सुन किन्नै नसक्ने अवस्थामा, प्रतितोला ९० हजार रुपैयाँ नजिक

0
Shares

सुन खरीद गर्नेहरुले अब एक तोलाकै ९० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। सरकारले बजेटमार्फत सुनको भन्सार प्रतितोला २ हजार ३२ रुपैयाँ बढाएसँगै सुनको मूल्यले थप आकाश छोएको हो।

हाल देशमा जारी लकडाउनका कारण नेपाल सुनचाँदी व्यवसायी महासंघले गत चैत १० गते यता सुनको भाउ निर्धारण गरेको छैन। यद्यपी बढाइएको भन्सार सुनको मूल्यमा जोडिन्छ र तिर्ने भनेको उपभोक्ताले नै हो।

यता नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बिहीबार सुनको मूल्य तोलाको ८८ हजार ४०० रुपैयाँ तोकेको छ। अन्तराष्ट्रिय बजारमा बढ्दो माग र लगातारको मूल्यवद्धिका आधारमा लकडाउन पश्चात सुन प्रतितोला ९० हजार माथि पुग्ने देखिन्छ।

कोभिड–१९ को मन्दीका कारण अन्तर्राष्ट्रिय लगानीकर्ताहरु सुनमा लगानी गर्न आकर्षित भएपछि हाल अन्तराष्ट्रिय बजारमा नै सुनको भाउले आकाश छोइसकेको छ। अन्य व्यवसायमा गरिएको लगानी चौपट भएपछि लगानीकर्ताको आकर्षण पछिल्लो समय सुन र डलरमा बढ्दो छ।

अर्कोतर्फ अमेरिकी फेडरल बैंकले कोभिड–१९ को मन्दीका कारण निम्तिएको मुद्रा संकुचनको विपरित जोखिमसँग जुध्नका लागि ब्याजदरमा कटौती गरेकाले सुनको मूल्य लगातार रुपमा उकालो लागेको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिआउन्स सुनको मूल्य १ हजार ७१२ अमेरिकी डलर रहेको छ।

लकडाउनको अघिल्लो दिन गत चैत १० गते सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनकोमूल्य ७७ हजार रूपैयाँ, तेजाबी सुनको मुल्य प्रतितोला ७६ हजार ७०० रुपैयाँ, र चाँदी ७२० रुपैयाँ प्रतितोला मूल्य तोकी सोही दरभाउमा कारोबार भएको थियो। त्यसयता मूल्य तोकिएको छैन।

लकडाउन भएको अवधीभरी सुन बजारले २२ अर्ब रुपैँयाँ बराबरको घाटा बेहोरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए । लगातारको लकडाउनले सुन सर्वसाधारणले किन्नै नसक्ने अवस्था आएकाले अबका दिनमा सुनको ब्यापारमा उल्लेख्य कमी आउने महासंघको आंकलन छ ।

यसअनुसार अब लकडाउनपछि सुन खरीद गर्ने लगानीकर्ताहरुले एक तोलाकै लागि १ लाख रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएपनि अनौठो मान्नुनपर्ने व्यवसायीहरु बताउँछन्।