राजधानीको भृकुटीमण्डपमा मंसिर १ देखि बैंकिङ एक्स्पो


काठमाडौंमा तेस्रो पटक बैंक, बीमा र पुँजीबजारसम्बन्धी प्रदर्शनी (बैंकिङ एक्स्पो २०१९) आयोजना हुँदैछ । भृकुटीमण्डपमा आगामी मंसिर १ र २ मा हुने प्रदर्शनीमा बैंक, बीमा र पुँजीबजारसम्बन्धी सम्पूर्ण जानकारी दिइने आयोजक मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले जानकारी दिए ।

एक्स्पोलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने नेपाल बैंकर्स एसोसिएसन, माइक्रोफाइनान्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसनले साझेदारी गरेका छन् ।

यस्तै, पुँजीबजारको नियामक नेपाल धितोपत्र बोर्ड, बीमा कम्पनीहरुको नियामक बीमा समिति र विभिन्न बीमा कम्पनीसँग पनि विशेष समन्वय गरेको निर्दोषले जानकारी दिए ।

उनका अनुसार, ‘भिजिट नेपाल २०२०’ मा सहयोग र्पुयाउने उद्देश्यले यस वर्ष ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लाई पनि सहभागी गराइएको छ ।

२ मंसिरमा सम्पन्न हुने एक्स्पोलाई चार खण्डमा सञ्चालन गरिने उनले बताए । १ मंसिर बिहान ११ बजे गभर्नर डा। चिरञ्जीवी नेपालले एक्स्पो उद्घाटन गरेपछि सोही दिन दिउँसो ३ बजे ‘बैंकिङ लगानी र उद्यमशीलता’का विषयमा अन्तक्र्रिया हुनेछ । उक्त सेसनमा नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला, विभिन्न बैंकर्स र उद्यमीहरू सहभागी हुनेछन् ।

२ मंसिरमा ‘लगानी र पुँजीबजार’सम्बन्धी छलफल हुनेछ । नेपाल धितोपत्र बोर्ड र नेप्सेका अधिकारीसहित मर्चेन्ट बैंकर्स, सेयर बजार विज्ञ र लगानीकर्ता सहभागी हुनेछन् ।

सोही दिन दोस्रो खण्डको अन्तक्र्रियामा ‘स्वरोजगार, जीवन बीमा र निर्जीवन बीमा’ विशेष कार्यक्रम हुनेछ । उक्त सेसनमा बीमाक्षेत्रको नियामक बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, बीमक संघका प्रतिनिधि, बीमाविज्ञ र युवा स्वरोजगार कोषका अधिकारीले बोल्ने कार्यक्रम छ ।

कार्यक्रमको अन्तिम सेसनमा ‘फाइनान्सियल टेक्नोलोजी’ विशेष कार्यक्रम राखिएको छ ।