बैंकर्स संघको बुझाईमा ब्रोकर लाइसेन्स पाउनुपर्ने यस्ता छन् सात आधार

0
Shares

नेपाल बैंकर्स संघले बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने सात आधारहरु उल्लेख गर्दै अर्थ समितिमा पत्र बुझाएको छ । संघले अर्थ समितिले पूँजी बजार तथा मुद्रा बजार सम्बन्धि अध्ययन गर्न सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठन गरेको समितिमा पत्र पठाएको हो।

बैंकर्स संघले उप समितिलाई पठाएको पत्रमा बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने सात आधारहरु उल्लेख गरेको छ । संघका नव नियुक्त अध्यक्ष भुवन दाहालले हस्ताक्षर गरेको उक्त पत्रमा बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्नका कारणहरु उल्लेख गरिएका छन् ।

वित्तीय पँहुच

संघले नेपाल राष्ट्र बैंकले लिएको नीति बमोजिम सबै स्थानीय तहमा बैंकका शाखा पुर्याउने क्रममा ७४३ स्थानीय तहमा शाखा पुगिसकेको उल्लेख गरेको छ । वाािणज्य बैंकहरुका देशभर ४ हजार शाखा खुलिसकेको अवस्थामा बैंकहरुलाई ब्रोकर लाईसेन्स प्राप्त भएमा दुर दराजमा रहेका प्रत्येक नागरिकले सहज रुपमा सुलभ रुपमा धितोपत्रको कारोबार गर्न सकिने संघको दाबी छ ।

संस्थागत सुशासन

बैंकिङ क्षेत्र पारदर्शी हुनाका साथै नियामक निकायले संस्थाक सुशासनका लागि छुट्टै निर्देशिका लागू गरेकाले बैंकिङ क्षेत्र नेपालको सबै भन्दा संस्थागत सुशासन कायम भएको क्षेत्र रहेको संघको दाबी छ । यस्तो अवस्थामा धितोपत्र कारोबार सम्बन्धि सम्पूर्ण सूचना तथा बिवरणहरु गोप्य रहने र इन्साइडर ट्रेडिङ मा समेत कमी आउने संघको दाबी छ ।

सहि सूचना र मार्गदर्शन

बैंकमा रहेका दक्ष कर्मचारीहरुले कुनै पनि ग्राहकलाई धितोपत्र बजार सम्बन्धी सत्य, तथ्य सूचना र जोखिमबारे यथेष्ठ जानकारी दिन सक्ने बैंकको भनाई छ । जसले गर्दा शेयर बजारका लगानीकर्ताहरुले लगानी सुरक्षाका लागि आवश्यक रणनीति अपनाउने सुबिधा पाउने तथा कर्मचारीले समेत निष्पक्ष रुपमा काम गर्ने संघको भनाई छ ।

अन्तराष्ट्रिय अभ्यास

संघले चौथो आधारका रुपमा अन्तराष्ट्रिय रुपमा पनि बैंकका सहायक कम्पनीहरुले ब्रोकरको लाइसेन्स लिएर सेवा प्रवाह गरिरहेकाले नेपालमा पनि बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन उचित हुने बताएको छ ।

बैंकको क्षमता

बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने भनि लिइएको नीति अनुरुप कतिपय बाणिज्य बैंकहरुले सहायक कम्पनी खोलि सेवा दिन तयारी अवस्थामा रहेको संघको भनाई छ । बाणिज्य बैंकहरुका कार्यरत ४० हजार कर्मचारीहरुले आफ्नो शिपको उपयोग गरेर धितोपत्र सम्बन्धी कारोबारमा पनि दक्षता प्रर्दशन गर्न सक्ने र त्यही जनशत्ती व्यवस्थापनबाट प्रत्येक स्थानीय तहबाट सेवा दिन सक्ने संघको दाबी छ ।

अर्थतन्त्रमा योगदान

त्यस्तै मुलुकको अर्थतन्त्रमा वित्तिय क्षेत्रको ठूलो योगदान रहेको उल्लेख गर्दे क्यामेल्स रेटिङमा पनि नेपालका बैंकहरु अब्बल देखिएको दावी संघले गरेको छ । दक्षिण एसियामै क्यामेल्स रेटिङमा नेपालका बैंकहर उत्कृष्ठ देखिएको संघले जनाएको छ । साथै संघले बैंकलाई ब्रोकर लाइसेन्स दिए पश्चात हालका ब्रोकर कम्पनीले प्रदान गर्ने सेवा सुविधामा समेत सुधार आउने संघको दाबी छ ।