साधारण शेयरमा आवेदन दिन घण्टौं लाइन लाग्नु पर्ने अवस्थाको अन्त्यसँगै अहिले एक क्लिकको भरमा शेयर आवेदन गर्ने सुविधा आम लगानीकर्ताले पाएका छन् ।
आम लगानीकर्ताले शेयर बजारमा देखेको प्रविधिमा आधारित लोकप्रिय सेवा यही नै हो । यो प्रणालीको विकासमा केन्द्रिय निक्षेप प्रणालीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको महत्वपूर्ण भुमिका रह्यो । जसका कारण उनी लगानीकर्तादेखि नियामक निकाय, मन्त्रायलसम्म गुप्ताको चर्चा सुरु भयो ।
तिनै गुप्ता सोमबारदेखि सिडिएससीको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका छन् ।
देवप्रकाश गुप्ताले छाडे सिडिएससी, कञ्चन सापकोटा बनिन् कामु प्रमुख कार्यकारी
आफ्नो कार्यकालमा नेपालको पूँजी बजार विकास र विस्तार तथा पूँजी बजारलाई आधुनिकिकरण र डिजिटलाइज गर्न उल्लेखनीय योगदान गरेका कारण पनि गुप्ता लोकप्रिय बनेका थिए । चौतर्फी रुपमा पूँजीबजार सम्बद्ध विभिन्न निकाय, पदाधिकारी तथा व्यक्तिहरुको बिरोध भैरहँदा पनि गुप्ता भने बिरोधको पात्र बनेनन् ।
इन्जिनियरिङ र टेक्नोलोजीमा बिइ, एमबिए, व्यवस्थापनमा एमफिल अध्ययन गरेका सीईओ गुप्तालाई सिडिएससीमा प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिनसक्ने सम्भावना थियो । तर प्रकृयागत आधारमा कार्यकाल नदोहोरिने सम्भावना देखेपछि गुप्ताले संस्थाबाट बाहिरिने निर्णय गरे ।
‘अझै धेरै काम गर्ने महत्वकांक्षी योजना थियो । मेरो कार्यकालमा जति कामहरु गर्न सकें, त्यसले नेपालको पूँजी बजारलाई पक्कै पनि नयाँ बाटोमा डोर्याएको छ ।’ गुप्ताले नोटबजारसँग भने । ‘म एक्लैले गर्ने केही पनि थिएन, मेरो कार्यकालमा संस्थाका सबै तहका कर्मचारी साथीहरुको निरन्तरको इच्छाशक्तिबाट नै आजको सिडिएससी बनेको हो । यसका लागि सबै साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
नेपाली शेयर बजारमा धेरै प्रशंसा पाउने एक मात्र पात्र गुप्ता रहेकाले पनि उनको बिरोधमा लगानीकर्ता वा कुनै निकाय लाग्न सकेका थिएनन् ।
सिराहा जिल्लाको लहान स्थायी घर भएका गुप्ताले ०७२ सालदेखि २०७६ सालबीचमा सिडिएससीको नेतृत्व सम्हालेपश्चात दिनभर लाईन लागेर शेयरमा आवेदन गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै सिआस्वा र मेरो शेयरको प्रणालीको सुरुवात गरेर अनलाईन मार्फत नै प्राथमिक निष्काशन, हकप्रदमा आवेदन गर्न मिल्ने व्यवस्थाको सुरुवात गरे । जसका कारण धितोपत्रको प्राथमिक बजारमा विश्वास, आशा, र भरोसा जगाउने सुत्राधारको श्रेय पनि उनै गुप्तालाई जान्छ ।
आईपिओ निष्काशनको एक साताभित्रै बाँडफाँड, नेप्से र सिडीएसको सिस्टम मिलान गरेर निष्काशन भएका सबै शेयरको सूचीकरण हुने व्यवस्था, भौतिक रुपमा रहेका शेयरलाई डिम्याट अर्थात अभौतिक गरेर २०७२ साल माघ १ गतेबाट डिम्याट शेयरको खरीद बिक्री हुने व्यवस्था, आईपिओ निष्काशनको ९ महिनासम्म बाँडफाँड नहुने गरेकोमा एक साताभित्र बाँडफाँड गरि १५ दिनभित्र कारोबार सुरु गर्न सकिने व्यवस्था गरेर लागत र समय बचत गर्ने प्रणालीको विकास पनि उनैले गरे ।
यसले पूँजी बजारमा एक दिनमा अर्ब माथिको शेयर कारोबार गर्न सफल भयो भने शेयर आवेदक बढेर एउटा कम्पनीको शेयरमा ६० हजारबाट तीन लाख बढीको आवेदन पर्न थाल्यो । यसले फर्जी शेयर प्रमाणपत्रको कारोबार, दोहोरो आवेदन र अन्य व्यक्तिको नाममा शेयर आवेदन गर्ने बोरे र झोले प्रथालाई हटाएर वास्तविक आवेदक छुट्टाएर पारदर्शिता वृद्धि भएको छ ।
यसैगरि ११ करोड घाटामा रहेको संस्थालाई ११ करोड मुनाफामा पुर्याएर लाभांश वितरण गर्नसक्ने अवस्थामा पुर्याउनु, सडिएससीलाई अन्तर्राष्ट्रिय संस्थाको पूर्ण स्थायी सदस्य बनाउनु, पुरानो सेटलमेन्ट सिस्टममा सुधार गरेर नेट सेटलमेन्ट सिस्टमको थालनी, क्लियारिङ्ग बैंक थपेर कारोबार भएको ३ दिन मै राफसाफ, डिपीबाटै घरयासी नामसारी र हालै मात्र भारित औसत लागत गणना समेत गर्नसक्ने प्रणालीको विकास गरेर धितोपत्र बोर्ड, नेप्से र लगानीकर्तालाई गुप्ताले सन्तुष्ट पारेका छन् ।
गत सेप्टेम्बरमा ४७ मुलुकबाट २०० प्रतिनिधिको उपस्थितिमा एसिया प्यासिफिक क्षेत्रका सिडिएसहरुको साधारण सभा नेपालमा सम्पन्न गराएर पनि उनले आफ्नो पहिलो कार्यकाल सफल बनाएका छन् । पूँजीबजारलाई डिजिटलाइज र प्रविधिमैत्री बनाएर प्राथमिक शेयरमा आवेदन, आईपिओ निष्काशनकर्ता (मर्चेन्ट बैंकर) को र लगानीकर्ताको लागत र समय बचत, डिम्याट कारोबारदेखि दोस्रो बजारमा राफसाफ, इडिआईएस र पूँजीगत लाभकर गणनासम्मको काम गरेर जुन चर्चा कमाए सायदै पूँजीबजारमा अन्य कसैले गर्यो ।
गुप्ता आफैँ पनि बोर्डको पहिलो कार्यकालयमा नियुक्ती अघि बुझाएका कार्ययोजना लगभग सबै पूरा गरिसकेका थिए ।
उनले पछिल्लो पटक मेरोशेयर मार्फत नै साधारण सभामा अनलाइनबाट भोट गरेर सञ्चालक चुन्न सक्ने र ग्राहक पहिचान विवरण (केवाईसी) लाई केन्द्रिकृत (सेन्ट्रलाइज केवाइसी) सफ्टवेयर प्रयोगमा ल्याउने मुख्य योजना अघि सारेका थिए । अब आउने नेतृत्वले उल्लेखित योजनामा काम गर्ने हो भने सूचीकृत कम्पनीहरुमा सञ्चालक बन्नका लागि हुँदै आएको प्रोक्सीको व्यापारको अन्त्य हुनेमा दुईमत छैन ।
साधारण सभामा अनलाइनबाट भोट गर्ने व्यवस्थाले कम्पनी सुशासनका लागि थप मद्दत प्र्याउनेमा उनी विश्वस्त छन् । एक ठाउँमा केवाईसी भरेर अपडेट गरेपश्चात एउटा कोड लिएपछि बैंक, ब्रोकर, मर्चेन्ट बैंक, रोजगारीका लागि आवेदन, नागरिकता र राहदानी लिने लगायत स्थानमा सो कोडमार्फत आवेदकको सम्पूर्ण विवरण सोही कोर्डमार्फत प्राप्त हुँदा आम सेवाग्रहीलाई सहज हुनेमा उनी विश्वस्त छन् । हरेक ठाउँमा पुन केवाईसी भर्ने बाध्यता हटाउनु पर्ने उनको भनाई छ । त्यसको लागि पहिचान नामक सिस्टम निमार्ण भैसकेको छ ।
प्रतिक्रिया