कृषि विकास बैंकका शाखा प्रबन्धक र अधिकृतको मिलेमतोमा ३४ करोड हिनामिना

0
Shares

कृषि विकास बैंकका तत्कालिन शाखा अधिकृतको योजनामा झुठा विवरण बनाई फर्जी कारोबार गरेर बैंकलाई करिब ३४ करोड रुपैयाँ हानि पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले बैंकको स्वयम्भु शाखाका तत्कालीन शाखा अधिकृत केदार प्रसाद गौतम तथा तत्कालिन शाखा प्रबन्धक भरत बहादुर बानियाँ सहित बैंक ठगीमा संलग्न ८ जना विरुद्ध मुद्दा दायर गरेको हो । शाखा अधिकृत गौतम समेतले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको आयोगको भनाई छ ।

गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरुबाट र अन्य विभिन्न बैंकहरुबाट इसीसी (इलेक्ट्रोलिक चेक क्लियरिङ्ग) मार्फत भुक्तानी लिने गरेको अख्तियारले जनाएको छ ।

गौतमले नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजना अनुरुप भारत गई बसेको, योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी कोर बैंकिङ्ग सिस्टमको दुरुपयोग गरी आफूहरुलाई गैरकानूनी लाभ र्पुयाउने र बैंकलाई हानी नोक्सानी र्पुयाउने कार्य गरेको आरोप छ।

साथै गौतमलाई सघाउने सम्झना पोखरेल, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दिप गुप्ता र कृष्णहरि थापा विरुद्ध मुद्दा दर्ता गरिएको छ ।  सम्झना पोखरेल गौतमले आफ्ना पति तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट अनियमित तबरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको, गैरकानूनी तबरबाट निकालेको रकमको कारोबार गर्न बैंक खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको अख्तियारको ठहर छ ।

केदारप्रसाद गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले आफ्नो श्रीमानलाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगीको भूमिका निभाउँदै नक्कली नागरिकता र राहदानी बनाई भारतमा गई बसेको भन्ने जानकारी हुँदा-हुँदै उक्त कसुरबाट प्राप्त रकम लुकाउन र प्रयोग गर्ने कार्यमा संलग्न देखिएको अख्तियारले जनाएको छ ।

सूर्यबहादुर लिम्बुले गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम भारत पठाउन सहयोग गरेको, कृष्णहरि थापाले राजीव थापाको नाममा नक्कली नागरिकता बनाई मुख्य योजनाकार केदारप्रसाद गौतमसँग मिलेमतो गरी विभिन्न व्यक्तिहरुको नाममा नक्कली नागरिकता बनाउनुका साथै खाता खोल्नका लागि भूमिका निर्वाह गरेको अख्तियारको आरोप छ ।

त्यस्तै, बैंकका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँले पनि आफू कार्यरत बैंकको रेमिट समेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापन समेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा सो दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको भन्दै उनी विरुद्ध पनि मुद्धा दर्ता भएको हो ।

निजहरूले आफूहरूलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी र्पुयाएको पुष्टि हुन आएको हुँदा निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम देहाय बमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।