उद्योग वाणिज्य महासंघमा महादंगल, कसको पल्ला भारी ?


नेपाल उद्योग वाणिज्य महासंघ नेपालभरका उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्यमी तथा व्यापारीहरूको पेशागत हकहित संरक्षण एवं उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापित संस्था हो । उक्त संस्था वि.सं २०२२ साल पुस १४ गते स्थापना भएको हो ।

उक्त संस्था वि.सं २०२२ साल पुस ११ देखि १४ गतेसम्म काठमाडौंमा आयोजित प्रथम नेपाल वाणिज्य तथा औद्योगिक सम्मेलनको निर्णयानुसार वि.सं २०२२ साल पुस १४ गते स्थापना भएको हो । स्थापनाकालमा २४ जना मात्र सदस्य रहेको यो संस्थामा अहिले झन्डै ११ सय सदस्य आबद्ध छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले नेपालको उद्योग वाणिज्यको प्रवद्र्धन गर्नुको साथै नेपाली उत्पादनको वैदेशिक व्यापार प्रवद्र्धनमा पनि काम गर्छ । यसले अन्य मुलुकका उद्योग वाणिज्य महासंघहरूसँग सम्पर्क गरी काम गर्ने गर्छ भने कृषि उद्यम केन्द्रमार्फत यसले देशको कृषि उद्यमशीलतालाई प्रवद्र्धन गर्छ ।

हालसम्मका अध्यक्षहरु

हालसम्म १८ जना व्यक्तिले महासंघको नेतृत्व गरिसकेका छन् ।

– लोकनाथ जोशी २०२२ देखि २०२४ 

– जुद्धबहादुर श्रेष्ठ २०२४ देखि २०२८

– पशुपति गिरी २०२८ देखि २०३२ र २०३८ देखि २०४४

– हरिप्रसाद गिरी २०३२ देखि २०३५

– इन्द्रभक्त श्रेष्ठ २०३५ देखि २०३८

– महेशलाल प्रधान २०४४ देखि २०५०

– विनोदकुमार चौधरी २०५० देखि २०५२

– पद्म ज्योति २०५२ देखि २०५४

– आनन्दराज मुल्मी २०५४ देखि २०५६

– प्रदीपकुमार श्रेष्ठ २०५६ देखि २०५८

– रविभक्त श्रेष्ठ २०५८ देखि २०६०

– विनोदबहादुर श्रेष्ठ २०६० देखि २०६२

– चण्डीराज ढकाल २०६२ देखि २०६४

– कुशकुमार जोशी २०६४ देखि २०६७

– सुरज वैद्य २०६७ देखि २०७०

– प्रदीपजङ पाण्डे २०७० देखि २०७१

– पशुपति मुरारका २०७१ देखि २०७३

– भवानी राणा २०७३ देखि २०७७

– शेखर गोल्छा २०७७ देखि तीन वर्ष

महासंघको स्वरूप र निर्वाचन प्रणाली

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी समितिमा ७८ जनाको रहने व्यवस्था छ । मुलुक संघीयतामा प्रवेश गरेपछि महासंघको विद्यान पनि संघीय संरचनाअनुरूप संशोधन गरिएको छ । संशोधित विधानपश्चात् केन्द्रीय कार्यकारिणी समितिको आकार ठूलो बनाइएको हो । जसमध्ये निवर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन् । ६९ जना सदस्य निर्वाचित हुने छन् भने ५ जना मनोनीत सदस्य रहने छन् । निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । त्यस्तै कोषाध्यक्ष कार्यकाररिणी समितिले चयन गर्नेछ ।

महासंघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, जिल्ला र नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट गरी ३ जना उपाध्यक्ष रहनेछन् । संशोधित विधानमा कोषाध्यक्ष पदको पनि व्यवस्था गरिएको छ । कार्यकारिणी समितिका निर्वाचित सदस्यमध्येबाट एक जना कोषाध्यक्ष निर्वाचित गरिनेछ । संस्थापक सदस्यहरूबाट एकजना, निवर्तमान अध्यक्ष पदेन सदस्य र ५ जना अन्य मनोनीत सदस्य रहने व्यवस्था छ ।

महासंघमा एसोसिएटतर्फ १९ जना, वस्तुगततर्फ १४ जना कार्यकारिणी सदस्य रहने व्यवस्था छ । यस्तै, जिल्ला र नगरका उद्योग वाणिज्य संघहरूले खुल्लातर्फ निर्वाचित गरेका १८ जना कार्यकारिणी सदस्य रहनेछन् । प्रदेश उद्योग वाणिज्य संघअन्तर्गत प्रत्येक प्रदेशबाट एक÷एक जना गरी ७ जना, द्विराष्ट्रिय संघतर्फ एक जना कार्यकारिणी सदस्य रहनेछन् । यदि महासंघमा द्विराष्ट्रिय सदस्य संघ २० सदस्य पुगेमा दुई जना कार्यकारिणी सदस्य र एक जना उपाध्यक्ष निर्वाचित गर्ने विधानमा उल्लेख छ । यसो भएमा उपाध्यक्षको संख्या चार पुग्नेछ । तर, अहिले द्विराष्ट्रिय सदस्य संघ २० नपुगेको हुनाले एक जना कार्यकारिणी सदस्यमात्र निर्वाचित गरिनेछ ।

महासंघका संस्थापक सदस्यमध्येबाट एक जना कार्यकारिणी सदस्यमा निर्वाचित हुने व्यवस्था छ । महासंघको कार्यकारिणी समितिले ५ जना सदस्य मनोनयन गर्नेछ । यसमध्ये २ जनामा एक महिला र १ पुरुष अध्यक्षले मनोनयन गर्न पाउने छन् । बाँकी तीन जना कम्तीमा १ महिलासहित कार्यकारिणी समितिले मनोनयन गर्नेछ ।

निवर्तमान अध्यक्ष महासंघको पदेन सदस्य रहने व्यवस्था छ । निवर्तमान अध्यक्ष मर्यादा क्रममा अध्यक्षपछि हुन्छन् । तर, अध्यक्ष अनुपस्थित भए कार्यवाहकको भूमिका भने वरिष्ठताको आधारमा उपाध्यक्षले निर्वाह गर्ने व्यवस्था छ ।

मुलुक संघीयतामा प्रवेश गरेपछि महासंघको विद्यान पनि संघीय संरचनाअनुरूप संशोधन गरिएको छ । संशोधित विधानअनुसार प्रत्येक प्रदेशमा एक÷एक प्रादेशिक इकाइ ९ प्रदेश उद्योग र वाणिज्य महासंघ हुनेछ । प्रादेशिक इकाइका निर्वाचित ७ अध्यक्ष महासंघको कार्यकारिणी समितिमा पदेन सदस्य हुन्छन् । विधानअनुसार सम्बन्धित प्रदेशले नै आफ्नो अध्यक्ष छान्ने छन् । यस्तै, जिल्ला र नगर उद्योग वाणिज्य संघहरूबाट प्रत्येक प्रदेशको प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यकारिणी समितिमा ७ जना सदस्य निर्वाचित गरिनेछ ।

महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा जिल्ला उद्योग वाणिज्य संघका मतदाताको ५० प्रतिशत भार हुन्छ, वस्तुगत संघका मतदाताको २० प्रतिशत र एसोसिएट तथा द्विराष्ट्रिय संघ समेतको ३० प्रतिशत भार हुन्छ । वरिष्ठ उपाध्यक्षले निर्वाचनमा खसेको मतको कम्तीमा ५० प्रतिशत र थप १ मत प्राप्त गर्नुपर्ने हुन्छ ।

शेखर गोल्छा को हुन् ?

शेखर गोल्छा हंशराज एन्ड हुलास चन्द्र समूहका तेस्रो पुस्ताका व्यवसायी हुन् । २०५० सालबाट कार्यकारिणी सदस्यका रूपमा महासंघका प्रवेश गरेका हुन् ।

०५० सालमा गोल्छा बुबा हुलास चन्द्र गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वार बने पनि अन्ति समयमा निर्वाचन लडेनन् र विनोद चौधरी निर्विरोध अध्यक्ष बने । त्यस्तै २०६४ सालमा हुलास चन्द्रपछि उनका छोरा शेखरका दाइ दिवाकर गोल्छा प्रथम उपाध्यक्षको हिसाबले स्वभाविक रूपमा अध्यक्षको दाबेदार थिए । तर, तत्कालीन अध्यक्ष चण्डी ढकालले पुनः अध्यक्ष उठ्ने घोषणा गरेपछि दिवाकर चुनाव लडेनन् । अध्यक्षको दौडबाट बाहिरिन पुगे। ०७३ सालको निर्वाचनमा शेखर गोल्छाले किशोर प्रधानलाई पराजित गरेर तीन वर्षपछि महासंघमा अध्यक्ष बन्ने बाटो खोलेका छन् । महासंघको संशोधित विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने प्रावधान छ । २०५० सालदेखि गोल्छा परिवारले देखेको महासंघको अध्यक्ष बन्ने सपना गोल्छाले पूरा गर्दै छन् ।

नेपालको पुरानो व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनको नेपालमा उद्योग स्थापनाका लागि ठूलो योगदान छ । नेपालको पहिलो उद्योग विराटनगर जुट मिल शेखरका हजुरबुवा रामलाल गोल्छाले सुरु गरेका थिए । विराटनगरबाट सुरु भएको गोल्छा अर्गनाइजेसनको व्यापार देशभर फैलिएको छ ।

सेन्ट जेभियर्सबाट विद्यालयस्तरको अध्ययन पूरा गरेका शेखरले दिल्ली विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक तथा बेलायतको वेस्टर विश्वविद्यालयबाट बिजनेस एडमिनिष्ट्रेसनमा स्नातक गरेका छन् ।

उद्योग वाणिज्य महासंघको राजनीतिमा १२ वर्ष अगाडि प्रवेश गरेका शेखर यसभन्दा अगाडिको कार्यसमितिमा एशोसियटतर्फ उपाध्यक्ष थिए ।

शेखरका चुनौती के हुन् ?

विश्वभर फैलिएको कोरोना संक्रमण र लकडाउनले गर्दा अहिले निजी क्षेत्रको व्यापार व्यवसायमा ठूलो नोक्सानी पुगेको छ । लकडाउनको समयमा निजी क्षेत्रले ९ अर्ब बराबरको नोक्सान व्योहोर्दै आएको छ भने १५ लाख बढी बेरोजगार बनेको छ । कोरोनाबाट अस्तव्यस्त बनेको अर्थतन्त्रलाई समाल्ने पहिलो चुनौती गोल्छाको छ ।

कोरोनाको कारण उद्योग व्यापार व्यवसाय धरासायी हुँदा बैंकको ब्याज, कर, तलब, भाडालगायतका अन्य खर्चहरू तिर्न नसक्ने अवस्था छ । यसबाट उद्योग व्यवसायीलाई राहत दिलाउन नेतृत्व प्रदान गर्नुपर्नेछ । अर्थतन्त्रमा आएको असहज अवस्थाले श्रमिक व्यवस्थापनको मुद्दा पनि शेखरका लागि अर्को चुनौती हो । सम्पत्ति शुद्धीकरण लगायतका विषयमा पनि महासंघको चुनौतीकै रूपमा छन् ।

कुन-कुन पदमा हुँदैछ निर्वाचन ? प्रधान भर्सेस ढकाल, कसको टिममा को ?

नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गते हुने ५४ औं वार्षिक साधारणले नयाँ नेतृत्व चयन गर्दैछ । अध्यक्ष भवानी राणाको कार्यकाल सकिएसँगै महासंघले नयाँ नेतृत्वका लागि निर्वाचन मिति तय गरेको हो । कोरोना संक्रमणको महामहारीका कारण यसअघि चैत २८ र २९ गतेका लागि आह्वान गरेको साधारणसभा कोरोना संक्रमणका कारण लकडाउन सुरु भएसँगै स्थगित गरिएको थियो ।

महासंघको संशोधित विधानअनुसार अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने छन् । त्यसबाहेक वरिष्ठ उपाध्यक्ष, एसोसिएट्स, वस्तुगत र जिल्ला तथा नगरतर्फ गरी तीन जना विषयगत उपाध्यक्ष तथा ६९ जना कार्यकारिणी सदस्यका लागि निर्वाचन हुनेछ ।

को–को भिड्दै छन् ?

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्ने भएपछि निर्वाचनको सबैभन्दा आकर्षण वरिष्ठ उपाध्यक्ष पदका लागि हुनेछ । हाल उपाध्यक्ष रहेकाहरू नै वरिष्ठ उपाध्यक्षको दाबेदार देखिएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रधान जिल्ला र नगरतर्फका उपाध्यक्ष हुन भने ढकाल हाल एसोसिएट्सतर्फका उपाध्यक्ष हुन् ।

वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी किशोर श्रेष्ठ जिल्ला तथा नगर सभापतिमा सर्वसम्मत रुपमै निर्वाचित भएका व्यक्ति हुन् । उद्योग वाणिज्य संंघ मोरङबाट २८ वर्षअघि महासंघको राजनीतिमा आएका उनी अघिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँग पराजित भएका थिए । तत्कालिन जिल्लारनगर उपाध्यक्ष प्रमोद श्रेष्ठ बेनी नगरपालिकाको मेयरमा चुनाब लड्न गएपछि रिक्त रहेको स्थानमा उनलाई सर्वसम्मत चयन गरिएको हो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका चन्द्र ढकाल आईएमई समूहका अध्यक्ष हुन् । हाल एसोसिएट्स उपाध्यक्ष रहेका उनी यसअघि सो पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए । महासंघको एसोसिएटबाट राजनीति सुरु गरेका ढकाल इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य दूतसमेत हुन् ।

कसको प्यानलमा को ?

किशोर प्रधानको प्यानलमा एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै ढकाल प्यानलको एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् ।

महासंघको प्रमुख पदहरू वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालको प्रतिस्पर्धा हुनेछ । यस्तै एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र सांघाई, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ तथा जिल्ला र नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी आमुन्ने-सामुन्ने हुनेछन् ।

एसोसिएट्सतर्फ उम्मेदवारी दिने सौरभ ज्योति ज्योति समूहका सञ्चालक हुन् । अघिल्लो निर्वाचनमा एसोसिएट्स उपाध्यक्षमा उम्मेदवारी दिएका उनले चन्द्र ढकालका लागि सो पद छाडिदिएका थिए । ज्योति महासंघकै पूर्वअध्यक्ष पद्म ज्योतिका जेठा छोरा हुन उनी नाडाको अध्यक्ष हुँदै महासंघ प्रवेश गरेका थिए । उनी हाल महासंघको राजस्व समितिका सभापति छन् ।

अर्का उपाध्यक्ष रामचन्द्र सांघाई भने एनआईसी एसिया बैंकका सञ्चालक छन् । त्रिवेणी समूहका प्रवन्ध निर्देशक उनलाई निकासीमा राम्रो योगदान गरेको भन्दै सरकारले सम्मान पनि गरेको थियो ।

वस्तुगत उपाध्यक्षअन्तर्गत अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । उमेशलाल श्रेष्ठ हालका उपाध्यक्ष हुन्, उनी सोही पदमा दोहोरिन चाहेका छन् । चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने भएपछि उनकै समर्थनमा श्रेष्ठ उपाध्यक्षमा दोहोरिन लागेका हुन् । त्यस्तै अञ्जन श्रेष्ठ हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक हुन् । उनी यसअघि नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष समेत थिए ।

त्यस्तै जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारीबीच प्रतिस्पर्धा हुने भएको छ । श्रेष्ठ यसअघि प्रदीपजंग पाण्डे र पशुपति मुरारकाको कार्यकालमा वस्तुगत उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष समेत हुन् । तिवारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष हुन् । उनी विगत १५ वर्षदेखि महासंघको केन्द्रीय कार्यकारिणी सदस्यका रूपमा क्रियाशील छन् ।

कसको समर्थन कसलाई ?

महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधानको उम्मेदवारीले महासंघ दुई गुटमा विभाजित गरेको छ । किशोर प्रधानलाई आगामी अध्यक्ष शेखर गोल्छाको समेत समर्थन छ । गोल्छाकै उपस्थितिमा प्रधानले उम्मेदवारी घोषणा गरेका थिए । प्रधानलाई पूर्वअध्यक्षहरू पशुपति मुरारका, कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ, प्रदीपजंग पाण्डे, अहिलेकी अध्यक्ष भवानी र अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समर्थन छ ।

यता वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी चन्द्रप्रसाद ढकाललाई महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, सुरज वैद्यको समर्थन छ । चन्द्र ढकालको उम्मेदवारी घोषणासभामा चण्डीराज ढकाल, सुरज वैद्य, प्रदीपजंग पाण्डेका छोरा प्रवलजंग पाण्डे सहभागी भएका थिए ।

विगतमा अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्र ढकाल एउटै समूहमा थिए । त्यो गुटको ‘किङमेकर’ चण्डी ढकाल नै थिए । तर, यसपटक विधान संशोधन गरेर महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने अडान चण्डी ढकालले राखेपछि वरिष्ठ उपाध्यक्ष गोल्छा उक्त अडानका विरुद्ध उभिएका थिए । यसअघि चण्डीराज ढकालले वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छालाई समर्थन गरेका थिए ।