हाइड्रोमा मात्र नभई अन्य क्षेत्रमा पनि लगानी गर्छौं: जीवा लामिछाने, अध्यक्ष, एनआरएन इन्फ्राष्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी

-नोटबजार संवाददाता।
काठमाडौं।
९श्रावण, २०७७, शुक्रबार / Jul 24, 2020 21:40:pm

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष समेत रहेका जीवा लामिछाने पेशाले सिभिल इन्जिनियर हुन् । नेपालका विभिन्न क्षेत्रमा लगानी गरेर आफूलाई एक व्यवसायीको रुपमा समेत स्थापित गरेका लामिछाने पछिल्लो समयमा एनआरएन इन्फ्राष्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको अध्यक्ष हुन् । लामिछानेले नै पहल गरेर स्थापना भएको सो कम्पनीले नेपाल विभिन्न जलविद्युत योजनाहरुमा लगानी गरेको छ । आगामी दिनमा अन्य क्षेत्रमा पनि लगानी गर्ने योजना रहेको बताउने लामिछाने नेपाली पूँजी बजारमा एनआरएनले लगानी गर्न चाहे पनि कानुनी व्यवस्थाका कारण रोकिएको बताउँछन् । आगामी साउन १६ गतेदेखि साधारण शेयर निष्कासन गर्ने तयारीमा रहेको कम्पनीको विषयमा केन्द्रित भई नोटबजारका लागि सुरेन्द्र थापाले गरेको कुराकानी : 

एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेड कम्पनीले साउन १६ बाट ३४ करोड रुपैयाँ बराबरको साधारण शेयर(आईपीओ) जारी गर्दै छ, यो कस्तो प्रकारको कम्पनी हो ?

गैरआवासीय अभियना सुरु हुँदै गर्दा हामीले विदेशमा छरिएर रहेका नेपालीहरुको सीप, पूँजी र ज्ञानलाई नेपालको समग्र विकासमा कसरी समाहित गर्न सकिन्छ भन्ने उद्देश्य थियो । त्यही उद्देश्य अनुसार सन् २०११ मा सोचिएको कन्सेप्ट हो । त्यो समयमा गैरआवासीय नेपाली संघको नेतृत्व मैले नै गरेको थिए । त्यतिबेला एउटा परीक्षण गरौं भनेर गैरआवासीय नेपालीहरुले व्यक्तिगत रुपमा र सानो–सानो समूह बनाएर विभिन्न क्षेत्रमा लगानी सुरुवात गरेका छन् । तर, एउटा ठूलो कम्पनी बनाएर सानो लगानी गर्न चाहने साथीहरुको पूँजी पनि त्यसमा संकलन गरेर एउटा अभ्यास गरौं भनेर मैले मेरो कार्यकालमा एउटा अभियान र एजेण्डाको रुपमा अगाडि सारेको थिएँ । यो कम्पनीमा केही विदेशी कम्पनी चलाउनु भएको साथीहरुको सहभागिता छ । अहिले यो कम्पनीमा झण्डै ८ सय जना साथी छन् । नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिटेड भन्ने कम्पनी २०१३ मा स्थापना भयो । हामीले झण्डै ८० करोड चुक्ता पूँजी जम्मा गरेका छांै । अब यसले देशको भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्ने भनेको छ । देशको समग्र विकासको कुरा गर्दा यो कम्पनी ठूलो होइन् । यसलाई हामीले एउटा परीक्षणको रुपमा सुरु गरेका थियौं र यो सफल भयो भन्ने हाम्रो बुझाई छ ।

एनआरएनहरुले संस्थागत रुपमा लगानी गर्नका लागि कम्पनी स्थापना गरेको देखिन्छ, तर, नेपालको पूँजी बजारको सन्दर्भमा इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गरेको विगत छैन । सर्वसाधारणबाट पैसा संकलन गर्नुपर्छ भन्ने सोच कसरी आयो ?

यो कम्पनी स्थापना गर्दा नै सर्वसाधारणमा शेयर बिक्री गर्ने भन्ने थियो । त्यसको प्रक्रिया पूरा गर्दा केही समय लाग्यो । सुरुवाती चरणमा जलविद्युत क्षेत्रमा फोकस गरेका छौ । यसले अहिलेसम्म चारवटा जलविद्युत आयोजनामा लगानी गरेको छ । पहिलो लमजुङको दोद्री खोला जलविद्युत आयोजनामा लगानी गरेका छौ । त्यसमा यो कम्पनीको संस्थापक शेयरको ५१ प्रतिशत लगानी छ । जसमध्ये ४९ प्रतिशत शेयर आईएमई समूहको छ । वास्तवमा यो प्रोजेक्ट दुई वर्ष अगाडि नै पूरा हुनुपर्ने थियो । तर, विभिन्न अनपेक्षित कारणहरुले गर्दा ढिलो भएको छ । सो योजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । कोभिड–१९ ले गर्दा काम रोकियो । अब रिसेड्युल गरेर यसलाई मंसिरसम्म सम्पन्न गरी विद्युत उत्पादन सुरु हुने देखिन्छ । अरु प्रोजेक्ट पनि दुई अढाइ वर्षदेखि निर्माणकै चरणमा छन् । २०२१ र २०२२ मा ती प्रोजेक्टहरु सम्पन्न हुन्छन् । ती प्रोजेक्टहरु पनि राम्रो ग्रुपले प्रमोट गरेको भएर लगानी गरिरहेका छौ ।

करिब सात वर्ष अघिदेखि नै संस्थापकहरुले लगानी गरेर केही आयोजनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् । योजनाहरुले विद्युत उत्पादन सुरु गरे लगत्तै लगानीकर्तालाई प्रतिफल दिने अवस्था हुने भएकाले साधारण शेयर जारी गर्न लागेका हौ । अब लगानी गर्ने लगानीकर्ताले अर्को वर्षदेखि नै केही प्रतिफल दिने अवस्थामा रहन्छौ । त्यो विचार गरेर नै अहिले आईपीओ जारी गर्न खोजेको हो ।

साधारण शेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड पुग्छ, अहिले नै चार आयोजनामा लगानी गरिसक्नु भएको छ । अन्य आयोजनाहरुमा लगानी गर्नका लागि आवश्यक थप स्रोत कसरी जुटाउनु हुन्छ ?

यो एउटा इन्भेष्टमेन्ट कम्पनी भएकाले निर्माणाधीन परियोजनाहरुमा साझेदारका रुपमा लगानी गर्छ । पहिलो आयोजनामा हाम्रो ५१ प्रतिशत संस्थापक शेयर छ । जस्तै माथिल्लो मैलुङ खोला हाइड्रोपावर, स्विट गंगा हाइड्रोपावर, मध्य तमोर जलविद्युत आयोजनामा लगानी छ । यो कम्पनीले राम्रा ग्रुपले प्रवद्र्धन गरेका आयोजनाहरुमा लगानी गरेको छ । कस्तो आयोजनामा लगानी गर्ने र कस्तोमा नगर्ने भन्ने निर्णयका लागि अध्ययन गर्न छुट्टै टिम छ । आयोजनाहरु पनि लगानीका लागि उपयुक्त छन् भन्ने लागेपछि मात्र हामीले लगानी गरेका छौ । आयोजनाको पूरै फाइनान्सियल क्लोजर यो कम्पनीले गर्ने होइन । नेपालको साझेदारसँग मिलेर काम गर्दै जाने हो । हामी विदेशमा बस्छौ त्यही आएर फिल्डमा गएर काम गर्न सम्भव नहुने भएकाले पनि साझेदारीमा लगानी गर्ने गरेका हौँ ।

भूकम्प तथा कोरोना महामारीको कारणले आयोजनाहरु समयमा सम्पन्न हुन अवस्था छैन । यो अवस्थामा साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताले प्रतिफल पाउन कति समय कुर्नुपर्छ ?

पहिलो प्रोजोक्ट झण्डै ५ अर्बको हो । दोद्री खोला सम्पन्न हुने चरणमा छ । यो प्रोजेक्टले अर्को वर्षदेखि नै आम्दानी गर्ने भएकाले केही प्रतिफल अर्को वर्षदेखि नै दिन सक्ने अवस्थामा हुन्छौ । त्यो आत्मविश्वास भएकाले नै सर्वसाधारणबाट पूँजी संकलन गर्न खोजेका हौं । जलविद्युत आयोजना भनेको दीर्घकालीन लगानी हो । संस्थापकहरुले केही समय धैर्य गर्नुपर्छ भनेर बुझेका छन् । तर, पब्लिकमा गइसकेपछिको दबाब धान्नुपर्ने हुन्छ । सर्वसाधारण लगानीकर्ताको आकांक्षा हामीले पूरा गर्नुपर्ने हुन्छ । पहिलो आयोजनाबाट अर्को वर्षदेखि प्रतिफल आउन थाल्छ । अरु आयोजना पनि एक देखि दुई वर्षभित्रमा सम्पन्न हुने चरणमा छन् । दुई वर्षपछिबाट अहिलेसम्म गरेको लगानीको प्रतिफल आउन सुरु हुन्छ ।

पछिल्लो समयमा जलविद्युत कम्पनीका शेयरप्रति लगानीकर्ताको वितृष्णा पैदा भएको अवस्था छ । तपाईंहरुको पनि हाइड्रोमै लगानी भएकाले आईपीओ बिक्री हुन कठिन देखिन्छ नि ?

सर्वसाधारणको मनोविज्ञानले पनि भूमिका खेल्छ । यो कम्पनीको सन्दर्भमा भन्दा जलविद्युत योजनाहरुमा प्रत्यक्ष लगानी गरेको छैन । हामीले १५–१६ वटा आयोजनाबाट चारलाई मात्र छनौट गरेर लगानी गरेका छौै । धेरै पक्षहरु केलाएर राम्रा मध्येका पनि राम्रा आयोजनाहरु छानेर लगानी गरेकाले प्रतिफल पाउँछौ भन्नेमा ढुक्क छौ । अब आउने दिनमा हाइड्रोमा मात्र सीमित नभएर अरु क्षेत्रमा पनि लगानी बढाउँदै जानेछौ । त्यसैले पनि यो कम्पनीको साधारण शेयरमा लगानी गर्दा जोखिम न्यून भएको हुनाले निर्धक्क भएर लगानी गर्दा हुन्छ ।

म्युचुअल फण्डहरुलाई छुट्टाएका कम्पनीको साधारण शेयरमा ओभर सब्सक्राइब भएको छ । म्युचुअल फण्डहरुले धेरै अध्ययन, अनुसन्धान र विश्लेषण गरेर लगानी गर्छन् । त्यसैले सर्वसाधारणको पनि उल्लेख्य सहभागिता हुन्छ भन्नेमा विश्वस्थ छौं । यो कम्पनीमा गरेको लगानी सुरक्षित हुन्छ । त्यति मात्र नभई लगानीकर्तालाई उपयुक्त राम्रो प्रतिफल दिने अवस्थामा हामी पुग्छौ ।

जलविद्युत कम्पनीहरु निर्माणकै चरणमा आईपीओ जारी गर्छन् । निर्माणको क्रममा कतिपय आयोजनाहरुमा केही समस्याहरु आउँछन् । आयोजनाको लागत बढ्ने, समयमै सम्पन्न नहुनेसम्म भएका छन् । जसले गर्दा आईपीओमा लगानी गरेका लगानीकर्ताहरुको धैर्यता नहुने हुँदा आफ्नो लगानी फिर्ता लिन खोज्छन् । जसले गर्दा बजारमा धितोपत्रको आपूर्ति बढ्दा शेयर मूल्य न्यून हुन जान्छ ।

दोस्रो बजारमा सूचीकृत आधाभन्दा बढी जलविद्युत कम्पनीले राम्रो प्रतिफल दिएको अवस्था पनि छ । मैले पनि केही जलविद्युत कम्पनीहरुको आईपीओमा लगानी गरेको छु । कुनै चिन्ता गर्नुपर्ने छैन । नियमित प्रतिफल दिइरहेको अवस्था पनि छ । हामीले जुन चारवटा आयोजना छनौट गरेर लगानी गरिरहेका छौ । हामीले लगानी गरेका आयोजनाहरुको हकमा यस्तो नहुनेमा हामी विश्वस्थ छौ । पब्लिकबाट पैसा उठाएपछि जलविद्युतमा मात्र नभई अन्य क्षेत्रमा पनि लगानी बढाउँदै लग्ने सोच छ ।

अन्य कस्ता क्षेत्रहरु छनौट गर्नुभएको छ ? कस्ता क्षेत्रलाई प्राथमिकता दिने योजनामा हुनुहुन्छ ?

अहिले हामी अध्ययन र छलफलकै चरणमा छौ । ऊर्जा अन्य क्षेत्रहरु सोलारको पनि हामीले अध्ययन गरिराखेका छौ । जापानको एउटा कम्पनीसँग कुरा भइरहेको छ । यसै गरेर पर्यटन पनि सम्भावना भएको क्षेत्र भएको हुनाले यसमा पनि हामीले होमवर्क गरेका थियौ । तर, कोभिड–१९ ले गर्दा यसमा पुनर्विचार गरेर कृषि क्षेत्रको शीतभण्डार, पूर्वाधार विकासका सम्भावनाहरु छन् । तिनमा पनि विभन्न चरणमा कुरा भइरहेको छ । 

नेपालको शेयर बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने भन्ने कुरा लामो समयदेखि चलिरहेको छ । सरकार र धितोपत्र बोर्डले पनि आफ्नो नीति तथा कार्यक्रममा समेट्दै आएका छन् । अहिले नेपालको शेयर बजारको अवस्था हेर्दा बाहिर बसेर लगानी गर्न सक्ने अवस्था छ ?

नेपालको शेयर बजारमा गैरआवासीय नेपालीले लगानी गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डसँग पटक–पटक कुरा गरेका छौ । तर, हाम्रो जस्तो देश जहाँ विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्रमा ठूलो महत्व राख्छ ।

यसका लागि आवश्यक नियमावली तयार गर्नुपर्छ । यही अवस्थामा गैरआवासीय नेपालीहरुलाई शेयर बजारमा प्रवेश गराउने हो र ठूलो संख्यामा ट्रेड हुन थाल्यो भने शेयर बजारमा उतारचढावहरु आइरहन्छ, यसबाट ठूलो विदेशी मुद्रा देशबाट बाहिरिने अवस्था पनि आउनसक्छ । हाम्रो रिजर्भको ब्यालेन्समा नै असर पर्ने स्थिति पनि बन्न सक्छ । यस विषयमा पनि नियामक निकायहरुले सोच विचार गर्नुपर्ने भएर नै होला तत्कालका लागि गैरआवासीय नेपालीहरुलाई बजारमा प्रवेश गराउन नसकेको हो ।

समग्रमा मैले के पाएको छु, भने शेयर बजारमा गैरआवासीय नागरिकहरुलाई बन्देज लगाउन हुँदैन । हाम्रो जस्तो धेरै विकसित देशहरुले पनि खुला गरिसकेको अवस्था छ । विस्तारै हामी पनि यही लाइनमा जानुपर्छ भन्ने सम्बन्धित निकायहरु कन्भिन्स भएको अवस्था छ । मलाई लाग्छ अझै केही समय लाग्ला । कतिपय चरणमा १० हजार डलरसम्म लगानी गर्न दिनुपर्छ भन्ने खालका कुराहरु पनि भइसकेका छन् । मलाई लाग्छ ढिलोचाँडो हामी पनि प्रवेश गर्छौ होला ।
नेपालको शेयर बजारमा चासो राख्ने गैरआवासीय नेपाली समुदाय धेरै ठूलो छ । किनभने उनीहरुसँग विश्वका विभिन्न बजारमा कारोबार गरेको अनुभव छ । नेपालको बजारमा पनि उनीहरु सहभागी हुने र त्यसबाट लाभ लिने चाहना राखेको पाइन्छ ।

सरकारले गैरआवासीय नेपालीलाई लगानीका लागि खुला गरेको खण्डमा अहिले धितोपत्र बजारमा प्रयोग भएको अनलाइन प्रणालीबाट विदेशमा रहेर पनि कारोबार गर्न सकिने अवस्था रहन्छ ?

नेपालको शेयर बजारमा प्रयोग भएको अनलाइन प्रणाली मैले प्रयोग गरेको छैन । तर, प्रविधि भनेको धेरै ठूलो कुरा होइन । अहिले सिलिकन भ्यालीमा प्रयोगमा रहेका प्रणाली पनि ५–६ महिनाको तयारी पछि तुरुन्तै भित्र्याउन सकिन्छ । मुख्य कुरा नीतिगत तहमा निर्णय भयो भने सिस्टम ल्याउन ठूलो कुरा हो जस्तो मलाई लाग्दैन । सबैभन्दा पहिला त नीतिगत तहबाट निर्णय हुनुपर्यो ।

गैरआवासीय नेपाली संघ मार्फत १० अर्बको बास्केट फण्ड बनाएर नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने कुरा पनि थियो, यो कुरा कहाँसम्म पुगेको छ ?

यो योजना निवर्तमान कार्यसमितिको साथीहरु मूल एजेण्डाको रुपमा अघि बढाउनु भएको हो । मैले जानकारी पाएसम्म धेरै प्रक्रियाहरु पूरा भइसकेका छन् । सन् २०२० को मार्च अप्रिलदेखि नै ग्लोबल क्याम्पियन सहित रोड म्याप अगाडि बढ्ने तयारी भइरहेको मैले जानकारी पाएको छु । बीचमा यो कोभिडको महामारीका जुन अनपेक्षित अवस्था आयो यसले गर्दाखेरी केही समय रोकिएको होला । साथीहरुसँग कुरा गर्दा यो कार्यक्रम आउने क्रममा नै रहेको मैले पाएको छु ।

व्यक्तिगत रुपमा गैरआवासीय नेपालीहरुको लगानी आइरहेको छ, संस्थागत रुपमा पनि लगानी भित्रिएको छ । तर, एकैपटक ठूलो लगानी आएको देखिँदैन नि ?

अहिलेकै अवस्थामा गैरआवासीय नेपालीहरुबाट नेपालमा धेरै ठूलो लगानी भित्र्याउने हैसियत बनिसकेको छैन । हामी केही नेपाली साथीहरुको मात्र ठूलो पूँजी लगाउने सक्ने अवस्थामा पुग्नु भएको छ । शेष घलेजस्ता साथीहरु हुनुहुन्छ, अरु पनि केही साथीहरु ठूलो लगानी ल्याउने अवस्थामा पुग्नुभएको छ । तर, पनि आम गरैआवासीय नेपालीको कुरा गर्ने हो भने अझै पनि सानो–सानो व्यवसाय गरेर मुस्किलले स्थापित हुने प्रयास नै गरिरहेका छौ । एउटै व्यक्ति, एउटै समूह, एउटै कम्पनीले धेरै ठूलो पूँजी ल्याउन सक्ने अवस्था बनिसकेको छैन ।

हाम्रै छिमेकी मुलुकको कुरा गरौं, चीन, भारत, बंगलादेशीहरुको हेर्ने हो भने उनीहरु विदेशमा जाने परम्परा सुरुवात भएको ५ पुस्तासम्म भइसकेको छ । दुई सय वर्षअगाडि ब्रिटिस सामराज्यको बेलादेखि नै उनीहरु बाहिर जाने थाले अहिले उनीहरु एउटै व्यक्ति, एउटै व्यवसायी, एउटै घराना आफ्नो पूर्खाको देश या भनौ मूल देशमा फर्किएर लगानी गर्न चाहे भने अर्बौ लगानी गर्न सक्ने हैसियत उनीहरुको बनिसकेको छ । तर, नेपालीहरु विदेश जाने परम्पराको सुरुवात भएकै २०४६ सालको परिवर्तनपछि हो । यो ३० वर्ष जतिनै भयो नि । अझ ठूलो संख्यामा जान थालेको त २० वर्ष अघिदेखि मात्रै हो । त्यसमा धेरैजसो वैदेशिक रोजगारीमा गएका छन् । कि पढ्नका लागि भनेर गएर छन् । यो समुदाय विदेशमा बसेर त्यहाँको सबै कुराहरु बुझेर, त्यहीँ केही कामहरु गरेर शून्य पूँजीबाट सुरुवात गरेर भर्खरै मात्र खुट्टा टेक्ने अवस्थामा पुगेको छ । त्यति हुँदाहुँदै पनि आफ्नो मूल देशलाई सम्झेर केही न केही लगानी गरेका छन् । विभिन्न परोपकारी कामहरु गरेका छन् । यसमा पनि हामी कहीँ कतै चुक्यौ कि, आफ्नो क्षमताभन्दा बढी लगानी भित्र्याउन सक्छौ भने प्रतिबद्धता गर्याैकि अथवा हामीबाट बढी अपेक्षा भयो कि भन्ने मलाई लाग्छ ।

तर, म के आशावादी छु भने संख्यात्मक र गुणात्मक रुपमा विश्वभरि जुन नेपाली समुदाय बढिरहेको छ । यो समुदायले आठ दश वर्षपछि चाहिँ यहाँहरुले अपेक्षा गरे अनुसारको लगानी भित्र्याउन सक्ने हैसियत राख्छ भन्ने मैले देखेको छु । विभन्न देशमा जाँदा आजभन्दा १० वर्ष अघि एउटा रेष्टुरेन्ट, एउटा ग्रोसरी पसल सुरु गरेर काम गर्ने साथीहरुसँग आज २० देखि ५० वटासम्म त्यही लाइनका बिजनेस छन् । अरु पनि बिजनेसमा उनीहरु लागेकोे अवस्था छ । उनीहरु अबको ८–१० वर्षमा राम्रैसँग स्थापित हुनसक्ने धेरै ठूलो समुदाय तयार हुँदैछ । उनीहरुले १० वर्षपछि विभिन्न क्षेत्रमा ठूलो लगानी गर्नसक्ने हैसियत बनाउँछन् भन्ने मैले देखेको छु ।

तपाईंले व्यक्तिगत रुपमा कुनै प्रोजेक्टमा लगानी गर्ने सोच बनाउनु भएको छ कि छैन ?

हामीले सानिमा ग्रुप मार्फत केही कामहरु गर्दै गइरहेका छौ । आजभन्दा २०/२२ वर्ष अगाडि सिन्धुपाल्चोकमा एउटा आयोजनाबाट सुरु गरेको हो । त्यसपछि बैंकिङ क्षेत्रमा प्रवेश गर्यौै इन्स्योरेन्स कम्पनी पनि सुरु गरिएको छ । गत वर्षदेखि पर्यटन व्यवसायमा पनि जानुपर्यो भनेर होटल व्यवसाय पनि सुरु गरेका छौ । अहिले तत्कालै तीनवटा आयोजना निर्माणको चरणमा छन्, त्यो कुल ११६ मेगावाट हो । तर, अहिले तुरुन्तै नयाँ प्रोजेक्ट भने हामीले बनाएका छैनौं ।

कोभिडको अवधिमा तपाईं जर्मनीमा हुनुहुन्छ । कोभिडपछिको अर्थतन्त्रलाई उकास्नका लागि जर्मनीमा भएको अभ्यास र नेपालमा भएको अभ्यासलाई कसरी हेर्नुभएको छ ? अहिलेको अवस्थामा नेपालको अर्थतन्त्र उकास्न अब के गर्नुपर्ला ?

यता र त्यताको तुलना गर्दा यहाँ स्रोत साधान नै धेरै छ । विशेष गरी जर्मनीको कुरा गर्दा मार्च १६ मा लकडाउन घोषणा गर्ने बित्तिकै उनीहरुले यसले अर्थतन्त्रमा कस्तो असर गर्छ र यसलाई न्यूनीकरण गर्नका लागि हरेक नागरिकहरुलाई कसरी राहत दिन सकिन्छ भनेर धेरै किसिमका प्याकेज आए । यहाँका व्यवसायीलाई राहत स्वरुप तुरुन्तै आर्थिक प्याकेज घोषणा गरियो । साना–साना उद्योगहरुलाई बिना कागजी झन्झट ९ हजारदेखि लिएर ३० हजार युरोसम्म प्रदान गरियो ।

यसैगरी काम गर्ने व्यक्तिहरुलाई पनि ६० प्रतिशतदेखि लिएर ६७ प्रतिशतसम्म तलब दिने व्यवस्था गरियो । कम्पनीहरुले आफ्नो कामदारलाई काम दिन नसक्ने अवस्था भएकाले निकालिएको छैन । जर्मन सरकारले रोजगारी फण्डबाट एक हजार युरो तलब पाउनेले ६ सय युरोसम्म दिने व्यवस्था गर्यो ६ महिनासम्म । अब अगस्टदेखि ८० प्रतिशतसम्म पुर्याउने भन्ने कुरा आइसकेको छ । यस्तै विभिन्न उद्योग व्यवसायलाई पनि त्यसको प्रोफाइल, ब्यालेन्ससिट हेरेर त्यही अनुसार कर्जा सहयोग दियो । ऋण पनि ५/६ वर्षमा प्रयोग गर्नुपर्ने, सुरुको दुई वर्ष ब्याज मात्र तिनुपर्ने, ब्याजदर पनि एक प्रतिशतदेखि लिएर दुई प्रतिशतसम्म मात्र छ । यिनीहरुसँग स्रोत भएर यस किसिमको व्यवस्था गरे । तर, हामीसँग चाहेर पनि त्यो गर्ने व्यवस्था छैन ।

भर्खरै गत साता मात्रै राष्ट्र बैंकबाट जुन मौद्रिक नीति आएको छ, त्यो अत्यन्तै सोचविचार गरेर आएको छ । नेपालको निजी क्षेत्रलाई कसरी उकास्न सकिन्छ भन्नेमा जोड दिएको पाएँ । हाम्रो नेपालको सन्दर्भमा हेर्दा राज्यले गर्न सक्ने धेरै कुराहरु त्यहाँ समेटिएको छ जस्तो लाग्छ । मौद्रिक नीति हेर्दा विपतको अवस्थामा आफ्नो क्षमता अनुसारको राहत प्याकेजहरु आएको छ । यो सकारात्मक लागेको छ ।

तपाई एक व्यवसायी, इन्जिनियर र पछिल्लो समयमा साहित्य यात्रामा पनि उदाउनुभएको छ । यहाँको साहित्यिक यात्रा कसरी अघि बढ्दैछ ?

म यात्रा गर्न एकदमै मन पराउने मान्छे हो र साहित्य मेरो रुचिको विषय हो । म आफै पनि पछिल्लो समयमा अलिअलि लेख्न थालेको छु । विशेष गरी म धेरै यात्रा गर्ने भएकाले यात्रा साहित्य बढी मन पर्छ । मेरो मैले पुस्तक सन् २०१६ मा नेपालयबाट प्रकाशित भएको सरसर्ती संसार, दोस्रो पुस्तक फाइन प्रिन्टबाट देश–देशावर प्रिन्ट भएर आइसकेको छ । यसलाई मार्चमा काठमाडौंमा लन्च गर्ने योजना थियो । तर, कोभिड–१९ का कारण पुस्तका छापिएर आए पनि सार्वजनिक गर्न सकेका छैनौ । लकडाउन पनि खुलिसकेको छ मलाई लाग्छ अब छिट्टै यसलाई सार्वजनिक गर्छौ । देश–देशावर पनि नियात्रा सम्बन्धी कै पुस्तक हो । यो छिट्टै बजारमा आउँछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 


Share on:


Comments