निषेधाज्ञामा पनि शेयर बजार खुल्ने, कर्मचारी व्यवस्थापन कसरी ? नियामकलाई नै थाहा छैन

0
Shares

काठमाडौं उपत्यकाभित्र स्थानीय प्रशासनले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरे पनि शेयर बजार भने खुला हुने भएको छ ।

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्चका उच्च अधिकारीहरुले निषेधाज्ञा जारी गरिए पनि शेयर कारोबार बन्द नहुने बताएका छन् । बोर्ड तथा नेप्सेले ब्रोकर, मर्चेन्ट बैंकर तथा सिडिएससीलाई न्यूनतम कर्मचारीबाट कारोबार गराउन निर्देशन दिएको छ ।

तर, बजार संचालन गराउन कार्यालयसम्म पुग्ने न्यूनतम कर्मचारीहरुका लागि आवागमनमा अवरोध नपुग्ने गरी नियामक निकायले कुनै तयारी नगरेको पाइएको छ । गृह मन्त्रालयका अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आवागमनमा सहजीकरण गरिदिन परिपत्र गरेको छ ।तर धितोपत्र बजारका सम्बन्धमा नियामक निकायबाट कुनै किसिमको पत्र नआएको गृह मन्त्रालय स्रोतले नोटबजारलाई जानकारी दिएको छ ।

उता नेपाल धितोपत्र बोर्डले भने शेयर ब्रोकर, मर्चेन्ट बैंकर तथा सिडिएससीलाई शेयर बजार सुचारु राख्न निर्देशन दिएको छ । यो अवस्थामा नियामकले दिएको निर्देशन अनुसार शेयर बजार सञ्चालन गर्नु पर्ने बाध्यतामा शेयर ब्रोकर तथा मर्चेण्ट बैंकरहरु छन् । धितोपत्र बोर्डले भने फोटो सहितको परिचयपत्रका आधारमा कर्मचारी कार्यालय पुग्न सक्ने भन्दै निर्धक्क भएर तयारी अवस्थामा रहन निर्देशन दिएको छ । तर गृह मन्त्रालयले भने धितोपत्र बोर्डले सहज मानेको जसरी बजार सम्बद्ध संस्थाका कर्मचारीले आवागमन गर्न नसक्ने बताएको छ ।

मन्त्रालयको यो भनाईलाई आधार मान्दा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले मर्चेण्ट बैंकर र ब्रोकरका कर्मचारीको आवागमनमा मन्त्रालयसँग कुनै समन्वय नगरेको देखिएको हो । यति मात्र नभई परिस्थितिलाई सहज मानेका कारण उनीहरु बजार सञ्चालन तथा राफसाफ प्रकृयालाई पूर्णता दिन कति कर्मचारी चाहिन्छन्, ति कर्मचारीलाई कसरी आवागमन गराउने भन्नेमा जानकार नभएको देखिएको हो ।

धितोपत्र बजारका नियामक निकाय बोर्ड र नेप्सेले न्यूनतम कर्मचारीबाट बजार खोल्न निर्देशन दिएर चुप लागेर बसेपछि यस्तो अवस्था उत्पन्न भएको हो । बोर्ड र नेप्सेका अधिकारीहरुले अनलाइनबाट कारोबार गर्न निर्देशन मात्र दिएका छन् ।

लगानीकर्ताहरु समेत बजार खुलाउने र नखुलाउने कुरामा विभाजित देखिएका छन् । अनलाइनमा अभ्यस्त लगानीकर्ताहरु बजार खुलाउनुपर्ने पक्षमा देखिन्छन् भने सोझै ब्रोकरमा गएर, फोन गरेर कारोबार गर्दे आएका लगानीकर्ताहरु भने आवगमनमा अवरोध रहेसम्म बजार खुलाउन नहुने तर्क गर्छन् ।

यता मर्चेन्ट बैंकर तथा ब्रोकरहरुले भने बजार संचालनका लागि कार्यालयसम्म कम्तीमा ३ जना कर्मचारी पुग्नुपर्ने भन्दै उनीहरुका लागि कुनै पासको व्यवस्था नभएको गुनासो गरेका छन् । ‘कार्यालय खोल्न जाने कर्मचारीलाई बीचमै प्रहरी र ट्राफिकले अवरोध गरेमा यसको जिम्मेवारी कसले लिन्छ ? बजार खोल मात्र भनेर हुन्छ ? बजार खोल्ने कर्मचारीका लागि आवश्यक प्रबन्ध मिलाइदिनु पर्दैन ?’ एक ब्रोकरले नोटबजारसँग भने । ‘ब्रोकर कम्पनीको आईडिमा सेक्युरीटीज लेखिएको हुन्छ । सेक्युरीटी र सेक्युरीटीज बारे बुझाउन नै समस्या छ । हाम्रा कर्मचारीलाई वैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेका कम्पनीका कर्मचारीको रुपमा लिने गरेको भेटिएको छ । यसले हामीलाई झनै असजिलो हुने देखियो’ अर्का एक ब्रोकरले नोटबजारसँग गुनासो गरे ।

ब्रोकरको मात्र नभई मर्चेन्ट बैंकरहरुको दुखेसोे पनि उस्तै छ । ‘नियामक निकायले बजार खोल भने पनि बजार सञ्चालनका लागि कार्यालयसम्म पुग्ने कर्मचारीका लागि आवगमनमा बाधा नपुर्याउन सरोकारवाला निकायसँग पहल गरेको देखिएन । सरकारले एक दिन अगाडि नै निषेधाज्ञाबारे जानकारी गराउँदा पनि बोर्ड र नेप्सेले कानमा तेल हालेर बसे, हामीले आग्रह गर्दा पनि सम्बन्धित निकायसँग समन्वय गर्न तत्तपरता देखाएनन् । यस्तो गैरजिम्मेवार पाराले कसरी हुन्छ ?’ उनले नोटबजारसँग गुनासो पोखे । ‘कम्तीमा स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरेर बजारसँग सम्बन्धित संस्थाका कर्मचारीहरुलाई अवरोध नगर्न आग्रह गर्न सकिन्थ्यो । त्यो समेत गरेको पाइएन ।’ उनले आक्रोश पोखे ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले अनलाइन मार्फत शेयर कारोबार गर्न सकिने अवस्था भएकाले बजार बन्द नहुने जानकारी दिए । उनले शेयर बजारसँग सम्बन्धी कार्यालयहरुमा जाने सीमित कर्मचारीलाई फोटोसहितको परिचयपत्र देखाएपछि हिँड्डुलमा कुनै अवरोध नहुने बताए । तर, धितोपत्र बजार संचालनका लागि कार्यालय आउने जाने कर्मचारीलाई बाटोमा सहजीकरण गरिदिनका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा गृह मन्त्रालयसँग विशेष आग्रह नगरिएको उनले स्वीकार गरे ।

‘बजार सम्बद्ध सस्थाका कार्यालय पुग्नै पर्ने सीमित कर्मचारीको आवागमनमा असहज परिस्थिति आएको खण्डमा हामी सबै निकायमा समन्वय गर्छौ, अहिले हामीले फोटो सहितको परिचयपत्र लिएर कार्यालय जान भनेका छौं’ बोर्ड अध्यक्ष ढुङ्गानाले भने ।

यता ट्राफिक प्रहरी महाशाखाले भने शेयर बजार सम्बद्ध संस्थाका कर्मचारीको आवागमनका विषयमा कतैबाट कुनै जानकारी नआएको बताएको छ । महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले यस सम्बन्धमा महाशाखालाई कुनै जानकारी नभएको नोटबजारलाई बताए ।

कर्मचारी आवागमनमा अवरोध उत्पन्न भएको अवस्थामा अनलाइन कारोबार प्रणाली सञ्चालन गर्न सकिने भए पनि मेरो शेयरबाट हुने राफसाफको काम गर्न समस्या हुने शेयर ब्रोकरहरुको भनाई छ । यसमा निक्षेप सदस्यहरुले पनि मेरो शेयरबाट प्रविष्ट हुने राफसाफको विवरणमा प्रमाणीकरण गर्नुपर्ने भएकाले समस्या देखिन सक्ने भएको हो ।

धितोपत्र कारोबार गर्नका लागि नेप्से, सीडीएस तथा ब्रोकरका सीमित कर्मचारी कार्यालय जानुपर्ने हुन्छ । कामको प्रकृतिका विषयमा बुझाएको खण्डमा कर्मचारीलाई कार्यालयसम्म जान कुनै अवरोध नहुने बताइए पनि आवश्यक प्रबन्ध मिलाउन भने बोर्ड चुकेको देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।