वाणिज्य बैंकहरुको खुद नाफा वृद्धिदर अहिलेसम्मकै न्युन


गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक बर्षमा संचालनमा रहेका २८ वाणिज्य बैंकहरुको नाफा ६.२९ प्रतिशतले बढेको छ । बैंकको नाफा वृद्धिदर अहिले सम्मकै न्यून हो । यस अवधिमा २८ मध्ये २० बैंकको नाफा बढेको छ भने ८ बैंकको घटेको छ ।

२८ बाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मको विवरण अनुसार १६ अर्ब १७ करोड ६४ लाख रुपैयाँ नाफा गरेका छन । यो नाफा गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा ६.२९ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १५ अर्ब ४३ करोड रुपैयाँ नाफा गरेका थिए । तर, बैंकको नाफा वृद्धिदर भने अघिल्ला वर्षहरुको तुलनामा कमजोर देखिएको छ । गत आर्थिक वर्षको यसै अवधीमा बैंकहरुको नाफा करिब ४७ प्रतिशतले वढेको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार तोकिएका स्थानीय तहमा शाखा विस्तारमा जोड गरेका बैंकहरुको खर्च बढ्दा नाफा वृद्धिदर कम भएको हो । विगतका बर्षहरुदेखि नै आक्रमक रुपमा कर्जा विस्तार गर्दै आएका बैंकहरुमा वर्षको सुरुवात देखिनै लगानी योग्य रकमको अभाव हुँदा नाफा वृद्धिदरमा कमी आएको हो ।

असोज मसान्तसम्म बैंकहरुले २८ खर्ब ७७ अर्ब ७३ करोड निक्षेप संकलन गरेका छन् । २६ खर्ब १९ अर्ब ९३ करोड कर्जा विस्तार गरेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा बैंकहरुमा ९३ अर्ब निक्षेप थपिदा बैंकहरुले १२८ अर्ब कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १३५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए ।

२० बैंकको नाफा बढ्दा ८ बैंकको घट्यो

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संचालनमा रहेका २८ वाणिज्य बैंकमध्ये २० बैंकको नाफा सामान्य बढेपनि ८ बैंकको नाफा गत आवको असोज मसान्तसम्मको तुलनामा घटेको छ ।

चालु आवको असोज सम्ममा सरकारी स्वमित्वको राष्ट्रिय बाणिज्य बैंक र नीजि स्तरका दुई बैंक सहित तीन बैंकले मात्र अर्ब बढी नाफा गरेका छन् । राष्ट्रिय बाणिज्य बैंकले सबैभन्दा धेरै एक अर्ब १२ करोड नाफा कमाउँदा नबिल बैंक र एनआइसी एसिया बैंकले पनि एक अर्ब भन्दामाथि नाफा गरेका छन । नबिल बैंकले १ अर्ब १२ करोड ३५ लाख र एनआईसी एसिया बैंकले १ अर्ब ९६ लाख नाफा कमाएको छ ।

असोज मसान्तसम्ममा ८ वटा बैंकको नाफामा गिरावट आएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू र सिभिल बैंकले गत वर्षको पहिलो त्रैमासकि अवधिको भन्दा पनि कम नाफा कमाएका हुन् । सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकमा सिभिल बैंक रहेको छ । सिभिल बैंकले जम्मा १५ करोड ८९ लाख ५० हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।