अपी पावरले ७ अर्ब ४० करोडको लगानीमा बैशाखदेखि माथिल्लो चमेलिया निर्माण सुरु गर्ने


अपी पावर कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणको काम सुरु गर्ने भएको छ । ८.५ मेगावाट क्षमताको नौगड गाड जलविद्युत आयोजना पछि ८ मेगावाट क्षमताको माथिल्लो नौगड गाड आयोजना निर्माण सम्पन्न गरे लगत्तै कम्पनीले नयाँ आयोजना अघि बढाउने भएको हो ।

आठ मेगावाट क्षमताको अपर नौगाढ जलविद्युत परियोजनाबाट ब्यवसायीक विद्युत उत्पादन सुरु गरेको जानकारी दिन आयोजित कार्यक्रममा कम्पनीले नयाँ परियोजना सुरु गर्ने जनाएको हो ।

सबै स्वीकृतिहरु पाईसकेको दार्चुला जिल्लामा अवस्थित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गर्ने कम्पनीले उद्घोष गरेको हो ।

यो आयोजनाबाट उत्पादन हुने विद्युतशक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरि संचालन गरेको अत्तरिया–बलाच १३२ के.भि. ट्रान्समिसन लाइनमा जडान गरिने बताइएको छ ।

यो आयोजना बाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिउँदका ६ महिनाहरुमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुनेछ ।

यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा आयोजनाको बाँध निर्माण गरी ५.५ किलोमिटर लामो ३.२ डायमिटरको पेनस्टक पाइपको सहायाताले चमेलिया नदिको पानी फर्काई आयोजना निर्माण गरिने बताइएको छ ।

आयोजना निर्माणका लागी ७ अर्ब ४० करोड रुपैंया लगानी अनुमान गरिएको छ । यो रकमको ३० प्रतिशतले हुने २ अर्ब २२ करोड रुपैंया शेयरधनीको लगानीबाट र बाँकी ५ अर्ब १८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गरिनेछ ।

२०७७ बैसाख महिना देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

यस अघि २०७२ साल भदौमा कम्पनीले ८.५ मेगावाट क्षमताको नौगड गाड आयोजना निर्माण गरिसकेको छ ।