रामकुमारी झाँक्रीको उपसमितिले गठन भएको चार महिनापछि छलफल सुरु गर्यो, बैंकलाई पनि बोलाउँदै


वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने नि नदिने भन्ने सन्दर्भमा अध्ययन गर्न गठित उपसमितिले म्याद पुरा भए पछि सम्बद्ध पक्षहरुसँग छलफल सुरु गरेको छ ।

व्यवस्थापिका संसदको अर्थ समितिले गत साउनमा वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने नि नदिने भन्ने सन्दर्भमा अध्ययन गर्न समिति सदस्य रामकुमारी झाँक्रीको संयोजकत्वमा २ महिनामा प्रतिवेदन बुझाउने गरी उपसमिति गठन गरेको थियो । तर उपसमितिले गठन भएको ४ महिना पछि मात्र छलफल सुरु गरेको हो ।

मंगलबार मात्र उपसमितिले लगानीकर्ताका विभिन्न संघ संगठन र धितोपत्र दलालको छाता संगठन स्टक ब्रोकर एशोसिएसनसँग छलफल गरेको हो । उपसमितिले मंगलबार शेयर लगानीकर्ता तथा शेयर दलालहरुसँग अलग अलग छलफल गरेको हो ।

छलफलका क्रममा उपसमितिले बजारका समसामयिक विषयमा चासो देखाएको शेयर लगानीकर्ताहरुले नोटबजारलाई बताए । अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालसमेत उपस्थित रहेको छलफलमा लगानीकर्ताहरुले शेयरको माग र आपूर्तीको सन्तुलन बिग्रिएका कारण बजारमा लगानीकर्ता हतोत्साहित भएको बताएका थिए ।

नीति नियमहरु समयानुकुल नहुनु, नियामक निकायका बिचमा तालमेल नमिल्दा समस्या देखिनु, लगानीकर्तालाई अनावश्यक रुपमा नियामकबाट आतंकित पार्ने काम हुनु लगायतले बजार असज परिस्थितबाट गुज्रिरहेको भन्दै लगानीकर्ताहरुले उपसमितिलाई सुझाव दिएका थिए ।

छलफलका क्रममा लगानीकर्ताहरुले वाणिज्य बैंकलाई दुरदराजबाट समेत शेयर कारोबार गराउन सक्ने गरी ब्रोकर लाइसेन्स दिनु पर्ने सुझाएका थिए । यसरी लाइसेन्स दिँदा अहिले सञ्चालनमा रहेका शेयर ब्रोकरलाई अन्याय गर्न नहुने सुझाव लगानीकर्ताले दिएका थिए । ब्रोकरलाई सहज रुपमा शाखा बिस्तार गर्ने वाताबरण बनाउँदै नियामकले व्यवहारिक वाताबरण बनाउनु पर्नेमा जोड दिएका थिए ।

छलफलका क्रममा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बैंकलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङ हुन सक्ने भन्दै चासो देखाएकोमा त्यस्तो अवस्था नहुने जवाफ दिएको नेपाल इन्भेष्टर्स फोरमका कोषाध्यक्ष अञ्जिव तुलाधरले नोटबजारलाई बताए । उनका अनुसार लगानीकर्ताहरुले लिखित रुपमा बजार सुधारका लागि सुझावहरु यसै साता भित्र उपसमितिलाई बुझाउने छन् ।

रामकुमारी झाँक्री नेतृत्वको उपसमितिले स्टक ब्रोकरहरुसँग पनि समसामयिक विषयमा छलफल गरेको एक ब्रोकरले नोटबजारलाई बताए । बजारका समस्या समाधानका विषयमा उपसमितिले सुझाव माग गरेको र आफुहरुले सोही अनुसारका जवाफ दिएको ती ब्रोकरले बताए ।

केही दिनमा नै बैंकर संघसँग पनि छलफल गर्नका लागि उपसमितिलाई सुझाइएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहलले नोटबजारलाई बताए । नोटबजारसँगको कुराकानीमा दाहालले भने, “हामी मुद्रा तथा पूँजी बजारका सम्बद्ध सबै पक्ष तथा विज्ञहरुसँग छलफललाई तिब्र बनाउँछौं ।”