पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट

0
Shares

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ । बुधबार बिहान ७ः४५ बजे ठूलो आवाज सहित बम विष्फोट भएको जनाइएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको नवनिर्मित घरमा आज बिहान करिब ७ः४० बजे शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको हो। 

बम फिस्फोटबाट मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घरको पर्खाल भत्किएको छ भने छिमेकी कपिलदेव घिमिरेको घरमा समेत क्षति पुगेको छ । छिमेकमा रहेको घरको सबै सीसा फुटेको छ भने घरको ढोकाको ह्याण्लि समेत खसेको थियो।

सरकारले खरी गर्न लागेको सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड कमिसन काण्डको अडियो सञ्चार माध्यामबाट बाहिरिएपछि नैतिकताका आधारमा बास्कोटाले मन्त्रीपदबाट राजीनामा दिएका थिए।

यद्यपी उनी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएकाले सोे घरमा भने थिएनन्। मन्त्री पदबाट राजीनामा दिएपनि बाँस्कोटा आफ्नो घरमा सरिसकेका थिएनन्।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको,पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसासमेत फुटेको र बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्षति पुगेको उनले जानकारी दिए। घटना कसले घटायो भन्नेबारेमा घटनास्थलमा अहिले प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रनाउ कोइरालाले जानकारी दिए।

बाँस्कोटाको घर क्षेत्रमा मङ्गलबार दिनभर प्रहरीले गस्ती गरेको आज भने बिहानैदेखि प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको स्थानीयवासीको भनाइ छ । बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । ठूलो आवाज निस्किएर बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सेक्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड कमिशन काण्डमा मुछिएपछि उनले राजीनामा दिएका थिए। पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आइरहेका छन्।

भिडियो स्रोत:- तेजेन्द्र भट्टराई

बम विस्फोटको भिडियो सार्वजनिक गर्दै भट्टराईले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्:- ‘म खुशी छैन भ्रष्ट पूर्व मन्त्रीको घरमा बम बिस्फोट भयो भनेर बरु चिन्तित छु देश सुरक्षित छैन भनेर। भक्तपुर, नरेफाँट स्थित गोकुल बाँस्कोटाको घरमा केही मिनेट अघि भएको बिस्फोटको घटना। गोकुल बाँस्कोटाको ७० करोडको विषयमा छानबिन होला नहोला, हुँदा कस्तो होला तर यो घटनाको बारेमा स्पष्ट छानबिन भर्इ दोषिलाई कारवाही होस्।’

प्रकाशित मिति: २८ फागुन २०७६, बुधबार  ०९ : २० बजे