देवप्रकाश गुप्ताले छाडे सिडिएससी, कञ्चन सापकोटा बनिन् कामु प्रमुख कार्यकारी


केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता संस्थाबाट बाहिरिएका छन् ।

कम्पनी सञ्चालक समितिको कात्तिक पहिलो साता बसेको बैठकले गुप्तालाई नयाँ प्रमुख कार्यकारीको व्यवस्था नहुञ्जेलका लागि प्रमुख कार्यकारीको रुपमा निरन्तरता दिने निर्णय गरेको थियो । गुप्ताको प्रमुख कार्यकारी अधिकृतको कार्यकाद गत कात्तिक ९ गते सकिएको थियो ।

आफ्नो कार्यकालमा सफलताका साथ कार्यसम्पादन गरी लोकप्रियता कमाएका गुप्ताले कार्यकाल दोहोर्याउन मिल्ने व्यवस्था नभए पछि संस्थाबाट बाहिरिने निर्णय गर्दै राजिनामा बुझाएका थिए ।

गुप्ताको राजिनामा मंसिर १६ गते सोमबारदेखि लागू हुने गरी सञ्चालक समितिले स्वीकृत गरेको छ । गुप्ताको राजिनामा स्वीकृत गर्दै कम्पनी सञ्चालक समितिले सोमबारदेखि नै लागू हुने गरी सिडिएससीकी ८ औ तहमा सहायक प्रबन्धकका रुपमा कार्यरत कञ्चन सापकोटालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

सिडीएससीमा सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रावधान छ ।

नेप्सेको शतप्रतिशत स्वमित्व भएको सिडीएससीको बोर्ड अध्यक्षमा नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सीइओ चन्द्र सिंह साउद छन् भने नेप्सेका मुराहरी पराजुली, प्रविन पन्दक र निरञ्जन फुयाल सञ्चालक छन् । सविना पुजारी कम्पनी सचिव छन् । सिडीएस कै अध्यक्ष बोर्डको आमन्त्रित सदस्य रहने व्यवस्था छ ।

अब सिडिएससीले नयाँ प्रकृयाबाट प्रमुख कार्यकारी अधिकृच छनौट गर्नेछ ।