‘भूकम्पपछिको पुनः निर्माण सन्तोषजनक’, समस्या समाधान गर्न कार्यकारी समितिलाई निर्देशन

0
Shares

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्ले पुनः निर्माणको काम छिटो गरी आइपरेको समस्या समाधान गर्न कार्यकारी समितिलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार बसेको परिषद्को पाँचौं बैठकले २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको संरचना पुनःनिर्माण सन्तोषजनक रुपमा भइरहेको प्रस्तावसमेत पारित गरेको छ । बैठकले पुनःनिर्माणका क्रममा प्राप्त भएका अनुभवलाई लिपीबद्ध गरी भावी पुस्ताका लागि हस्तान्तरण गर्ने सम्बन्धमा परिषद्को अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएको प्रस्ताव पनि पारित गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै उहाँले पुनःनिर्माण राम्रो गतिमा अघि बढेको र नेपालको पुनःनिर्माण तथा विपद्को क्षेत्रमा काम गरेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिले आफूसँगको भेटमा पुनःनिर्माणमा नेपालले हासिल गरेको प्रगति उल्लेखनीय र अनुकरणीय भनेको स्मरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले समस्या र जटिलतालाई समाधान गर्दै पुनःनिर्माण अघि बढेको उल्लेख गर्दै पुनःनिर्माण अझ प्रभावकारी रुपमा अघि बढाउन नीतिगत र व्यवहारिक पक्षमा सुधार गर्न सुझाव दिनुभयो । “काम गर्ने तरिकामा सुधार गर्नुस्, सामाजिक जागरण बढाउनुस्, संगठीत संस्थालाई परिचालन गर्नुस् र स्थानीय तथा प्राविधिकलाई अझ सक्रिय तुल्याउनुस्”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सांसद अग्नि सापकोटाले धरहरा उठ्दै गरेकाले थप आशा जगाएको भन्दै पुनःनिर्माणका धेरै क्षेत्रमा काम भएको बताए। उनले स्थानीय तहसँग समन्वय गरी गुनासोको सम्बोधन गर्न, सम्पदा पुनःनिर्माण, पुस्तकालय पुनःनिर्माण, विश्व विद्यालय पुनःनिर्माणमा जोड दिन सुझाव दिए।

ओदलढुंगाका सांसद यज्ञराज सुनुवारले पुनःनिर्माणका कार्य उत्साहजनक रुपमा अघि बढेको भन्दै पुनःनिर्माण प्राधिकरणलाई धन्यवाद दिए। उनले निजी आवास पुनःनिर्माणमा ओखलढुङ्गा अग्रस्थानमा रहेको उल्लेख गर्दै एकीकृत बस्ती पुनःनिर्माणमा आकर्षण बढाउन सरकारले पूर्वधार विकासमा विशेष ध्यान दिनुपर्ने बताए।

सांसद प्रेम सुवालले भक्तपुरको कला सङ्ग्रहालय नेपाली शैलीमा बनाउन सहयोग गर्न प्राधिकरणलाई आग्रह गर्दै निजी आवास पुनःनिर्माणको अनुदान र सहुलियत ऋण बढाउन आग्रह गरे।

सांसद पम्फा भुसालले पुनःनिर्माणका राम्रा कामप्रति धन्यवाद दिँदै व्यवहारिक रुपमा स्वबासी र गुठीको समस्या अझै रहेको बताए। उनले ललितपुरमा देखिएको समस्या समाधानका लागि विशेष कार्यदल बनाएर काम गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

सांसद विरोध खतिवडाले प्रबलीकरण र स्वास्थ्य संस्था पुनःनिर्माणको सङ्ख्या कम भएको भन्दै त्यसको कारण दिन आग्रह गरे। सांसद हितबहादुर तामाङले व्यवहारिक रुपमा ‘छुट्टिएका’ तर लालपूर्जा नबनेका कारण लाभग्राही हुन नसकेका भूकम्पपीडितलाई सम्बोधन गर्न सुझाव दिए। सांसद हरिराज अधिकारीले गोरखाको एउटा वस्ती जोखिममा रहेकोले त्यसको स्थानान्तरणका लागि प्राधिकरणको ध्यानाकर्षण गराएका थिए।

सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको वर्तमान अवस्था र कार्ययोजना पेश गर्दै निजी आवास पुनःनिर्माणअन्तर्गत ६२ प्रतिशत पूरा भएको, २५ प्रतिशतको पुनःनिर्माण जारी रहेको र १७ प्रतिशत पुनःनिर्माण शुरु हुन बाँकी रहेको जानकारी दिए।

उनले पुनःनिर्माणबाट सुरक्षित नेपालका लागि आधार तयार भएको, भूकम्प प्रतिरोधी प्रविधिको विकास र प्रविधि हस्तान्तरण भएको, मागमा आधारित एकीकृत बस्तीको पुनःनिर्माण र बसोबासको सुनिश्चितता भएको बताए।

बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल, परामर्श परिषद्का उपाध्यक्ष विजयकुमार गच्छदार तथा मन्त्रीहरुको उपस्थित थियो।