यूक्रेनी विमान दुर्घटनाको पूर्ण जिम्मेवारी लिन्छु: इरानी सैनिक कमाण्डर

0
Shares

इरानको सेनाले केही दिन अगाडी इराकमा युक्रेनी विमान खसालिएको बारेमा भुलवश खसालिएको स्वीकार गर्दै कमजोरी भएको स्वीकार गरेको छ। सरकारी पक्षले शनिवार प्रकाशित गरेको विज्ञप्तिमा इरानको सेनाले मानवीय गल्ती कारण विमान खसालेको उल्लेख गरिएको छ । घटनामा दोषी देखिएकालाई कारबाही गरिने पनि विज्ञप्तिमा जनाइएको छ । 

इरानको विशेष सुरक्षा बल ‘स्लामिक रिभोलुसनरी गार्ड कप्रस (आइआरजीसी)’ का एक उच्च कमाण्डरले तेहरान नजिकै गत बुधबार यूक्रेनी विमानमा ‘भूलबस’ छोटो दुरीको हतियार प्रयोग गरी खसालेको स्वीकारेका छन्। ती उच्च कमाण्डरले दुर्घटनाको जिम्मेवारी लिन आफू तयार रहेको शनिबार बताएका हुन्। 

उक्त विमान दुर्घटनामा चालक दलका ९ सदस्यसहित १७६ जना यात्रुको निधन भएको थियो । उक्त विमानमा ८२ इरानी, ६३ क्यानेडाली, ११ यूक्रेनी, १० स्वीडेनी, चार अफगानी र तीन तीन जना जर्मन तथा बेलायती रहेका थिए ।

आइआरजीसीका ब्रिगेडियर जनरल अमिर अलि हाजिजादेहलाई उद्धृत गर्दै अरबी समाचार संस्था अलजजीराले लेखेको छ, “मैले दुर्घटनाको पूर्ण जिम्मेवारी लिन्छु र जुन निर्णय लिइन्छ त्यसको पालना गर्नेछु । मैले त्यस प्रकारको घटना देख्नुभन्दा मर्नु वेस लाग्यो ।”

सुरूमा विमान दुर्घटना इरानले हानेको क्षेप्यास्त्रका कारण भएको भन्ने पश्चिमी मुलुकहरू संयुक्त राज्य अमेरिका, क्यानाडा र बेलायतको दावीलाई अस्वीकार गरेपनि शनिबार विमानलाई ‘नचाहँदा नचाहँदै’ लागेको र दुर्घटनाग्रस्त भएको इरानले स्वीकार गरेको छ।

आकाशमा रहेको विमान ‘क्रुज मिसाइल’ जस्तो लागेपछि ‘गल्तिबस’ छोटो दुरीको (जमिनबाट आकाशमा हान्ने) मिसाइलले त्यसलाई खसालेको हाजिजादेहले बताए ।

 

विमान दुर्घटनाको समयलाई हेर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गरिरहेका बेला उक्त विमानलाई अमेरिकी लडाकू विमान भनेर झुक्किएर खसालेको हुनसक्ने विश्लेषण पनि गरिएको छ।

उता उक्त घटनालाई ठूलो विपत्ति र अक्षम्य गल्ती भएको पनि इरानका राष्ट्रपति हसन रुहानीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बताएका छन्।

तेहरानबाट क्रिभ हुँदै टोरन्टोका लागि उडेको विमानमा अधिकांश यात्रु इरान र क्यानडाका थिए। मृतक १७६ मध्ये १५ जना बालबालिका थिए ।
दुर्घटनापछि तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इन्जिनमा समस्या देखिएको बताएको थियो । तर छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाको कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै आफैले त्यो भनाइ फिर्ता लिएको थियो ।

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो ।