सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि अर्थले दियो सवा १० अर्ब

0
Shares

सरकारले सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि स्रोत सुनिश्चितता गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त सुरुङ निर्माणका लागि स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सिद्धबाबा सुरुङ मार्ग निर्माण कार्य डिजाइन एन्ड बियल्ड मोडालिटी बाट निर्माण गर्न १० अर्ब १५ करोड रुपैयाँको स्रोत सुनिश्चितता गर्न भनेको थियो। सुरुङ मार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षिय ठेक्का मापदण्ड २०७६ बमोजिमको प्रक्रिया पुरा गरि कार्य गर्न अर्थले स्वीकृति दिएको हो।

उक्त मापदण्डले तोकेको प्रक्रिया पुरा गरि डिपिआर बमोजिम हुने गरि डिजाइन, निर्माण तथा सञ्चालन र मर्मत गर्ने कार्यमा प्राविधिक सेवाको सुनिश्चित गरि लागत अनुमान बमोजिम प्रत्येक वर्ष खर्च हुने अनुमानित रकम मध्यकालिन खर्च संरचनामा समावेश गरि सोही बमोजिम बहुवर्षिय ठेक्काबाट निर्माण गरिद प्रक्रिया अघि बढाउन सहमति प्रदान गरिएको छ।

मंसिर १ गतेको मन्त्री स्तरिय निर्णयबाट अर्थ मन्त्रालयले उक्त स्वीकृति दिएको हो। सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माण हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङ बनाउने गुरुयोजना निर्माण गरि काम थालेको थियो।

सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्र पहिरोको अति जोखिम क्षेत्र मानिन्छ। यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक किलोमिटर तिनसय मिटर क्षेत्रमा स्वीस सरकारको विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणको लागि भौगर्भिक अध्ययन थालिएको थियो।

यो सडकखण्डलाई पहिरोबाट सुरक्षित बनाउने बारे यसअघि विभिन्न अध्ययन तथा प्रयोगहरु गरिएपनि सफल नभएपछि अहिले ड्रिलिप नेपालले सुरुङ मार्गका लागि गुरु योजनाको काम गर्नुपूर्व भौगर्भिक अध्ययन थालेको हो।

भौगर्मिक अध्ययनको लागि स्वीस डेभलेपमेन्ट कोअपरेसनले ५० लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको थियो। जुन सहयोगबाट भूगर्भशास्त्री र इन्जिनियरहरुले उक्त क्षेत्रको जमिन, माटो, ढुंगा, चट्टान, पानी आदिको बनावट र अवस्थाबारे अध्ययन शुरु गरेका हुन्।

प्रारम्भिक अध्ययन नतिजामा सो क्षेत्रमा स्यानस्टोन र मडस्टोन खालको चट्टान भेटिएको छ। यसअघि भएको प्रारम्भिक अध्ययनमा सुरुङसहित रकनेट, रकसेट, हाफ टनेल, बेन्च कट सहितका ६ वटा विकल्प दिईएको थियो।

स्वीस सरकारले सुरुङमार्गको अध्ययन र गुरुयोजना निर्माणमा सहयोग गरेको छ। चट्टान परीक्षणका लागि सिद्धवावा क्षेत्रका पाँच स्थानमा ९० मिटरसम्मको प्वाल खोलेर चट्टान बाहिर निकालिएको छ । तीन किलोमिटरमा सुरुङ मार्ग बनाइने भएकाले त्यही क्षेत्रको चट्टान परीक्षण गरिएको हो ।

पहिलो चरणमा सुरुङमार्ग कति मिटर लामो हुने र कस्तो बनाउने भन्ने मात्र अध्ययन शुरु समेत भइसकेको छ। यहाँको भौगर्भिक सर्भेपछि सुरुङमार्ग बन्न सक्ने अवस्था देखिए तल्लो सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट सुरुङमार्ग सुरु हुनेछ।

चिडियाखोला छेउबाट शुरु भएको सुरुङमार्ग दोभान नजिकैको रामापिथेकस पार्कको उत्तरतर्फ पुगेर बाहिर निस्किने छ ।
बुटवल दोभान सडक खण्डमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने ढुंगे पहिरोका कारण उक्त सडक खण्ड भएर यात्रा गर्नेले सास्तस् झेल्दै आएका छन्। बुटवल तानसेन सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बने यात्रुहरुले सहज रुपमा यात्रा गर्नै पाउने छन्।