मर्जरको ढोका खुला राख्दै पोखरा फाइनान्सको लाभांश पारित, नयाँ संचालक चयन

0
Shares

पोखरा फाइनान्सको पोखरामा सम्पन्न २३ औं वार्षिक साधारण सभाले गत आर्थिक बर्षको लाभांश पारित गरेको छ ।

फाइनान्सले चुक्तापूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र प्रतिशेयर ७.२० प्रतिशतका दरले नगद लाभांश गरी कुल १४.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभा प्रयोजनको लागि फाइनान्सले पुस ४ गतेदेखि बुक क्लोज गरेको थियो । जस अनुसार पुस ३ गतेसम्म कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् । बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी ९१ करोड ७२ लाख पुग्ने छ ।

यसैगरी फाइनान्सले अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।

आगामी दिनमा आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिदैं ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि कम्पनीले बताएको छ ।

सोही सभाले सर्वसाधारण शेयरधनी समुहबाट प्रेम बहादुर थापा, डा दिपेन्द्र कुमार गौतम र श्री कृष्ण बहादुर गुरुङलाई आगामी चार वर्षको लागि सञ्चालक समितिमा निर्विरोध निर्वा्चित गरेको छ ।