छ महिनामै १० करोड नोक्सान भएपछि बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने

0
Shares

भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ ।

कोलकाता उडान शुरु गरेको ६ महिनामै १० करोड भन्दा बढी नोक्सान भएपछि उडान बन्द गर्ने तयारी गरिएको बुद्ध एयरले जनाएको छ ।

सो एयरका बजार व्यवस्थापक रुपेश जोशीले यही मङ्सिर १६ गते कोलकाता उडानको अन्तिम दिन हुने जानकारी दिए ।नेपालबाट कोलकाता उडान राम्रो भए पनि कोलकाताबाट नेपाल आउने यात्रुको सङ्ख्यामा वृद्धि हुन नसक्दा भ्रमर्ण वर्षको सङ्घारमा उडान बन्द गर्नु परेको बुद्ध एयरले जनाएको छ ।

कोलकाता उडान बन्द भए पनि बनारस उडान भने बन्द नहुने व्यवस्थापक जोशीले जानकारी दिए । कोलकाता उडान बन्दका लागि बुद्धले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र भारतको सिभिल एभिएसनलाई सूचना गरिसकेको जनाएको छ ।

बुद्ध एयरले गत जेठ १३ गतेदेखि एटिआर ७२–५०० विमानबाट काठमाडौँ–कोलकाता उडान शुरु गरेको थियो । सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार गरी ६ महिनामा १५० उडानमार्फत ६ हजार यात्रुलाई सेवा प्रवाह गरेको जनाएको छ ।