तीन आर्थिक वर्षको पहिलो त्रैमास नियाल्दा हिमालयन बैंकका सबै सूचकको वृद्धिमा देखियो संकुचन


खुद नाफा वृद्धिको क्रम सुस्तायो

हिमालयन बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड ४२ लाख रुपैंया खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खुद नाफा ६.८६ प्रतिशतले बढाएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०७४ ०७५ को पहिलो त्रैमासको तुलनामा बैंकले गत आर्थिक वर्षमा खुद नाफा ५८.४० प्रतिशतले बढाएको थियो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४१ करोड १ लाख रुपैंया मात्र खुद नाफा कमाएको थियो ।

पछिल्ला तीन आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा बिस्तारको क्रम हेर्दा बैंकले यस पटक नाफा थोरै मात्रामा बढाएको हो ।

बितरणयोग्य मुनाफामा भारी गिरावट

बैंकले विभिन्न जगेडाहरुमा जम्मा गर्नु पर्ने रकममा बढोत्तरी भए पछि बितरणयोग्य मुनाफामा भारी मात्रामा गिरावट आएको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ८८ लाख ४१ हजार रुपैंया मात्र बितरणयोग्य मुनाफा कायम गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४७ करोड ५८ लाख रुपैंया बितरणयोग्य मुनाफा कायम गरेको थियो । समीक्षा अवधिमा बैंकको यस्तो मुनाफामा ५८.२७ प्रतिशतले गिरावट आएको हो ।

आर्थिक वर्ष २०७४ ०७५ को पहिलो त्रैमासमा पनि बैंकले ४१ करोड १ लाख रुपैंया बितरणयोग्य मुनाफा कायम गरेको थियो । यो रकम ५६.८४ प्रतिशतले बढेर गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४७ करोड ५८ लाख पुगेको थियो ।

पछिल्ला तीन आर्थिक वर्षको गतिलाई हेर्दा अघिल्ल २ आर्थिक वर्षमा वितरणयोग्य मुनाफामा राम्रो सुधार गरेको बैंक यस पटक संकुचित बनेको हो ।

जगेडा कोषमा १३ करोड ८८ लाख तथा रेगुलेटरी एड्जस्टमेन्टमा २५ करोड ८३ लाख रुपैंया जम्मा गरेका कारण बैंकको बितरणयोग्य मुनाफामा भारी गिरावट आएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयनले रेगुलेटरी एड्जस्टमेन्टमा १७ करोड ३७ लाख रुपैयाँ मात्र व्यवस्था गरेको थियो ।

रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिटलाई केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरे पछि बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न सक्छ ।

व्यवसायमा सामान्य बढोत्तरी

असोज मसान्तसम्ममा बैंकले निक्षेप संकलन तथा कर्जा परिचालनमा बढोत्तरी गर्दै आम्दानीका शिर्षकहरु बढाएको छ ।

चालू आवको पहिलो त्रैमासमा बैंकले १ खर्ब १५ अर्ब ४८ करोड ३ लाख रुपैंया निक्षेप संकलन गरी ९७ अर्ब ७० करोड ६८ लाख रुपैंया कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ खर्ब २ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब २४ करोड ७ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासबाट गत आथिर्गक वर्षको पहिलो त्रैमासमा आउँदा बैंकले ७.३० प्रतिशतले निक्षेप संकलन बढाएको थियो भने १८.७८ प्रतिशतले कर्जा लगानी बढाएको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासबाट चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइपुग्दा बैंकले निक्षेप संकलन १२.७० प्रतिशतले बढाएको हो भने कर्जा परिचालन ३.६७ प्रतिशतले मात्र बढाएको हो । कर्जा परिचालनलाई बैंकहरुले कस्दै लगेको अवस्थामा हिमालयन बैंकले पनि सोही बाटो समातेको हो ।

खुद ब्याज आम्दानीमा झिनो सुधार

बैंकले कर्जा तथा निक्षेपको आकार बढाउँदै गर्दा खुद ब्याज आम्दानीमा भने झिनो सुधार मात्र देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ३१ करोड ८८ लाख ७९ हजार रुपैंया खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३१ करोड २८ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी ६० लाख रुपैंयाले मात्र बढेको हो ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ करोड ५४ लाख रुपैंयाबाट ५३ करोड ७३ लाख रुपैयाँले बढाएर १ अर्ब ३१ करोड २८ लाख पुर्याएको थियो ।

प्रतिशेयर आम्दानी केही बढ्दा मूल्य आम्दानी अनुपात घट्यो

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकको प्रतिशेयर आम्दानीमा झिनो सुधार आएको छ । पूँजी स्थिर रहेकाले बैंकको प्रतिशेयर आम्दानीको वृद्धि खुद नाफा जस्तै मन्द भएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ २ पैसा रहेकोमा अहिले ३२ रुपैंया ५९ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ९५ पैसाबाट १९५ रुपैंया ८३ पैसामा उक्लिएको छ ।

दोस्रो बजारमा बैंकका शेयर मूल्यमा आएको निरन्तरको गिरावटका कारण मूल्य आम्दानी अनुपात भने घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको मूल्य आम्दानी अनुपात १७.१७ गुणाले बढी रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५.४० गूणा बढी मात्र कायम भएको छ ।

खराब कर्जामा सुधार

आर्थिक वर्ष २०७४ ०७५ को पहिलो त्रैमासमा १.२४ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा आउँदा १.४६ प्रतिशतमा उक्लिएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने बैंकको निष्कृय कर्जा अनुपात १.१६ प्रतिशतमा झरेको छ ।

लाभांस बितरणले घट्यो जगेडा कोष

एक वर्षको अवधिमा बैंकको चुक्ता पूँजी स्थिर छ । ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा भने ६ अर्ब ८९ करोड ३९ लाख रुपैंया चुक्ता पूँजी थियो ।

समीक्षा अवधिमा बैंकको जगेडा कोषको आकार भने घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको जगेडा कोषमा ६ अर्ब ८९ करोड ३९ लाख रुपैंया थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ अर्ब ७९ करोड ५० लाख रुपैंया सञ्चित रहेको देखाइएको छ ।

बैंकले भने पछिल्लो पटक विबरण गरिसकेको लाभांसलाई समायोजन गरीे वित्तीय विबरणमा गत आर्थिक वर्षको पहिलो त्रैमासमा जगेडा कोषमा ५ अर्ब ३० करोड ३३ लाख रुपैंया सञ्चित रहेको देखाउँदै अहिले जगेडा बढेको देखाएको छ । बिहीबार मात्र बैंकले प्रस्ताव गरेको २२ प्रतिशत लाभांसलाई अहिलेको जगेडामा समायोजन गर्ने हो भने अहिले पनि बैंकको जगेडा कोषको आकार धेरै तल आउँछ ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको जगेडा कोषमा ५ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ सञ्चित थियो ।