उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै, साठी प्रतिशत उद्योग महिलाका नाउँमा

0
Shares

घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ ।आन्तरिक राजश्व कार्यालयले पान नम्बर लिन अनिवार्यरूपमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएसँगै उद्योग दर्ता गर्नेको सङ्ख्या ह्वात्तै बढेको हो ।

करीब साढे तीन महिनाको अवधिमा एक हजार ४७९ उद्योग दर्ता भएका छन् । साउनदेखि हालसम्म घरेलुतर्फ ७४४ र वाणिज्यतर्फ ७३५ गरी उक्त सङ्ख्यामा दर्ता भएका उद्योग प्रशासन शाखाकी खरदार मेनका कट्टेलले जानकारी दिए । पछिल्लो समय उद्योग दर्ता गर्नेको सङ्ख्या ह्वात्तै बढेको उनले बताए ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वर्षभरिमा उद्योगतर्फ एक हजार १३४ र वाणिज्यतर्फ एक हजार ४७१ उद्योग दर्ता भएकामा आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिक नबित्दै अघिल्लो वर्षको हाराहारीमा उद्योग दर्ता भएको उनले बताए । असोजसम्म २० लाख ७६ हजार ३५० राजश्व सङ्कलन भएको छ । उक्त कार्यालयले आव २०७५/७६ मा ८० लाख ४० हजार ३०५ राजश्व सङ्कलन भएको जनाएको छ ।

त्यसैगरी वाणिज्यतर्फका फर्म दर्ता गर्दा २६ लाख ९९ हजार १२५ राजश्व सङ्कलन भएको तथ्याङ्क सहायक रवि अधिकारीले जानकारी दिए । वाणिज्यतर्फ आव २०७५/७६ मा रु ७० लाख ७३ हजार ७८० राजश्व सङ्कलन भएको थियो । गत आवमा ४० उद्योग खारेज भएका छन् । विदेश गएका, उद्योग सञ्चालन गर्न छाडेका उद्योगीले करचुक्ता प्रमाणपत्र ल्याएर उद्योग खारेज गरेका हुन् ।

साठी प्रतिशत उद्योग महिलाका नाउँमा

घरेलु तथा साना उद्योग कार्यालयमा महिलाको नाउँमा उद्योग दर्ता गर्नेको सङ्ख्या करीब ६० प्रतिशत रहेको सो कार्यालयले जनाएको छ । नेपाल सरकारले २०७५ चैत्रबाट महिला, दलित, पिछाडिएका वर्गका नाउँमा उद्योग दर्ता गर्दा राजश्वमा छुटको व्यवस्था गरेपछि महिलाका नाउँमा उद्योग दर्ता गर्नेको सङ्ख्या बढेको हो ।

महिलाका नाउँमा उद्योग दर्ता गर्दा एक करोड पूँजीसम्मका लागि २०० शुल्क मात्रै लाग्नेछ । उक्त कार्यालयलाई पाँच करोड पूँजीसम्मको उद्योग दर्ताका लागि अधिकार प्रदान गरेको छ । एक लाखसम्म एक हजार १००, तीन लाखसम्म तीन हजार १००, पाँच लाखसम्म छ हजार १००, २० लाखसम्म १२ हजार १००, एक करोडसम्म २० हजार १०० र पाँच करोडसम्म ३० हजार १०० राजश्व बुझाउनुपर्ने व्यवस्था छ ।