शहरका विज्ञापन होर्डिङ बोर्ड र अव्यवस्थित तार हटाइने


सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री हटाउने भएको छ ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौँ महानगरपालिकाभित्र शुक्रबारदेखि चार वटा समूह बनाई ती सामग्री हटाउन शुरु गर्ने निर्णय गरेको छ ।
अन्य स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिई कारवाही अघि बढाउने बैठकले निर्णय गरेको छ ।
यसैगरी,बैठकले अव्यवस्थित टागिएका टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायकका तार हटाउन समयसीमा तोकी सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए तारलाई काटेर हटाउने निर्णय गरेको छ ।
गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचना हटाइन लागेको बताए ।
सर्वोच्च अदालतले समेत संरचनाका विषयमा आदेश दिइसकेको र आदेश कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले जाकारी दिए । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाभित्र शुक्रबारदेखि त्यस्ता संरचना हटाउन शुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गृह सचिव प्रेमकुमार राईले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहने जानकारी दिए ।