२५४ जनाले मुक्तिनाथ विकास बैंकको लिलामी शेयर सकार्ने, ‘कटअफ’ मूल्य कति ?


मुक्तिनाथ विकास बैंकले लिलाममा राखेको शेयर २५४ आवेदकले सकार्ने प्रारम्भिक नतिजा आएको छ ।

मुक्तिनाथ क्यापिटलले नोटबजारलाई दिएको जानकारी अनुसार बैंकको साधारण शेयर २४८ आवेदक तथा संस्थापक शेयर ६ आवेदकले सकार्ने प्रारम्भिक नतिजा आएको छ ।

क्यापिटलका अनुसार साधारण शेयरको न्युनतम मूल्य २९१ रुपैंया कायम भएको छ । सबै आवेदकले नभई दामासाही रुपमा २९१ रुपैंयाका आवेदकलाई शेयर बाँडफाँड गरिनेछ भने २९२ रुपैंयाभन्दा माथि मूल्यमा शेयर माग गर्ने सबै आवेदकले मुक्तिनाथको शेयर पाउने भएका छन् ।

त्यसै गरी संस्थापक शेयरको न्युनतम मूल्य १५० रुपैंया ७ पैसा कायम हुने भएको छ ।

बैंकको लिलामी शेयरमा साधारण शेयरका लागि १ हजार ३८७ तथा संस्थापकमा २५ वटा आवेदन परेको थियो । साधारण र संस्थापक शेयरमा गरी कुल १ हजार ४१२ आवेदन परेकोमा २५४ आवेदकले मात्र शेयर सकार्ने अवसर पाउने भएका हुन् ।

बुधबार दोस्रो बजारमा मुक्तिनाथ विकास बैंकको प्रतिकित्ता शेयर ६ रुपैंयाले बढेर ३११ रुपैंयामा अन्तिम पटक कारोबार भएको छ । यस आधारमा हेर्दा लिलामी शेयर २९१ रुपैंयामा सकार्र्नेहरुले बुधबारको अन्तिम मूल्यका आधारमा २० रुपैंया सस्तोमा शेयर सकार्न पाएका छन् ।

बैंकले संस्थापक समूहको १ लाख २ हजार ५१६ कित्ता तथा सर्वसाधारण समूहको ३ लाख ७०४ कित्ता गरी कुल ४ लाख ३ हजार २२० कित्ता शेयर लिलामी मार्फत बिक्री गरेको हो ।

बैंकले गत भदौ १२ गतेदेखि निष्काशन गरेको हकप्रदमा नबिकेको शेयर लिलामीमा राखेको हो । बैंकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो ।

बैंकको लिलामीको शेयरमा मंसिर १५ गतेसम्म आवेदन गर्न पाइने व्यवस्था गरेको थियो ।

मुक्तिनाथ विकास बैंकले गतबर्षको कमाईबाट १७।६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारण सभामा लैजाँदैछ । उक्त लाभांस लिलामीको शेयर हात पार्नेले पनि पाउने छन् ।

बैंकले यही मंसिर ३० गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । दोस्रो बजारमा मंसिर २२ गते आइतबारसम्म बैंकको शेयर किन्नेहरुले मात्र बैंकको प्रस्तावित लाभांस पाउने छन् ।

यसै बिच बैंकको हकप्रद शेयर पनि दोस्रो बजारमा कारोबारका लागि सूचीकरण गराई सकेको छ ।