आँखुखोला हाइड्रोको ऋणात्मक जगेडाको आकार झनै बढ्यो, दशकमा पनि ऋण तिरिसक्न मुस्किल


एक वर्ष पहिले सर्वसाधारणमा पौने १४ करोडको शेयर निष्काशन गरेको आँखुखोला जलविद्युत कम्पनीले लगानीकर्तालाई अझै दशकौंसम्म लाभांस बितरण गर्न नसक्ने वित्तीय विबरण निकालेको छ ।

आर्थिक वर्षका पहिलाका त्रैमासमा खुद नाफामा रहेको देखाउँदै आर्थिक वर्षको अन्त्यसमा नोक्सानीमा जाने गरे पछि हाइड्रोको ऋणात्मक जगेडाको आकार झन धेरै ठुलो हुँदै गएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आँखुखोलाले ८६ लाख ३८ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा जलविद्युतले १ करोड ४३ लाख १० हजार रुपैंया खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको चौथो त्रैमासमा आउँदा कम्पनी ३ करोड ३४ लाख ३२ हजार रुपैंया खुद नोक्सानीको अवस्थामा पुगेको थियो ।

आर्थिक वर्षको अन्त्यमा नोक्सानमा परेका कारण आँखुखोलाको जगेडा कोष समीक्षा अवधिमा १७ करोड २६ लाख ५६ हजार रुपैंया ऋणात्मकबाट अझै बढेर २१ करोड २५ लाख २८ हजार रुपैंयाले ऋणात्मक बनेको छ । यसले खुद नाफा कमाउँदै गर्दा पनि लगानीकर्तालाई निराश बनाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा हाइड्रोको जगेडा कोष २५ करोड २१ लाख रुपैयाँले ऋणात्मक थियो ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा हाइड्रोले ९० लाख ४३ हजार रुपैंया खुद नाफा कमाएकोमा गत आर्थिक वर्षको पहिलो त्रैमासमा आइपुग्दा ५२ लाख ६७ हजार रुपैयाँले खुद नाफा बढाएको थियो । गत आर्थिक वर्षको अन्त्यमा नोक्सानीको अवस्थामा पुगेर त्यसको असर कम्पनीमा विश्वस गरेका सर्वसाधारण लगानीकर्तामा पारेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ८ करोड ३१ लाख ३५ हजार रुपैंया आम्दानी गरेको हाइड्रोले अहिले ७ करोड २० लाख ३२ हजार रुपैंया मात्र आम्दानी गरेको छ । मुख्य आम्दानीको स्रोत नै घटेका बेला हाइड्रोको प्रशासनिक तथा उत्पादन खर्च बढेको छ ।

जलविद्युतले बैंकको ऋणको व्याज धेरै तिर्नु परेका कारण खुद नाफामा गिरावट आएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोेड ८३ लाख ७४ हजार रुपैंया व्याज तिरेको आँखुखोलाले अहिले व्याजको आकार केही घटाएर ३ करोड २० लाख ५२ हजार रुपैंयामा झरेको छ । तर विद्युत बिक्रीबाट हुने आम्दानीको आकार धेरै घटेका कारण कम्पनीको कमाई धेरै गिरावट आएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५२ करोड ३६ लाख ८३ हजार रुपैंया ऋण रहेकोमा अहिले १ अर्ब ३९ करोड ५७ लाख ८७ हजार रुपैंया ऋण छ । एक वर्षको अवधिमा हाइड्रोले झण्डै १३ करोड रुपैंया ऋण घटाएको छ । यही गतिमा हाइड्रोले ऋण तिर्दै जाने हो भने अझै १२ वर्षमा मात्र ऋण चुक्ता हुन्छ । यो अवधिमा जगेडा कोष धनात्मक बनाउन हाइड्रोलाई अर्को चुनौतीको सामना गर्नु पर्ने हुन्छ । जसका कारण लगानीकर्ताले आँखुखोलाबाट अझै दशक अवधिसम्म कुनै किसिमको लाभांस अपेक्षा गर्न सक्ने अवस्था रहन्न ।

८० करोड रुपैंया चुक्ता पूँजी रहेको हाइड्रोको प्रतिशेयर आम्दानीमा भारी गिरावट आएको छ । पूँजी बढाएको अवस्थामा कमाई घटे पछि हाइड्रोको प्रतिशेयर आम्दानी २ रुपैंया १६ पैसाबाट घटेर १ रुपैंया ८ पैसामा सिमित भएको छ । प्रतिशेयर नेटवर्थ पनि ७३ रुपैयाँ ९३ पैसाबाट ७३ रुपैंया ४३ पैसामा झरेको छ ।