हेरचार डटकमले राजधानी बाहिरका पाँच शहरमा सेवा बिस्तार गर्ने, के हो हेरचार डटकम ?


हेरचार डटकमले राजधानी बाहिरका पाँच शहरमा आफ्नो सेवा बिस्तार गर्ने भएको छ । फ्रेन्चाइज मोडेलमा बुटवल, पोखरा, विरगंज, भरतपुर र विराटनगरमा हेरचार डटकमको सेवा केन्द्र सञ्चालन गर्ने भएको हो ।

हेरचार डटकमले घर, कर्पोरेट कार्यालय उद्योग, व्यवसायीक प्रतिष्ठान र व्यक्तिगत घर भित्र बत्ती, प्लम्विङ्ग, मर्मत संभार, घरेलु प्रयोगका सामान सप्लाई, सरसफाई, रंग रोगन, मोडिफिकेशन लगायतका सेवा प्रदान गर्दै आएको छ । हैन्डीम्यान सेवामा नेपालमा अत्यावश्यकीय सेवाका रुपमा बिस्तार हुँदै गएको घरायसी सेवा बिस्तारमा हेरचार सक्रिय भएको हो ।

हेरचार डटकम प्रा लिको दोस्रो बार्षिक साधारण सभा २०७६ षौष ३ गते सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुरेश सापकोटाको अध्यक्षतामा बसेको साधारण सभाले आर्थिक वर्ष २०७५।०७६ को वासलात, नाफा नोक्सान हिसाव पारित गर्दै लेखा परिक्षक नियुक्तिको निर्णय गरेको छ ।

२०७४ कार्तिक १४ गतेस्थापना भएको कम्पनीले ५ बर्ष भित्र उपत्यकाका दश हजार घर र व्यवसायिक प्रतिष्ठानलाई सदस्य बनाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

१ करोड ५० लाख रुपैंयाको पूँजीमा स्थापित यस कम्पनीले काठमाण्डौ मा हाल १५० भन्दा बढी कर्पोरेट हाउस ९ वटा बैँक, बीमा, एन्जिओ, राजदुतावास, मल्टिनेशनल कम्पनी, औद्योगिक व्यवसायिक प्रतिष्ठान र व्यक्तिलाई सेवा प्रदान गरिरहेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा कम्पनीले गुणस्तरीय र विस्तारित सेवाबाट पाँच लाख भन्दा वढी सञ्चालन मुनाफा कमाएको छ ।