शेयरमा बुक बिल्डिङ्ग आउँदा लगानीकर्ता, कम्पनी र बजार सबैलाई फाइदा

-तिलक कोइराला, शेयर लगानीकर्ता
काठमाडौं।
२९श्रावण, २०७७, बिहीबार / Aug 13, 2020 10:36:am

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनहरुमा स्वतन्त्र मूल्य निर्माण अर्थात बुक बिल्डिड विधि लागू गरेपछि केही लगानीकर्ताका फरक धारणहरु आएका छन् । बुक बिल्डिङ्गले साना लगानीकर्तालाई मर्कामा पारेर ठूलो लगानीकर्तालाई मात्र फाईदा पुर्याउछ भन्ने हुँदैन् ।

विगतमा नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, पोखरा फाइनान्स, बैंक अफ काठमाण्डू , एनएमबी बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, शिवम सिमेन्ट जस्ता कम्पनीहरुको एफपीओ र आईपीओमा जसरी मूल्य निर्माण गराएको थियो । त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न र आगामी दिनहरुमा राम्रा कम्पनीहरुलाई शेयर बजारमा आउन प्रोत्साहित गर्न लगानीकर्ताहरुकै जोडबलमा यो विधि आएको हो । लगानीकर्ताको आन्दोलनपछि अर्थ मन्त्रालयको अध्ययन समितिले सिफारिस गरेको ५८ बुँदेमा स्पष्ट रुपमा बुक बिल्डिङ्गबारे ब्यवस्था गरिएको छ । ।

बुक बिल्डिङ्ग अर्थात कम्पनीहरुले बिक्रीमा ल्याउने आईपीओ र एफपीओको मूल्य निर्माण प्रणाली कार्यान्वयनमा आएपछि पनि कयौं कम्पनीहरुको आईपीओ एक सय वा अंकित मूल्यमा नै पाइन्छ ।

उच्च नेटवर्थ भएका कम्पनीहरुको मात्र आईपीओ प्रिमियम मूल्यमा आउने हो, नत्र सामान्य नेटवर्थ भएका कम्पनीहरुले अंकित मूल्यमा नै शेयर बिक्री गर्नुपर्ने बाध्यता हुन्छ किनभने त्यस्ता कम्पनीहरुको शेयरमा योग्य संस्थागत लगानीकर्ताले मूल्य कबुलेर महंगोमा शेयर किन्ने प्रत्याभुति दिदैनन्।

बुक बिल्डिङ्गबारे धितोपत्र बोर्डको नियम कडा छ । धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा चौथौं संशोधन गरेर बुक बिल्डिङ्गका लागि कानूनी आधार तयार पारेको छ, जुन २०७६ फागुन १ गतेदेखि लागू भएको हो । बोर्डले हालै जारी गरेको निर्देशिकाले यसलाई थप ब्याख्या गर्दै बुक बिल्डिड। मार्फत शेयर निश्काशनको बाटो खोलेको छ ।

कस्ता कम्पनीको शेयरमा स्वतन्त्र मूल्य निर्धारण हुन्छ ? भन्ने प्रश्न धेरै महत्वपूर्ण छ ।

बुक बिल्डिङ्गबाट आईपीओ निष्काशन गर्न कम्पनी लगातार तीन आर्थिक बर्षदेखि नाफामा सञ्चालन भएको, साधारणसभाले सो विधिबाट आईपीओ निष्काशन गर्न अनुमति दिएको, प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत रहेको र औसत वा औसतभन्दा माथि रेटिङ पाएको हुनुपर्ने व्यवस्था छ । यो मापदण्ड जुन पायो त्यही कम्पनीले पुरा गर्न गाह्रो छ । जसले यसलाई पुरा गर्न सक्दैनन्, उनीहरुले प्रति कित्ता १०० रुपैयाँ वा अंकित मूल्यमै वा निर्धारित प्रक्रियामा भित्र रहेर प्रिमियममा शेयर बिक्रीमा ल्याउने हो ।

उच्च नेटवर्थ भएका कम्पनीको शेयरको मूल्य निर्माण र शेयर बिक्रीमा स्वार्थ बझाई नहोस् भनी धितोपत्र बोर्डले कडा व्यवस्था गरेको देखिएको छ । कम्तिमा १० वटा कम्पनीबाट आशयपत्र पेश भएको हुनुपर्ने र स्वार्थ बाझिएका कम्पनीले योग्य संस्थागत लगानीकर्ताको रुपमा भाग लिन नपाउने व्यवस्था गरिएको देखिएको छ ।

अख्तियार प्राप्त योग्य संस्थागत लगानीकर्ताहरुले आईपीओ ल्याउने कम्पनीको शेयरमा कतिसम्म मूल्य कबुल्ने भनी विशेषज्ञबाट अध्ययन गराई निर्णय गर्छन र प्रतिस्पर्धामा सहभागी हुन्छन् । उनीहरुले जुन कट अफ बिन्दुमा मूल्य कबुल्छन्, त्यही मूल्यमा आईपीओको मूल्य निधारण हुन्छ । 

बुक बिल्डिङ्गको सार्वजनिक निष्काशनमा सार्वजनिक निष्काशनमा आवेदन दिन आग्रह नगरी वित्तीय संस्थाहरु, कर्पोरेसन वा उच्च नेटवर्थ भएका व्यक्तिहरुमार्फत आवेदन स्विकार गरिन्छ । यसका लागि धितोपत्र बोर्डले १० करोडभन्दा बढी नेटवर्थ भएका धितोपत्र ब्यापारी वा लगानी कम्पनीहरुलाई समेत तोकेको छ। यस विधिबाट आईपीओको मूल्य निर्धारण गर्दा ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई र बाँकी ६० प्रतिशत सर्बसाधारण लगानीकर्तालाई शेयर बिक्री गरिन्छ।

राम्रा कम्पनीको शेयर एक सय रुपैयाँमै किन्न नपाइने भन्ने कुरा चाहिँ सत्य हो तर यसले शेयर बजारमा आउने राम्रा कम्पनी र बजार दुबैलाई फाइदा गर्छ । मूल्य निर्माणसहित शेयर बिक्रीमा ल्याउन पाउँदा उच्च नेटवर्थ भएका, राम्रा र उत्पादनमूलक वा वास्तविक क्षेत्रका कम्पनीहरु शेयर बजारमा आउन उत्साहित हुनेछन् । यसले अहिले बैंक तथा वित्तीय संस्थाहरुको ७० प्रतिशत भन्दा बढी हिस्सा रहेको शेयर बजारलाई विविधिकरण गर्न सहयोग पुग्ने छ भने राम्रा कम्पनीहरुले सर्बसाधारणमा शेयर बिक्री गरेर नाफा पनि वितरण गर्दा जनता धनी हुँदै जाने छन्।

अहिले १० कित्तेको आरोप खेपेका लगानीकर्ताले बुक बिल्डिङ्गमा भने कम्तिमा ५० कित्ता शेयर पाउने छन् । मूल्य महंगो पर्ला तर योग्य संस्थागत लगानीकर्ताले तिरेको मूल्य भन्दा १० प्रतिशत सस्तोमा सर्बसाधारण लगानीकर्ताले शेयर हात पार्न सक्छन् । योग्य संस्थागत लगानीकर्ताहरुले ब्यापक अध्ययन विश्लेषण गरी निर्धारण गर्ने शेयर मूल्यमा लगानीको जोखिम समेत कम हुन्छ । सर्बसाधारण लगानीकर्ताहरुको हल्ला र अफवाहमा लाग्ने प्रबृत्ति हुन्छ तर संस्थागत लगानीकर्ताहरुले विना आधार जोखिम लिदैनन् । यसबाछ सर्बसाधारण लगानीकर्तालाई निर्णय लिन र शेयरमा मूल्य स्थिरता कायम गर्न समेत सहयोग पुग्छ ।

सूर्य नेपाल, एनसेल, चौधरी समूहका कम्पनीहरु, डावर नेपाल लगायतले शेयर बजारमा आउदा आफ्नो नेटवर्थको सही मूल्यमा शेयर बिक्री गर्नसक्छन्, जसले यस्ता कम्पनीहरुको शेयर बजार प्रबेशलाई प्रोत्साहित गर्छ । शेयर बजार गए गुज्रेका र कहिल्यै लाभांश नदिने कम्पनीहरुको डम्पिड। साईट हैन भन्ने कुरा त्यसपछि प्रमाणित हुन्छ । बुक बिल्डिङ्गले शेयर बजारमा संस्थागत लगानीकर्ताको बाहुल्यता बढ्छ । राम्रा कम्पनीको शेयर हात पार्न कम्पनीहरु बजार प्रबेशमा तछाड मछाड गर्न थाल्छन् ।

४० प्रतिशत शेयर संस्थागत लगानीकर्ताको नियन्त्रणमा जाने हुँदा बजारमा आपुर्तिको अबस्था नियन्त्रण भई मूल्य स्थिरतता कायम हुन्छ किनभने बुक बिल्डिड प्रणाली अन्तर्गत शेयर धारणा गरेका संस्थागत लगानीकर्ताले कम्तिमा ६ महिनासम्म आफुले पाएको शेयर दोस्रो बजारमा बिक्री गर्न पाउने छैनन् ।

कम्पनी संचालक र प्रबद्र्धकले धेरै मेहनत गरेर आफ्नो कम्पनी राम्रो बनाएको हुन्छ, उसलाई प्रतिकित्ता १०० रुपैयाँमै शेयर बिक्रीमा ल्याऊभन्दा अन्यायपूर्ण नै हुन्छ । राम्रो कम्पनी छ भने स्वतन्त्र मूल्यांकन मार्फत राम्रो मूल्यमै आओस, नराम्रो वा कमशल कम्पनी छ भने अंंकित मूल्यमा नै आओस भन्नु एकदम सही कुरा हो । एउटा ब्यक्तिले १०० जनाको नाममा शेयर आबेदन गर्ने र हरेकको भागमा १० कित्ता बटुलेर कमाउने प्रबृत्ति कायम राखेर पूँजी बजारको बिकास हुँदैन ।

विकशित देशका शेयर बजारमा बुक बिल्डिड। सहितका मूल्य निर्माण विधिहरुमार्फत सार्वजनिक निष्काशन हुन्छन् । त्यस कारण पनि त्यहाँको बजारमा संस्थागत लगानीकर्ताको पकड बलियो हुन्छ र बजारले स्थायित्व प्राप्त गरेको हुन्छ । हाम्रो जस्तो सर्वसाधारण लगानीकर्ताको बाहुल्यता भएको बजारमा जस्तो त्यहाँ रुवाबासी कमै सुनिन्छ ।त्यसैले बुक बिल्डिङ्ग जस्तो उन्नत विधिको विरोध गरेर रुवाबासी नगरौं । उपलब्धिको स्वामित्व ग्रहण गरौं ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments