्षको अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन शिर्षकमा १४ करोड ४२ लाख ४८ हजार रुपैंयाको बढोत्तरी भएको हो । प्रतिशतका आधारमा हेर्दा २३.३१ प्रतिशतले खुद बीमाशुल्क आर्जन बढेको हो ।

यस अवधिमा प्राइम लाइफले १५ करोड २ लाख ७ हजार रुपैंयाको खुद बीमा दाबी भुक्ता नी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ११ करोड ३१ लाख ८२ हजार रुपैंयाको खुद बीमादाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको बीमा दाबी भुक्तानी रकम झण्डै ४ करोड रुपैंयाले बढेको हो भने भुक्तानी हुन बाँकी दाबी संख्या पनि ४७ बाट ३४ मा झरेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १ करोड ५७ लाख ९६ हजार रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी थियो भने अहिले त्यस्तो रकम ९८ लाख ६४ हजार रुपैंयामा झरेको छ ।

यसको असर बीमाङ्कीय मुल्याङ्कन पछि आउने खुद नाफामा फराकिलो अन्तर आउने देखिन्छ । यस्तो हुँदा बीमित र लगानीकर्तालाई बितरण गर्ने प्रतिफल क्षमतामा प्राइम लाइफ अझै बलियो हुनेछ ।

लगानी तथा कर्जाबाट हुने आम्दानीमा प्राइम लाइफले एक वर्षको अवधिमा फराकिलो सुधार गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो शिर्षकमा प्राइम लाइफले १८ करोड ४ लाख २६ हजार रुपैंया आम्दानी गरेकोमा अहिले २० करोड २० लाख ६८ हजार रुपैंया पुर्याएको छ । त्यस्तै पुनर्बीमा कमिशनबाट हुने आम्दानी, बीमालेखको धितोमा कर्जाबाट हुने आम्दानीमा आएको सुधारले कम्पनीको वास्तकि खुद नाफामा फराकिलो अन्तरको सुधार देखिने छ ।

बीमाङ्कीय मुल्यांकन नगर्दा नै प्राइमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड २ लाख ५५ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा प्राइम लाइफले ६ करोड ८० लाख ३७ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

प्राइमलले नोक्सानी वापतको व्यवस्थामा गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७५ लाख २५ हजार रुपैंया छुट्याएकोमा अहिले त्यस्तो रकम व्यवस्था गरेको छैन ।

समीक्षा अवधिमा १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैंयाको चुक्ता पूँजीलाई २ अर्ब ७९ लाख ३९ हजार रुपैंया पुर्याएको इन्स्योरेन्सको जगेडा कोषको आकार ९६ करोड ५ लाख १ हजार रुपैंयाबाट १ अर्ब ३ करोड ७९ लाख ९७ हजार रुपैंया पुर्याएको छ ।

जीवन बीमा कोषको आकार ७ अर्ब १७ करोड ७७ लाख ९३ हजार रुपैंयाबाट बढेर ९ अर्ब ५१ करोड ७ लाख ८५ हजार रुपैंया पुगेको छ भने महाविपत्ती जगेडा ९ करोड १९ लाख १० हजारबाट बढेर १२ करोड ६६ लाख १५ हजार रुपैंया पुगेको छ ।

वित्तीय विबरणमा उल्लेख भएको प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपातले समग्र अध्ययनमा मात्र अर्थ राख्ने भए पनि यसैलाई आधिकारिक मान्न मिल्दैन । वित्तीय विबरणमा उल्लेख भए अनुसार इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.१२ गूणाले बढी छ ।