गुजरात सरकारले सन् २०२० मा ३४ हजार जनालाई सरकारी जागिर दिने


भारतको गुजरात राज्यले सन् २०२० मा ३४ हजार नागरिकलाई सरकारी जागिर दिलाउने भएको छ । गुजरातका मुख्यमन्त्री विजय रुपणीले यसै वर्ष सरकारी निकायमा रिक्त रहेका ३४ हजारभन्दा बढी पदपुर्ति गरिने उद्घोष गरेका हुन् ।

बेरोजगारीका कारण मानसिक तनावमा रहेका गुजरातका युवा र विद्यार्थीलाई लक्षित गर्दै नयाँ वर्ष २०२० को शुभकामना सन्देशमा मुख्यमन्त्री रुपणीले यस्तो घोषणा गरेका हुन् ।

रुपणीले सरकारको घोषणामा विश्वस्त हुन आग्रह गर्दै बेरोजगारी र पारदर्शिताका सवालमा कांग्रेसको निन्दा गरे । विपक्षी पार्टीले राजनीतिक फाइदाको लागि जनतामा भ्रम पैदा गरिरहेको उनको आरोप थियो ।

“केहि युवाहरू र विद्यार्थीहरूको बीचमा राजनितिक फाइदाको लागि धेरै भ्रम पैदा भइरहेको छ । म तपाईंलाई बताउन चाहन्छु कि मेरो सरकारले युवाहरुको कडा परिश्रम व्यर्थ नहोस् भनेर रोजगारी सुनिश्चित गर्नेछ,” रुपणीले भनेका छन् ।

“गत तीन बर्षमा हामीले १ लाख १८ हजार युवाहरुलाई सरकारी रोजगारी दियौं । चालू आर्थिक वर्षमा हामी थप ३४ हजारदेखि ३५ हजार जनालाई सरकारी रोजगारी उपलब्ध गराउँछौं” रुपणीले भनेका छन् ।