अस्वाभाविक गिरावट भएपछि शेयर बजारमा तेस्रो नकारात्मक सर्किट, यस्ता छन् उच्च गुमाउने कम्पनी

0
Shares

शेयर बजार अस्वाभाविक रुपमा गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले आज सर्किट ब्रेक लगाएको छ।  बजार ६ प्रतिशतले घटेपछि स्टकले सर्किट ब्रेक लगाएको हो।

स्टकका अनुसार आज बजार ८६.३९ अंकले घटेर १ हजार ३४९ दशमलव ३१ बिन्दुमा बन्द भएको छ। मंगलबारको गिरावटसँगै नेप्से सूचक फागुन १ गतेको सूचक नजिक पुगेको छ । १ गते नेप्से सूचक १ हजार ३४४ अंकमा रहेको थियो।

मंगलबार कुल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर १ अर्ब ७ करोड ६६ लाख ९६ हजार रुपैयाँमा खरिद बिक्री भएको छ। कारोबारमा आएका सबै उपसमूहको सूचक घट्दा १४६ कम्पनीको शेयरमूल्य घटेको छ भने ८ कम्पनीको मात्र शेयरमूल्य बढेको छ।

फागुन १५ गतेसम्म लगातार बढेर नेप्से परिसूचक १ हजार ६३२ अंकसम्म पुगेको थियो। सो पछिका दिनमा तीव्र गतिमा ओरालो लागेर २८३ अंक घटेपछि आज नेप्से १ बिन्दुमा ३४९ अंकमा झरिसकेको छ। बजार घटेसँगै समग्र बजार पूँजीकरण १७ खर्ब २३ अर्ब ९१ करोड रुपैयाँमा खुम्चिएको छ।

कारोबारमा आएका सबै उपसूचमा पहिरो गएको छ । जीबन बीमा, ब्यापार , बैंकिङ्ग, होटल, र निर्जीबन बीमा उपसमूहको सूचक ५ प्रतिशत बढीले घटेको छ भने विकास बैंक, लघुवित्त, उत्पादन र अन्यको सूचक पनि ४ प्रतिशत बढीले घट्यो। नेपाल लाईफ र एनआईसी एशिया बैंकको ८ करोड बढीको शेयर खरीद बिक्री भएको छ।

आफूलाई शेयर बजारको ‘विश्लेषक’ भन्न रुचाउनेहरु अब बजार बुलिस ट्रेन्डमा लागेको भन्दै अब घट्न नसक्ने सो बेला निकै हल्ला गर्न थाल्दा फागुन १५ अघिसम्म निरन्तर बजार बढ्यो। मूल्य बढेपछि ठूला र टाठाबाढा लगानीकर्ताहरु नाफा बुक गरी बजारबाट निस्कँदा पनि बजारमा उच्च गिरावट आएको हो।

यसअघि करेक्सन भएको बताउने धेरैजसो लगानीकर्ता बजार लगातार घट्न थालेपछि कोरोना र अनावश्यक अफवाह फैलाएर घटाउन थालिएको बताउन थालेका छन्। कोरोना भाइरसका कारण चीनसँगको व्यापार गर्न नपाएका व्यवसायीहरुले शेयर बजारमा अल्पकालका लागि लगानी गरेको फागुन १५ गतेअघि नेप्सेसँगै कारोबार रकममा एकपछि अर्को गर्दै पुराना रेकर्ड तोड्यो। एकैदिन ४ अर्बबढीको शेयर कारोबार भयो।

अल्पकालका लागि भित्रिएका ती लगानीकर्ताहरु समेत बढेको बजारबाट फाइदा सुरक्षित गर्न बिक्रीचाप बढाएका कारण पनि नेप्सेमा उच्च गिरावट आएको हो।

नाम नबताउने शर्तमा एक लगानीकर्ता भन्छन्। जब बजार उच्च बिन्दुमा पुग्यो २।३ वर्षदेखि घाटामा रहेका शेयर ब्रोकरहरुले सातामै ५० लाख बढी मुनाफा आर्जन गरि शेयर बजारबाट बाहिरिए। जसले अहिलेको शेयर बजारमा अस्वभाविक गिरावट खेपेको छ । यो पम्प एण्ड डम्पमा व्यापारिक पृष्ठभुमिबाट शेयर बजार छिरेका र शेयर बजारमा आउनसक्ने जोखिम आंकलन नगरी सूचक बढेर २ हजार माथि पुग्छ र नाफा कमाउँला भनेर लगानी गर्ने नयाँ लगानीकर्ता बढी फसेको एक लगानीकर्ता बताउँछन्।

माने पनि नमाने पनि अहिले पनि नेपालमा ठूला खेलाडी भनेको शेयर ब्रोकरहरु नै हुन्। संस्थागत लगानीकर्ताको न्यून उपस्थिति र म्युचुअल फण्डहरु समेत गैरजिम्मेवार बन्दा अहिलेको अवस्था सिर्जना भएको उनको तर्क छ। उनले फागुन १५ अघिसम्मको बजारको उकालो गति अनपेक्षित रहेकाो दाबी समेत गरे।

एक साताभित्रै एकैदिनमा तीन पटक नकारात्मक सर्किट लागेर बजार बन्द भएपछि यतिबेला कतिपय लगानीकर्तामा त्रास नै बढेको छ। कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित बन्दा चीन र भारतसहितका अन्तर्राष्ट्रिय पूँजीबजारहरु घटिरहेका छन्। तेलको मूल्य घटेको छ भने सुन र डलर भण्डारण गर्न थाल्दा दुबैको भाउ बढेको बढ्यै छ।

नेपालका छिमेकी देशहरु भारत र चीनको अर्थतन्त्रले मुलुकको अर्थतन्त्रमा असर पर्दा नेपाललाई पनि प्रभाव पर्छ । नेप्सेमा सर्किट ब्रेक हुनेगरी गिरावट आएपछि बजारमा करेक्सन आएको हो वा फेरि घट्दो अवस्थामा जान खोजेको हो भन्ने अन्योलमा लगानीकर्ता परेको देखिन्छ ।

  • यस्ता छन् उच्च गुमाउने कम्पनी

नकारात्मक सर्किट लागेको मंगलबारको १४६ कम्पनीको शेयरमूल्य घट्दा ४७ कम्पनीको शेयरमूल्य ५ प्रतिशत धेरैले घटेको छ । नेको इन्स्योरेन्स, एलआईसी, एभरेष्ट इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, नेशनल लाईफ, मञ्जुश्री फाइनान्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन, छिमेक लघुवित्त, शिवम् सिमेन्टस्, नाडेप लघुवित्त र युनाइटेड इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशत बढीले घटेको छ।

यसदिन एनआईबिएल समृद्धि फण्डको इकाईमुल्य ३.७५ प्रतिशतले बढेको छ । यस्तै आरएमडिसी लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड १, घलेम्दी हाइड्रोपावर, युनिभर्सल पावर, बरुण हाइड्रोपावरको १ प्रतिशत बढी र कालिका पावर र मेरो माइक्रोफाइनान्सको शेयरमूल्य पनि सामान्य बढेको छ।

 

प्रकाशित मिति: २७ फागुन २०७६, मंगलबार  १९ : ५५ बजे