नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नेतृत्व वस्याललाई


नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षको जिम्मेबारी वरिष्ट उपाध्यक्ष रहेका मनहरी बस्यालले सम्हालेका छन् । अध्यक्ष नवनिधी पन्तको राजीनामा केन्द्रिय समितीको बैंठकबाट स्विकृत गरी वरिष्ट उपाध्यक्ष वस्याललाई बाँकी कार्यावधीका लागि अध्यक्षको जिम्मेवारी दिएको हो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले लुम्विनीमा सम्पन्न कार्यशाला एवं भेला तथा केन्द्रीय समितिको पाँचौ पुर्ण बैठकले महत्वपुर्ण निर्णयहरु गरेको महासचिव दिवाकर घिमिरेले जानकारी दिए । महासंघका सचिव शिव सागर शर्माले महासंघको अल्पकालिन, मध्यकालीन तथा दीर्घकालिन योजनाहरुको बारेमा छलफल भएको छ । कार्यशाला गोष्ठीको सहजीकरण उत्तमप्रसाद झाले गरेका थिए ।

मंसीर २० र २१ गते लुम्बिनीमा सम्पन्न बैठकले व्यवसायीका व्यवसाय जन्य सीप र दक्षता अभिबृद्धि सम्वन्धी अभियान चलाउने, परिवर्तित पाठ्यक्रम अनुसार छपाइ हुने पाठ्यपुस्तकको रजिस्ट्रेशन समयावधि तथा मुल्य निर्धारण सम्वन्धमा नेपाल सरकारको शिक्षा विभाग एवं पाठ्यक्रम विकास केन्द्र तथा सरोकारवाला निकायसंग छलफल गर्ने र आसन्न शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तकहरुको उपलब्धताको लागि पहल गर्ने निर्णय गरेको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले जिल्लाका सबै निकाय एवं स्थानीय संघ संस्थाहरुसंगको सहकार्यमा वा एकलरुपमै भएपनि पठन संस्कृति अभियानको लागि सामाजिक रुपान्तरणको क्षेत्रमा सक्दो कार्य गनै तत्पर देखिएको छ । महासंघले सवैपक्षसंग शैक्षिक क्षेत्रको विकासका लागि आह्वान गरेको उनले बताए । महासंघमा आबद्ध जिल्ला शाखाहरु तथा प्रदेशहरुको साधारणसभा क्रमशः पौष १५ देखि पौष मसान्तसम्म सम्पन्न गर्ने र माघ २४ र २५ मा केन्द्रीय साधारणसभा तनहु जिल्लामा गर्ने समेत निर्णय गरेको छ ।