प्रत्येक वर्ष खुद नाफा बढाउँदै राष्ट्रिय बीमा कम्पनी, लगानीकर्ताको प्रतिफल भने बन्धक


प्रस्ताव गरेको १२० प्रतिशत बोनस शेयर साधारण सभामा लैजान नसकेको राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १० लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ५ करोड ८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड ८० लाख १६ हजार रुपैंया मात्र खुद नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा गत आर्थिक वर्षको पहिलो त्रैमासमा २८ लाख ३० हजारले खुद नाफा बढाएको कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा अहिले १ करोड १ लाख ८९ हजार रुपैंयाले खुद नाफा बढाएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड २५ लाख ५२ हजार रुपैंयाको बीमा दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले दुई करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको थियो भने अघिल्ले आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ८८ लाख बराबरको दाबी भुक्तानी गरेको थियो ।

चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको राष्ट्रिय बीमा कम्पनीको जगेडा कोषमा २ अर्ब ४९ करोड १८ लाख २७ हजार रुपैंया सञ्चित छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको जगेडा कोषमा २ अर्ब ९ करोड ६० लाख रुपैंया सञ्चित थियो भने अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र सञ्चित रहेको थियो ।

लेखापरीक्षण तथा आन्तरिक हिसाब किताबको गञ्जागोलमा फसेपछि लगानीकर्तालाई प्रतिफल बितरण गर्न नस्क्दा कम्पनीको प्रतिशेयर नेटवर्थको आकार बढ्दै गएको छ । गतआर्थिक वर्षको पहिलो त्रैमासमा ८८६ रुपैयाँ ११ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ अहिले बढेर १ हजार ३४ रुपैंया ५३ पैसा कायम भएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बीमा कोषमा एक अर्ब ३७ करोड ७७ लाख ४६ हजार रुपैयाँ रहेको कम्पनीले अहिले यो आकारलाई बढाएर १ अर्ब ७७ करोड ३४ लाख ९६ हजार रुपैंया पुर्याएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ८ करोड ३१ हजार रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ६ करोड ६७ लाख ८२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो भने अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम ७ करोड ४५ लाख रुपैंया थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ४ हजार ५९३ बीमालेखबाट ४० करोड २० लाख ६३ हजार रुपैंया बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ हजार ९९९ बीमालेखबाट ३१ करोड ९६ लाख ८५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा पुनर्बिमा कमिशनबाट ४ करोड ८९ लाख ९६ हजार रुपैंया आम्दानी गरेको कम्पनीले अहिले ४ करोड ९६ लाख ११ हजार रुपैंया आम्दानी गरेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ७६ रुपैयाँ २८ पैसा रहेकोमा अहिले ९१ रुपैंया ५६ पैसा छ । त्यसैगरी समीक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ५२२.५७ गुणा बढीबाट ३६८.०६ गूणा बढी कायम भएको छ ।

कम्पनीले १२० प्रतिशत बोनस घोषणा गरेपनि राष्ट्रिय बीमा संस्थानसँगको हिसाब नमिल्दा बीमा समितिले रोक लगाएकाले वितरण गर्न सकेको छैन । आर्थिक वर्ष २०६७ ०६८ सम्मको साधारण सभा गरेको कम्पनीले त्यस पछिका आर्थिक वर्षहरुको हिसाब मिलाउन नसक्दा साधारण सभा बोलाउन सकिरहेको छैन भने प्रस्तावित बोनस बितरण नगर्दा पूँजी बढ्न पनि सकेको छैन । कम्पनीले एफपिओ समेत निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट अनुमोदन गराई सकेको छ । यद्यपी बीमा समितिले तोकेको १ अर्ब चुक्ता पूँजी कायम गर्न तदरुकता नदेखाएको कम्पनीलाई बीमा समितिले निजी क्षेत्रका बीमा कम्पनीलाई जसरी लगाम लगाउन सकेको छैन ।

विगतमा राष्ट्रिय बीमा संस्थानको निर्जिवन बीमा विभागलाई २०७१ साल साउनमा अलग गरी राष्ट्रिय बीमा कम्पनी बनाइएको थियो ।