बैंक/वित्तीय संस्थाको बोर्डमा पनि बैंकर, तीन पुर्व प्रमुख कार्यकारी बने बोर्ड अध्यक्ष


बैंक तथा वित्तीय संस्थामा बैंकर र व्यवसायीलाई छुट्याउन बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) संसोधनको प्रकृयामा रहँदै गर्दा व्यवस्थापनको नेतृत्व सम्हालेका पुर्व बैंकरहरु सञ्चालक समितिमा जोडिन पुगेका छन् ।

पछिल्लो समय प्रमुख कार्यकारी अधिकृतबाट निवृत्त भएका तीन जनाले बैंक सञ्चालक समिति अध्यक्षको जिम्मेबारी सम्हालेका छन् ।

त्यसै गरी एक जना बहालवाला सहायक प्रमुख कार्यकारी अधिकृत सोही बैंकको सहायक कम्पनीको अध्यक्ष बनेका छन् ।

व्यवस्थापनमा रहेर सञ्चालक समितिमा समेत प्रतिनिधित्व गर्ने विगतको अभ्यासलाई कानुनी रुपमा निषेध गरिए पछि व्यवस्थापनबाट निबृत्त भइ सञ्चालक बन्ने क्रम बढेको हो । बैैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ले सञ्चालक समितिमा बसेको व्यक्तिलाई व्यवस्थापनमा समेत रहेर दोहोरो भुमिका निर्वाह गर्न नपाउने व्यवस्था गरेको थियो ।

सञ्चालक समितिले तर्जुमा गर्ने योजनाको कार्यान्वायन प्रमुख कार्यकारी अधिकृतहरुले गराउँछन । विगतमा आफैंले योजना बनाएर आफैं कार्यान्वायनमा सक्रिय हुने गरेकोमा अहिले भने कार्यान्वायन गराउने अभ्यासमा पोख्त भएर योजना तर्जुमा गर्ने स्थानमा बैंकरहरु आकर्षित हुन थालेका हुन् ।

प्रमुख कार्यकारीले एउटा संस्थामा २ कार्यकालभन्दा बढी समय बिताउन नपाउने व्यवस्था छ । यो व्यवस्थासँगै सञ्चालक समितिको निर्देशन कार्यान्वायन गराउनेहरु अहिले आफैं व्यवस्थापनलाई निर्देशन दिने ठाउँमा पुग्न थालेका हुन् ।

प्रमुख कार्यकारी अधिकृतको भुमिकामा बैंक हाँकेका व्यक्ति सञ्चालक हुँदा संस्थालाई अघि बढाउन सकारात्मक प्रभाव पर्ने आम बुझाई छ ।

अध्यक्ष बनेका तीन पुर्व प्रमुख कार्यकारी अधिकृतहरु :

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया)ले कार्यकारी र सञ्चालकको भुमिकामा बस्न बन्देज लगाए यता तीन जना पुर्व प्रमुख कार्यकारीहरु बैंक सञ्चालक समितिको अध्यक्ष बनेका छन् ।

सोमबार मात्रै पोखरामा सम्पन्न साधारण सभाले मुक्तिनाथ विकास बैंकको सञ्चालक समिति अध्यक्षमा भरतराज ढकाललाई चयन गरेको छ । ढकाल यस अघि मुक्तिनाथ विकास बैंकमा लामो समयसम्म प्रमुख कार्यकारी अधिकृतको भुमिकामा थिए । उनी डेभलपमेण्ट बैंकर्स संघको अध्यक्ष समेत भईसकेका छन् ।

झण्डै वर्ष दिन पहिले प्रमुख कार्यकारी अधिकृतबाट निबृत्त भएका ढकालले मुक्तिनाथ कृषि कम्पनी स्थापना गरी त्यसलाई गति समेत प्रदान गरिसकेका छन् । बैंकमा विगतमा गरेका कामको अनुभवका आधारमा सञ्चालक समितिमा रहेर अझै सुधारका साथै व्यवसाय बिस्तारमा लाग्ने योजना ढकालको छ ।

नोटबजारसँग कुरा गर्दै ढकालले भने, ‘पहिले सञ्चालक समितिबाट आउने मेण्डेड पुरा गराएर संस्थालाई विकास बैंकहरुमा नम्बर वान बनाउन सकियो । अब संस्थालाई थप उचाईमा पुर्याउनका लागि आफ्नो अध्यक्षको कार्यकाललाई पूर्ण रुपमा इमान्दारिताका साथ खर्चिनेछु ।’

यसभन्दा पहिले सिटिजन्स बैंकमा २ कार्यकाल प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका राजनसिंह भण्डारी केही समयको बिश्राम पछि सोही बैंककै सञ्चालक समिति अध्यक्षका रुपमा फर्केका छन ।

सिभिल बैंकमा २ कार्यकालसम्म प्रमुख कार्यकारी अधिकृत भएका किशोर महर्जन सेवा निबृत्त भए पछि केही समय रेष्टुरेण्ट व्यवसायमा आबद्ध भए । ललितपुर पेट्रियट्स नामक क्रिकेट टिमको अध्यक्ष समेत रहेका महर्जन बैंकिङ क्षेत्र भन्दा बाहिर रहिरहन सकेनन् । अहिले उनी प्रोग्रेसिभ फाइनान्सको सञ्चालक समिति अध्यक्ष छन् ।

हाल एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा रहेका कपिल ढकाल भने बैंकको सहायक संस्था एनआईसी एशिया लघुवित्तको सञ्चालक समिति अध्यक्ष छन् । बैंकको सहायक कम्पनी भएकाले उनलाई बैंकले सहायक प्रमुख कार्यकारी अधिकृतको पद यथावत रहने गरी लघुवित्त सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी तोकेको हो ।

यस अघि नेपाल इन्भेष्टमेण्ट बैंकको कार्यकारी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका पृथ्बीबहादुर पाँडे अहिले दोहोरो भुमिकामा नभई नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्ष छन् । बाफिया आकर्षित हुनु पहिले पाँडेले इन्भेष्टमेण्ट बैंकमा लामो समयसम्म कार्यकारी अध्यक्षको भुमिका निर्वाह गरेका थिए ।

सञ्चालकमा पनि पुर्व प्रमुख कार्यकारीहरुको भिड :

अघिल्लो साता मात्र जनता र ग्लोबल आईएमई बैंक मर्जर भएर बनेको ग्लोबल आइएमई बैंकको सञ्चालकमा राष्ट्रिय वाणिज्य बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा रहेका छन ।

योभन्दा केही समय अघि मात्र लक्ष्मी बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सिटिजन्स बैंकको सञ्चालक बनेका थिए ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष समेत बनेका एनएमबी बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल अहिले नबिल बैंकको सञ्चालक हुन् ।

कुमारी बैंक तथा बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत भैसकेका राधेश पन्त लगानी बोर्डको समेत प्रमुख कार्यकारी अधिकृत बने । अहिले उनी बैंक अफ काठमाण्डूको सञ्चालक छन् ।