तीन महिनामा नेपालीले पिए ५ अर्ब बढीको कोक, व्यापार घट्दा कोकले बढायो नाफा


नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २ कम्पनी, जसले आफ्नो व्यवसाय घटाएर पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढाएका छन् ।

कोकाकोलाको नेपालमा रहेका उत्पादकहरु बोटलर्स नेपाल बालाजु र तराइ दुबै कम्पनीको व्यापारमा गिरावट आउँदा पनि खुद नाफामा सुधार गरेर चमत्कार देखाएका छन् । दुबै कम्पनीको व्यवसायबाट हुने आम्दानी घटेको अवस्थामा पनि खदु नाफाको आकार बढाएर कोकाकोलाका नेपाली कम्पनीले चमत्कार देखाएका हुन् ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाली उपभोक्ताले मात्र ५ अर्ब १६ करोड ८१ लाख रुपैयाँको कोकाकोला पिएका छन् ।

बोटलर्स नेपाल तराईले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा ३० करोड २ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २७ करोड ४८ लाख ६२ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीले कोकाकोला बिक्री गरेर हुने आम्दानी ९ करोड ३७ लाख ३९ हजार रुपैंयाले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कोकाकोला बेचेर कम्पनीले २ अर्ब १५ करोड ३२ लाख रुपैंया आम्दानी गरेको थियो । अहिले कम्पनीले कोक बेचेर २ अर्ब ५ करोड ९५ लाख रुपैंया आम्दानी गरेको छ ।

१२ करोड रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ सञ्चित छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रतिशेयर आम्दानी ९९३ रहेको कम्पनीको त्रैमासिक प्रतिशेयर नेटवर्थ ३६० रुपैयाँ बढेर २ हजार १९१ रुपैयाँ पुगेको छ भने त्रैमासिक मूल्य आम्दानी अनुपात २६ गुणा बढी छ ।

त्यसै गरी बोटलर्स नेपाल बालाजुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ९४ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २९ करोड ४३ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीले कोक तथा पेय पदार्थ बेचेर ३ अर्ब १० करोड ८६ लाख रुपैंया आम्दानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ अर्ब १५ करोड १९ लाख रुपैंयाको पेय पदार्थ बिक्री गरेको थियो ।

१९ करोड ४८ लाख ८९ हजार रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब १६ करोड ४ लाख रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८८ रुपैयाँ बढेर ६४० पुगेको छ ।