अर्घाखाँची सिमेन्ट उद्योगद्धारा तातो हावाबाट दुई मेगावाट विद्युत् उत्पादन

0
Shares

अर्घाखाँची सिमेन्ट उद्योगले बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादनसमेत गरिरहेको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको सो सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर हाल दुई मेगावाट विद्युत् उत्पादन गरिएको छ ।

उद्योगका सञ्चालक पुशपति मुरारकाले भने, “नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ हामीले पहिलो चरणमा दुई मेगावाट विद्युत् उत्पादन गरेका छौँ, दोस्रो चरणमा थप १.५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।”

सुधारिएको स्टिम इन्जिन प्रणालीबाट विद्युत् उत्पादन गर्ने प्रणाली चीनबाट आयात गरिएको हो । उद्योगबाट खेर जाने तातो हावालाई प्रयोग गरेर विद्युत् निकाल्ने प्रणाली जडान गरिएको पहिलोपटक भएको भन्दै उनले यसबाट अन्य उद्योगले समेत प्रेरणा लिएको बताए । आफ्नो उद्योगलाई चाहिने विद्युत्मध्ये केही आफैँ उत्पादन गर्ने रणनीतिअन्तर्गत उक्त काम गरिएको उद्यमी मुरारकाको भनाइ छ ।

उद्योगबाट निस्केको तातो हावा खेर गइरहेको र वातावरणसमेत प्रदूषित भइरहेको छ । विद्युत् उत्पादन गर्ने प्रणाली जडान भएपछि वातावरणीय रुपमा कुनै समस्या नआएको उनको दाबी छ । चीन भ्रमणमा जाँदा यस्तो प्रविधि देखेपछि वाष्प (स्टिम) प्रविधिको प्रयोग गरी बिजुली निकाल्ने अठोट गरेको मुरारकाले बताए ।

चीनमा वाष्प प्रविधिबाट ठूलो मात्रामा बिजुली उत्पादन गरिएको छ । उद्योगबाट निस्किएको तातो हावाले ‘स्टिम इन्जिन’ चलाउने र त्यसरी घुमेको इन्जिनले विद्युत् उत्पादन गर्ने प्रणालीलाई ‘वेस्ट हिट रिकभरी युनिट’ नाम दिइएको छ । नेपालमा हालसम्म यस्तो प्रविधिबाट विद्युत् उत्पादन गरिएको छैन । दोलखाको चर्नावती र पर्वतको मोदी हाइड्रो पावरमा लगानी गरेका मुरारकाले भने, “यस्तो पाइलटिङ सफल भएको छ, नेपालका अधिकांश सिमेन्ट उद्योगमा सहजै रुपमा विद्युत् उत्पादन गर्न तथा व्यावसायिक रुप दिन सहयोग मिल्नेछ ।”

सोही प्रणाली प्रयोग गरेर होङ्सी शिवम् सिमेन्ट उद्योगले समेत तातो हावाबाट विद्युत् उत्पादन गरिरहेको छ । नेपालमा जगदम्बा, मारुती, शिवमजस्ता निजी क्षेत्रका ठूला सिमेन्ट उद्योग सञ्चालनमा छन् भने सरकारी स्वामित्वका उदयपुर, हेटौँडा सिमेन्ट सञ्चालनमा छन् । ती उद्योगमा समेत यस्तो प्रणाली जडान गर्न सकिन्छ ।

पाकिस्तानको पञ्जाव प्रान्तमा रहेको घरिवल सिमेन्ट उद्योगले २० मेगावाट विद्युत् सोही प्रणालीबाट उत्पादन गरिरहेको छ । पाकिस्तानकै लक्की सिमेन्ट उद्योगमा समेत १० मेगावाट विद्युत् उत्पादन गरिएको छ । भारतको तेलङ्गनाको सागर सिमेन्ट उद्योगले छ मेगावाट विद्युत् उत्पादन गरेको छ । फिलिपिन्सको सिमेक्स सिमेन्ट उद्योगमा समेत चिनियाँ प्रविधि जडान गरी ४.५ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको छ भने इन्डोनेसियाका सिमेन्ट उद्योगमा वेस्ट हिट रिकभरी युनिट जडान गरी ३० मेगावाट विद्युत् उत्पादन गर्ने प्रणाली जडान गरिएको छ ।

पाकिस्तानको राष्ट्रिय विद्युत् नियमन प्राधिकरणले वेस्ट हिट रिकभरी युनिट स्थापना गर्न र बढी भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्नैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ । सिमेन्ट उद्योगले फाल्ने हानिकारक कार्बन डाइअक्साइड नियन्त्रण गर्न र वातावरणको संरक्षण गर्नसमेत यस्तो प्रणाली संसारभर फैलने क्रममा रहेको ग्लोबल सिमेन्टले हालै प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।