नेप्से सूचक ४ प्रतिशतले बढेसँगै कारोबार रकम ४७ प्रतिशतले उचालियो

0
Shares

बैंकिङ्ग प्रणालीमा तरलताको वृद्धि र नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्षको आगमनले लगानीकर्ताको मनोबल वृद्धि हुँदा शेयर बजारका लगानीकर्ताहरुको सम्पत्ति मापक समग्र शेयर बजार पूँजीकरण करिब ६० अर्बले बढेको छ।

यस साताको आइतबार १ हजार १६६ दशमलव २० अंकमा खुलेको बजारमा कारोबार मापक नेप्से परिसूचक ४.०२ प्रतिशत अर्थात ४६.९० अंकले वृद्धि भई १ हजार २१३ दशमलव १२ बिन्दुमा बन्द भएको हो।

धितोपत्र बजारमा यस साता ४ अर्ब २२ करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ । गत साताको तुलनामा कारोबार रकम १ अर्ब ८३ करोड ३१ लाख रुपैयाँले वृद्धि भएको हो। यस साता माछापुच्छ्रे बैंक र सिभिल बैंकको संस्थापक शेयरको म्याचिङ्ग कारोबारले पनि कारोबार रकममा ७६.६३ प्रतिशतको उच्च सुधार भएको हो।

यस साता १८८ कम्पनीको १ करोड ४६ लाख ८२ हजार कित्ता शेयर ५२ हजार १६९ पटक कारोबार भएको छ। यस साता दैनिक औसत ८४ करोड ५१ लाखको शेयर कारोबार भयो।

गत साता ७१ लाख ८४ हजार कित्ता शेयर २ अर्ब ३९ करोड २२ लाख रुपैयाँ मूल्य बराबरको शेयर खरीद बिक्री भएको थियो।
नेप्से र कारोबारमा देखिएको उत्साहले लगानीकर्ताको सम्पत्ति मापक समग्र शेयर बजार पूँजीकरण ५९ अर्ब ७५ करोड ६७ लाख रुपैयाँले बढेर १५ खर्ब ४६ अर्ब ५८ करोड ५५ लाख रुपैयाँमा पुगेको छ । गत साताको बिहीबार यस्तो रकम १४ खर्ब ८६ अर्ब ८२ करोड ८८ लाख रहेको थियो।

कारोबार रकम र कित्तामा माछापुच्छ्रे बैंकको अग्रता

यस साता माछापुच्छ्रे बैंकको सबैभन्दा धेरै कारोबार भयो। सातामा बैंकको ११ लाख ९६ हजार कित्ता शेयर २६ करोड ५९ लाख रुपैयाँ बराबरमा कारोबार भएको हो।

यसैगरि एनआईसी एशिया बैंकको २५ करोड ३ लाख, सिभिल बैंकको संस्थापक शेयर २० करोड १८ लाख, शिवम् सिमेन्टस् १३ करोड ६५ लाख, ग्रामीण विकास लघुवित्त १२ करोड ७५ लाख, डिप्रोक्स लघुवित्त १२ करोड २८ लाख, प्रभु बैंक ११ करोड ७० लाख, नेपाल लाईफको ११ करोड १० लाख तथा वोमी माइक्रोफाइनान्स र एनएमबि बैंकको करिब १० करोड बराबरको शेयर खरीद बिक्री भएका छन्।

धेरै कित्ता शेयर कारोबार हुनेमा माछापुच्छ्रे बैंक ११ लाख ९६ हजार कित्ताका साथ शिर्ष स्थानमा रहँदा, एनआईसि एशिया, र प्रभु बैंकको पनि ५ लाख कित्ता शेयर खरीद बिक्री भयो। ग्रामीण विकास लघुवित्त, एनसीसी बैंक, लुम्बिनी विकास बैंक, देव विकास बैंक, कुमारी, एनएमबि र नेपाल बैंक धेरै कित्ता शेयर कारोबार हुने दश कम्पनीमा समेटिएका छन्।

यसैगरि कारोबार संख्याका आधारमा एनआईसी एशियाको धेरै वटा कारोबार भएको छ। बैंकको एक हजार ७२४ वटा संख्यामा कारोबार भएको हो। ग्रामीण विकास लघुवित्त, शिवम् सिमेन्टस्, एनएमबि बैंक, रसुवागढी हाइड्रोपावर, प्रभु बैंक, साञ्जेन जलविद्युत्त, नेपाल लाईफको एक हजार बढी संख्यामा कारोबार भएको छ। माछापुच्छ्रे बैंक र वोमी लघुवित्तको पनि करिब ९०० बढी संख्यामा कारोबार भएको छ।