१२ स्थानीय तह अझै वाणिज्य बैंकविहीन


१२ स्थानीय तहमा अझै वाणिज्य बैंकहरुको उपस्थिती हुन नसकेको प्रतिवेदन राष्ट्र बैंकले सार्वजनिक गरेको छ । गत असोज मसान्तसम्ममा ७५३ मध्ये ७४१ तहमा मात्र वाणिज्य बैंकको सेवा बिस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

सात वटा प्रदेश मध्ये प्रदेश ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकको सेवा विस्तार भएको छ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा एक एक स्थानीय तहमा वाणिज्य बैंकको शाखा बिस्तार हुन बाँकी रहेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेश २ को २ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन । ३ नम्बर प्रदेशमा पनि २ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

सुदुर पश्चिम प्रदेशको ६ वटा स्थानीय तहमा पनि वाणिज्य बैंकले उपस्थिती जनाउन सकेका छैनन् ।

गत असोज मसान्तसम्ममा १६५ वटा बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले इजाजत दिएको छ । जसमा २८ वटा वाणिज्य बैंक, २५ वटा विकास बैंक, २२ वटा फाइनान्स, ८९ वटा लघुवित्त कम्पनी र एउटा पूर्वाधार विकास बैंक छन् । राष्ट्र बैंकका अनुसार उल्लेखित बैंक तथा वित्तीय संस्थाको मुलुकभरको शाखा संख्या ९ हजार ११० पुगेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा देशभर बैंक तथा वित्तीय संस्थाहरुको ८ हजार ६८६ शाखा सञ्चालनमा थिए ।

यस्तै वाणिज्य बैंकको ३ हजार ८८४, विकास बैंकको १ हजार २५८, वित्त कम्पनीको २१५ र लघुवित्त वित्तीय संस्थाको ३ हजार ७५३ गरी ९ हजार ११० वटा शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा कुल १७८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रकृयामा सामेल भएका छन् । त्यस मध्ये १३५ वटा संस्थाहरुको इजाजत खारेज हुनगई ४३ संस्था कायम रहेको राष्ट्र बैंकको प्रतिबेदनमा उल्लेख छ ।