गुराँस लाइफको लिलामी शेयर खातामा नआउँदै ‘कटअफ’ भन्दा तल झर्यो मूल्य


सूचीकृत कम्पनीहरुले लिलामी प्रकृयाबाट बिक्री गर्ने शेयरमा आवेदन गर्दा चनाखो बन्न सकिएन भने त्यहाँ पनि नोक्सान व्यहोर्नु पर्ने अवस्था आउँछ । लिलामीमा राखिएको शेयर पाउनै पर्ने मानसिकता सहित शेयर आवेदन गर्दा नोक्सानी व्यहोर्नु पर्ने अवस्थामा लगानीकर्ता पुग्ने गरेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ, गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयर ।

गुराँस लाइफले शतप्रतिशत हकप्रद निष्काशन गर्दा बिक्री नभएको २ लाख ५२ हजार कित्ता साधारण शेयर लिलामीमा राखेको थियो । दोस्रो बजारमा नै प्रतिकित्ता शेयर मूल्य ६०० रुपैंयाको हाराहारीमा रहेको कम्पनीको लिलामी शेयरमा ६०६ रुपैंयाभन्दा महँगो मूल्यमा शेयर आवेदन पर्यो । महँगो मूल्यमा अधिक आवेदन परेका कारण तल्लो मूल्यमा शेयर आवेदन गर्नेहरुले शेयर पाउन सकेनन् ।

बुधबार दोस्रो बजारमा गुराँस लाइफको कटअफ मूल्यभन्दा तल झरेर शेयर कारोबार भएको छ । प्रतिकित्ता शेयरको कटअफ मूल्य ६०६ रुपैंया कायम भएकोमा दोस्रो बजारमा ६०० रुपैंयासम्ममा कारोबार भएको छ । लिलामी शेयर बाँडफाँड भए पनि अहिलेसम्म लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छैन ।

यस आधारमा हेर्दा लिलामी शेयरमा आवेदन गरेकाहरुले बुधबारसम्ममा आउँदा नाफा कमाउन सक्ने अवस्था देखिँदैन । लिलामी शेयरको बोलकबोल खोलेका दिन मात्र इन्स्योरेन्सको प्रतिकित्ता शेयर ६१४ रुपैंयामा कारोबार भएको थियो ।

दोस्रो बजारको कारोबार मूल्य नजिक पुगेर अधिक शेयर माग गरेका कारण नै कटअफ मूल्य ६०६ रुपैंया कायम भएको थियो । त्यस पछिका दिनमा बजार सुस्त गतिमा ओरालो लाग्दै गर्दा शेयर मूल्यमा पनि गिरावट आएको हो ।

बुधबार गुराँस लाइफको कुल १२ हजार ५८७ कित्ता शेयर कारोबार भएको छ । ६०७ रुपैंयामा खुलेको गुराँसको शेयर कारोबार ६०० रुपैंयासम्म घटेर फेरी सुधारिँदै ६०८ रुपैंयामा बन्द भएको छ । मंगलबारको तुलनामा इन्स्योरेन्सको प्रतिकित्ता शेयर मूल्य २ रुपैंयाले घटेको हो । बजार परिसुचक नेप्सेमा बजार खुले पछि आएको गिरावटका क्रममा इन्स्योरेन्सको शेयर मूल्यमा पनि गिरावट आएको थियो । क्रमिक रुपमा बजारमा केही सुधार देखिँदै गर्दा फेरी इन्स्योरेन्सको शेयर मूल्यमा केही सुधार आएको थियो । यद्यपी अन्तिम समयमा बजार केही अंकको गिरावट सहित बन्द भएको छ ।

दोस्रो बजारमा भइरहेको कारोबारको अवस्थालाई ध्यान नदिई लिलामी शेयरमा आवेदन गर्दा नाफा कमाउने अवस्था बन्न नसक्ने अवस्था आउन सक्छ । गुराँस लाइफको शेयर लिलामीबाट सिक्नु पर्ने विषय यो हो कि, लिलामी शेयरमा आवेदन गर्दा शेयर पाउने भन्दा पनि आफुलाई नाफा हुने मूल्यमा मात्र शेयर आवेदन गर्नु पर्ने हुन्छ ।

यसरी शेयर आवेदन गर्दा कट अफ मूल्य माथि रहेर शेयर नपरे पनि आफुले गर्न खाजेको लगानी सुरक्षित रहन्छ । अहिले पनि केही कम्पनीहरुले हकप्रदमा बिक्री नभएका शेयर लिलामीमा राखिरहेका छन् । त्यस्ता शेयरमा आवेदन गर्दा दोस्रो बजारको मूल्य, प्रतिफलको औसत लगायतका विषयमा जानकार भएर आफुले आवेदन गर्ने शेयर मूल्य गणना गर्नु उचित हुन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।