बुटवल पावर कम्पनीको खुद नाफा ३३ प्रतिशतले घट्यो, निक्षेपबाट हुने आम्दानीमा भारी गिरावट


बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ९३ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा १० करोड ३८ लाख २६ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफामा ३३.२२ प्रतिशतको गिरावट आएको हो । कम्पनीको वित्तीय आम्दानीको आकार समीक्षा अवधिमा ५ करोड ६ लाख ४५ हजार रुपैंयाबाट ८४ लाख ९१ हजार रुपैंयामा झरेको छ । जसका कारण कम्पनीको खुद नाफामा भारी गिरावट आएको हो ।

बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेपलाई नयाँ आयोजन निर्माणमा लगानी गरेका कारण त्यसको व्याजबाट आउने आम्दानी घट्दा कम्पनीको खुद नाफा प्रभावित बनेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीबाट २० करोड ७७ लाख ६३ हजार रुपैंया आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा १९ करोड ९९ लाख २१ हजार रुपैंयाको बिद्युत बिक्री गरेको थियो ।

२ अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैंया ३६ पैसा छ भने मूल्य आम्दानी अनुपात ३२.०४ गूणा बढी छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २८५ रुपैंया ६२ पैसा छ ।