बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल निर्विरोध, यस्तो छ नयाँ कार्य समिति


नेपाल बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल चयन भएका छन् ।

सबै बैंकर्सहरुले दाहाललाई संघको नेतृत्व सम्हाल्नका लागि यस अघि नै सहमति दिएका थिए ।

संघको मंसिर १९ गते हुने साधारण सभाले नयाँ कार्य समितिको निर्वाचन गर्ने कार्यतालिका थियो । जसका लागि मंसिर १७ गतेसम्ममा उम्मेदवारी दर्ता, १८ गते उम्मेदवारी फिर्ता गर्ने कार्यतालिका थियो । सबै जसो बैंरहरुले यस अघि नै दाहाललाई संघको अध्यक्ष बनाउन दिएको सहमतिका आधारमा अरु कसैको उम्मेदवारी नपरे पछि दाहाल निर्विरोध भएका हुन् ।
दाहाल संघमा दुई कार्यकाल कार्यसमिति सदस्य भैसकेका छन् ।

त्यसै गरी संघको उपाध्यक्षमा एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर चयन भएका छन् । संघ कार्यसमिति सदस्यमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल, सिभिल बैंकका गोविन्द गुरुङ, माछापुच्छ्रेका सुमन शर्मा, एनएमबि बैंकका सुनिल केसी, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, मेगा बैंककी अनुपमा खुञ्जेली र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल चयन भएका छन् ।

दाहालसँगै संघको नयाँ कार्यसमितिले आगामी जनवरी २ तारिखका दिनदेखि कार्यभार सम्हाल्नेछ ।